Comments Add Comment

राजेन्द्र क्षेत्रीले गरे सेनाको दोहन !

३१ भदौ, काठमाडौं । आजका पत्रिकाहरुमा निर्मलालाई न्याय दिन माग गर्दै देशभर भएको प्रदर्शन र निर्मला हत्या अनुसन्धानको क्रममा पाँच प्रहरी निलम्बित भएको समाचार पहिलो प्राथमिकताका साथ छापिएका छन् ।

कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मलाको साउन १० गते हत्या भए पनि अझैसम्म वास्तविक दोषीलाई पक्रन असफल भएको भन्दै सरकारविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको बेला कञ्चनपुरमै फेरि दुई बालिका बलात्कृत भएको समाचार पनि सार्वजनिक भएको छ ।

बेल्डाँडी गाउँपालिकाको यो समाचारलाई अन्नपूर्ण पोष्टले पहिलो बनाएर छापेको छ । बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी २ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

८० न्यायाधीश नियुक्तिको लफडा

नेपाल साप्ताहिकले उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिको क्रममा २०७३ सालमा भएको लफडालाई समेटेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पुस्तक ‘न्याय’को अंशलाई नेपाल साप्ताहिकले स्थान दिएको हो । कार्कीले लेखेअनुसार राजनीतिक दलका नेताहरु आफू निकटका व्यक्तिलाई न्यायाधीश नियुक्ति गरिदिनुपर्‍यो भन्दै सूची बोकेर भेट्न आउँथे । तर उनले भनेकी छन्, हरेक पटक नेताहरुले मलाई सूची बुझाउनुहुन्थ्यो । तर, मैले कसैको सूची बोक्ने काम गरिनँ ।’

नियुक्तको क्रममा न्यायपरिषद सदस्यबीच नै विवाद भएको खुलासा पनि उनले गरेकी छन् । पुस्तक अंशमा लेखिएअनुसार रामप्रसाद सिटौलाले असहयोग मात्रै गरेनन् बोल्नै नहुने बचन पनि लगाए ।  सिटौलासँग न्यायाधीश नियुक्तिको चार प्रकारका सूची थिए । उनीसँग बारका अध्यक्ष शेरबहादुर केसीको, कोइराला कांग्रेसको, शेरबहादुर देउवाको र व्यक्तिगत सूची थियो । त्यसैले उनले आफूलाई २० जना कोटा दिनुपर्ने भन्दथे । उनी भन्थे, यति गरिनँ भने त बारका साथीहरुले मेरो पद नै खोस्छन् । त्यसैले सुशीला कार्कीले पुस्तक अंशमा लेखेकी छन्, ‘त्यो कुरा सुन्दा मलाई उहाँ क्रयविक्रयमा परेको महसुसस भयो ।’

पहिलो महिला प्रधानन्यायाधीश कार्कीका अनुसार २०४७ देखि नै न्यायाधीश नियुक्तिमा सत्तासीन दलको हालीमुहाली रहने गरेको देखिन्छ । न्याय परिषदको बनोट पनि त्यस्तै छ । त्यहाँ सरकारका मन्त्री सदस्य छन्, प्रधानमन्त्रीले रोजेका कानुन व्यवसायी छन्, बारका प्रतिनिधि छन् । र, त्यहाँ न्यायपालिकाभन्दा बाहिरकाको बाहुल्य छ । त्यसैले कार्की भन्छिन्, ‘न्यायाधीशबाहेकका तीन जना संयोगले एकै दलका परेमा एकै दलका न्यायाधीश नियुक्त नहोलान् भन्न सकिन्न ।’

राजेन्द्र क्षेत्रीले गरे सेनाको दोहन

नेपाल साप्ताहिकले पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले अकुत आर्जन गरेको समाचारलाई कभर स्टोरी बनाएको छ । समाचारमा लेखिएअनुसार क्षेत्रीले आफ्नो कार्यकालमा नेपाली सेनाको दोहन गरेका छन् ।

उनले अथाह आर्जन गरेको भन्दै समाचारमा लेखिएको छ, ‘क्षेत्रीको सम्पत्ति जोड्ने सिलसिला उपत्यकामात्रै खुम्चिएको छैन, मकवानपुर, चितवनसम्म फैलिएको छ ।’

पत्रिकामा लेखिएअनुसार चितवनको जगतपुरमा ३८ करोड मूल्यको ३ बिघा जग्गा छ । हेटौंडा उपमहानगरपालिका वडानम्बर ४ र ११ मा घरसहित २५ करोडको जग्गा छ । काठमाडौंको सामखुसीमा २० करोडको, विशालनगरमा १८ करोडको, हात्तिसारमा १३ करोडको, ललितपुरको धोबिघाटमा २० करोडको र ललितपुरकै तिखिदेवलमा ५ करोडको घरसहितको जग्गा पनि छ ।

बामदेवले ताके बाँके ३

यस्तै नेकपाका नेता बामदेव गौतमलाई डोल्पाबाट उपनिर्वाचनमा जिताएर सांसद बनाउने कसरत जारी रहेको समाचार पनि पनि आजका दैनिक पत्रिकामा छन् । डोल्पाका धनबहादुर बुढाले बामदेवका लागि राजीनामा दिन नमानेपछि अब बाँके क्षेत्र नम्बर ३ लाई टार्गेट गरिएको समाचार पत्रिकामा छ । नयाँ पत्रिका अन्नपूर्ण पोष्ट दैनिकले बामदेव अब बाँके ३ बाट उपनिर्वाचन लड्ने योजनामा रहेको र त्यसका लागि नेकपाका महासचिव विष्णु पौडेलले प्रयास जारी राखेको समाचार छापेका छन् ।

बाँके ३ बाट प्रतिनिधिसभा निर्वाचनमा नन्दलाल रोकाया सांसद छन् । बामदेव प्रतिनिधिसभा निर्वाचनमा गृहजिल्ला बर्दियाबाट पराजित भएका थिए ।

व्यक्तिको विवरण गोप्य नरहने

यसैगरी सार्वजनिक पदमा रहेका व्यक्तिको मात्र नभई समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्न लागेको समाचारलाई कान्तिपुर दैनिकले प्राथमिकताका साथ छापेको छ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्ने प्रावधानसहित ल्याएको विधेयकलाई संसदको राज्य व्यवस्था समितिले परिमार्जन गरी सार्वजनिक पदमा रहेका, सार्वजनिक रुपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिहरुको विवरणसमेत गोप्य नहुने व्यवस्था राखेको समाचारमा उल्लेख छ ।

कान्तिपुरमा धनकुटाको महालक्ष्मी नगरपालिका ७ मारेक टोलका १०२ वर्षका ओमनारायण श्रेष्ठको कथा छ । ‘सय नाघेका तन्नेरी !’ शीर्षकको समाचारमा लेखिएअनुसार उनी सीपमुलक काम गरेर उनी आफै कमाउँछन्, गाउँबस्ती र बजार आसपास फालिएका प्लास्टिकका सामग्री जुटाएर दाम्लो लगायतका सामान बनाएर बेचेर कमाउँछन्, १० मिनेटभन्दा बढी समय लगातार मुरली बजाउन सक्छन् ।

नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक

यसैगरी गोरखापत्र दैनिकले मौलिक हक कार्यान्वयनससँग सम्बन्धित विधेयकहरु धमाधम पारित भइरहेको समाचारलाई प्राथमिकता दिएर छापेको छ । समाचारमा लेखिएअनुसार संसदमा विचाराधीन १५ मध्ये १३ विधेयक पारित भइसकेका छन् ।

नेपाल समाचारपत्रमा नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक रहेको समाचार छ । ३५ मध्ये २० वटा कम्पनी त चिनियाँ मात्रै छन् ।

राजधानी दैनिकमा नेकपाका जनवर्गीय संगठनको एकता टुंगो नलागेपछि पार्टी गतिविधि तीन महिनायता ठप्प रहेको तर नेताहरु भने विदेश भ्रमणमा सक्रिय रहेको समाचार छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment