Comments Add Comment

सरकारलाई प्रदीप गिरीको प्रश्न : तन्त्र बदल्ने इच्छाशक्ति छ ?

हामी वडो उत्साहपूवर्क कार्ल माक्र्सको दुई सयौं वर्षगाँठ मनाइरहेका छौं । ठाउँ-ठाउँमा मार्क्सवादी, वामपन्थी साथीहरुले आयोजना गरेको सभामा म पनि जाने गरेको छु । मलाई सांसदको फोरममा अलिकति गान्धीबारे बोल्न दिनुस् भनेको थिएँ ।

किन ? गान्धीप्रति कुनै विशेष प्रेम भएर होइन । मेरो स्पष्ट मान्यता छ, प्रेम र आदार आफ्नो ठाउँमा छ । तर, २० औं शताव्दी यदि माक्र्सले गर्दा उद्वेलित भयो भने २१ औं शताब्दीको सबै समस्याको समाधान गान्धीको चिन्तनमा थियो । माक्र्सलाई आत्मसात गरेर हामीले क्रान्ति गर्‍यौंं भने गान्धीले जुन-जुन प्रश्नमा माक्र्ससँग मतभेद राख्नुहुन्छ, त्यसलाई हामीले बुझ्नुपर्छ ।

माक्र्सवादी दर्शनलाई संक्षेपमा द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । गान्धीसँग पनि दर्शन थियो । त्यस दर्शनको नाम थियो अनेकान्तवाद । यो उनले जैन दर्शनबाट पैंचो लिएका थिए । त्यस दर्शनको मुख्य आधार के हो भने तपाई सत्य हुन् सक्नुहुन्छ, तर अर्काे पनि सत्य हुनसक्छ । म मात्रै सत्य छु भन्ने दावी गर्नु हुँदैन ।

म आफ्नो ठाउँमा सत्य छु भने माननीयज्यू पनि आफ्नो ठाउँमा सत्य हुन सक्नुहुन्छ । यो उहाँको चिन्तन हो । सर्वप्रथम हामीले हाम्रो विरोधी पनि, हाम्रो उग्र बिरोधी पनि कदाचित्, कतिपय कुरामा ठीक छ कि भन्ने सोच्नुपर्छ । सत्यको एउटै अनुहार हुँदैन, धेरै अनुहार हुन्छन् भन्ने गान्धीको विचार एवं विश्वास थियो । त्यो उनले जैन दर्शनबाट लिएका थिए । त्यो हो अनेकान्तवाद ।

पूर्ववक्ता माननीयले २०१७ सालअघि तत्कालीन नेता कमरेड पुष्पलालले कांग्रेसको सरकारप्रति सद्भावना देखाउनुभएको उल्लेख गर्नुभयो । कमरेड पुष्पलालसँग मेरो बनारसमा संगत थियो । साँच्चै नै उहाँले सधै नै कांग्रेससँग मिलेर, सँगै बसेर जाने भावना व्यक्त गर्नुहुन्थ्यो । त्यसमा कुनै शंका छैन । हामी सबै युवाप्रति, कांग्रेस युवाप्रति उहाँको सुदासयता थियो ।

यसै मञ्चबाट म उहाँलाई सभामुखको माध्यमबाट सरकारलाई बताउन चाहन्छु । केही तलमाथि भएर यस संविधानलाई रक्षा गर्नु परेको खण्डमा, सरकारका विरुद्धमा कुनै षडयन्त्र भएको खण्डमा सिङगो नेपाली कांग्रेस सरकारलाई सही कुरामा साथ दिनेछ । कांग्रेस पार्टीभित्र यस्ता मानिस छन्, जो नेतासँग राय बझाएर पनि सही कुरालाई सही भन्दै आएका छन् । त्यसैले यसका बारेमा पूर्ववक्ता माननीय र सिंगो सरकार ढुक्क भए हुन्छ । नेपाली कांग्रेसले कुनै पनि प्रतिक्रियावादी र षडयन्त्रकारी कदमलाई साथ दिँदैन ।

तर, षडयन्त्रकारी भन्नुभन्दा पहिले हामीले केही सोच्नु परेको छ । संविधानका बारेमा अहिले चर्चा व्यापक चलेको छ । किन मधेसवादी दलहरुले साँझको चियापान बहिस्कार गर्दैछन् ? अथवा किन उनीहरु कालो दिवस मनाउँदैछन् ? कांग्रेस र अन्य पार्टीभित्र पनि त्यतिवेला के-कति असन्तुष्टि थियो । निर्मला पन्तको प्रकरणको वास्तविकता के हो ? मैले गान्धीको गुणगान गर्दा, जन्मदिन सम्झिँदा यी दुईवटा कुरामा मैले गान्धीवादी दृष्ट्रिकोणले प्रकाश पारिन भने गान्धीप्रति अन्याय हुन्छ ।

गान्धी कुनै कितावी मान्छे थिएनन् । उनीसँग कुनै डिग्री पनि थिएन । उनले जे सिकेका थिए, जीवनबाट सिकेका थिए । त्यस दृष्टिले उनले पढ्न जरुरी थिएन । माओत्सेतुङ धेरै कान्छा थिए । तर, माओले ‘सिक, सिकेर नथाक, जनताबाट सिक, जनतालाई सिकाऊ’ भनेको कुरो गान्धीको जीवनमा चरितार्थ हुन्थ्यो । गान्धीले एउटा कुरा भन्थे । विरोधका लागि विरोध गर्दै जाँदा सानो उदाहरण दिन्थे ।

यो उनले बैद्धिक परम्पराबाट लिएको उखान थियो । कसैले तपाईको एउटा आँखा फोड्दा त्यसको प्रतिकारमा उसको पनि आँखा फोड्नुभयो भने सिंगो संसार नै अन्धो हुनेछ । त्यसैले विरोधीप्रति पनि समझदारी र सहानुभूति राख्नुपर्छ । तर, यस कथनले निर्मला पन्तका विलाप गरिरहेका आमाबुबालाई चित्त बुझाउन सक्छ ? त्यसैले कानुन, इन्साफका बारेमा गान्धीले भन्न खोजेको कुराका आधारमा अहिले हाम्रा सामू रहेको संविधानमा केही कुरा भन्न चाहन्छु ।

गान्धीका धेरै कमिकमजोरी थिए तर त्यसमा कतिपय उज्याला पनि छन् । सबैभन्दा उज्यालो पक्ष भनेको कानुनी शासन र व्यक्तिगत सर्वोच्चतालाई सर्वोपरी मान्नुहुन्थ्यो । गान्धीले कांग्रेस पार्टीका सबैभन्दा आलोचक, गान्धीका व्यक्तिगत विरोधी डा. अम्बडेकरलाई भिटो लगाएर संविधान मस्यौदा समितिको अध्यक्ष बन्न लगाए । पछि के भयो ? धेरै प्रान्त, खासगरी तमिलनाडू र तत्कालीन नेता अन्ना दुराईले त्यस संविधानको सपथ ग्रहण पनि गरेनन् । चुनाव लडे तर संविधान बहिस्कार गरे । मुस्किलले १० वर्षको अन्तरालमा उनले दुराईले संसदमा प्रस्ताव राखेर संविधानको समर्थन गर्दै हामी बदलियौं, यो संविधानबाट बाहिर जाने हाम्रो विचार छैन भने । कृपया त्यो इतिहास हेर्नुहोला ।

तीन वर्ष भयो नेपालमा संविधान ल्याएको । मधेसले खोजेका हक-अधिकारबारे विभिन्न प्रकारका कुरा गरिँदैछ । मधेस समर्थकहरुले उत्ताउलो कुरा गरिराखेका छन् भन्ने कसैलाई अनुभूति छ भने उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेको छ ? जिम्मेवारी सबैको छ ।

प्रतिपक्षको छ, प्रत्येक सांसदको छ, पत्रकारको पनि छ । तर, संविधानलाई सर्वस्वीकार्य बनाउने मुख्य जिम्मेवारी सरकारसँग छ । यस विषयमा यहाँभन्दा बढ्ता केही भन्न चाहन्नँ । आज तीन वर्षपछि पनि संविधानको आलोचना ठीक ठाउँ र वेठीक ठाउँबाट ठीक तरिका र बेठीक तरिकाबाट भइरहनु अपसोचको कुरा हो ।

भनिन्छ, लेनिन पनि आफ्नो आखिरी दिनमा बढो विह्वल थिए । सत्य पनि हो । लेनिनका आखिरी दिनमा स्टालिनसँगको मतभेदबारे थुप्रै किताव लेखिएका छन् । गान्धी पनि नेहरु र पटेलको गतिविधिसँग बिल्कुल असन्तुष्ट थिए । १५ अगष्ट, १९४७ मा दिल्लीमा दिपावली मनाइँदै थियो, जतिबेला उनी बंगलादेशमा पर्ने नुवाखली भन्ने ठाउँमा एक्लै, विल्कुल एक्लै घुम्दै थिए । त्यसबेला उनले लेखेको एउटा कागज भेटिन्छ ।

गान्धीले आफ्नो डायरीमा लेखेका रहेछन्- जुन उनी मरेपछि थाहा भयो- कुनै पनि निर्णय गर्दा त्यसले समाजको सर्वाधिक उत्पीडित व्यक्तिका उपर के असर पर्छ हेर्नु । निर्मला महिला, त्यसमाथि बलात्कृत । तीनको पीडाप्रति समवेदना राखेर प्रतिपक्षले बोल्नु आलोचना होइन, विरोध होइन । यो प्रतिपक्षको कर्तव्य हो ।

एउटा कुरा भन्न चाहन्छु म । यो समस्या एक दिनको होइन । नेपाल कम्युनिष्ट पार्टी एकीकृतले खडा गरेको समस्या होइन । न त प्रधानमन्त्रीले खडा गरेको समस्या हो । त्यो संयन्त्र कस्तो छ, जसले बारम्बार बलात्कार गराउँछ, हत्या गराउँछ, अगाडि कुरा बढ्दैन । हाम्रा पार्टीमा पनि बढेन होला ।

यहाँ पनि गान्धी भन्छन्, ‘समस्यालाई तत्काल बल वा हिंसाका माध्यमबाट जालझेल गरेर समाधान गर्ने होइन । सबै सरोकार भएका पक्ष, प्रतिपक्ष मात्र होइन, नागरिक समाज, पीडित समाज, शंकाको घेरामा परेको समाज मिलेर यस्तो बैकल्पिक संयन्त्र बनाउनुपर्छ ताकि यस राज्यभन्दा पृथक होस् ।’

सत्ताको हस्तान्तरण त भयो तर, सत्ताको रुपान्तरण भएको छैन । नेपाली कांग्रेसको सरकारका पालामा, मेरा पार्टीका प्रधानमन्त्री भएको बेलामा माओवादीका नाममा अगाडि बढिरहेका विद्यार्थी र युवकलाई जसरी बर्बर ढंगले अत्याचार गरियो, त्यो नगरिएको भए शायद देश यत्रो रक्तपात हुने थिएन । के त्यो तन्त्र हामीले बदल्न सकेका छौं ? त्यो तन्त्रलाई बदल्ने इच्छाशक्ति सरकारको छ भने प्रतिपक्षका मानिससँग सार्थक सम्वाद गरेर, नागरिक समाजसँग सार्थक सम्वाद गरेर यो सड्दै गरेको तन्त्रको ठाउँमा साच्चै नै बलात्कृतलाई न्याय दिनसक्ने, सुरक्षा दिन सक्ने निकाय बनाउन जाऊँ ।

क्रान्तिको इतिहास सबैले पढेका छन्, म भन्दा बढी विद्धान माक्र्सवादी साथीहरुले पढ्नु भएको छ । मैले गान्धीको उल्लेख गरेँ । गान्धीले विकासको यो मोडललाई पनि शंका गरेका छन् । विकासको यो ‘मै खाउँ, मै लाउँ’ भन्ने मोडलले समाजवादको कुरा छोड्नुस्, कल्याणकारी राज्य पनि बन्न सक्दैन ।

(कांग्रेस नेता गिरीले मंगलबार संसदमा दिएको मन्तव्यको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment