Comments Add Comment

दशैंमा सुपथ पसल खोल्न चाहने विक्रेतालाई सहुलियत र कमिसन !

७ असोज, काठमाडौं । सरकारले आउँदै गरेको दशैं, तिहार छठ पर्वमा उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन नीजि उद्योगी, व्यवसायीसँग पनि छलफल गरेको छ ।

आउँदै गरेको मुख्य चाडलाई लक्षित गर्दै सुपथ मूल्यको पसल चलाउने निर्णय गरेको सरकारले नीजि क्षेत्रलाई पनि त्यसमा सहभागी गराउँदै उपभोक्तालाई राहत दिन आग्रह गरेको हो ।

सरकारले चाडबाडलाई लक्षित गर्दै असोज १२ गतेदेखि  कार्तिक २७ गतेसम्म सुपथ पसल सञ्चालन गर्दैछ । यही दौरान थोक तथा खुद्रा विक्रेतालाई पनि सुपथ पसल चलाउन आग्रह गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरोकारवाला सरकारी निकाय, सहकारी र नीजि उद्योगी व्यवसायीलाई संयुक्त छलफलका लागि बोलाएको थियो ।

जसमा नीजि उद्योगी, व्यवसायीले पनि चाडबाडका बेला विभिन्न उपभोग्य वस्तुमा छुट दिन सहमति जनाएका विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

देशका सबै क्षेत्रमा सरकारले सुपथ पसल सञ्चालन गर्न नसक्ने भएकाले नीजि क्षेत्र, थोक तथा खुद्रा विक्रेतालाई पनि सुपथ पसल चलाउन आहृवान गर्न लागिएको उनले बताए ।

यसका लागि नीजि उद्योगहरुले आफ्ना उत्पादित वा पैठारीकर्ताले पैठारी गरिएका विभिन्न उपभोग्य वस्तुहरु चाडबाडका अवसरमा प्रचलित बजार मूल्यमा केही छुट दिएर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

खुद्रा विक्रेताले पनि सुपथ पसल चलाउन सक्ने

सुचिकरण भइ सुपथ पसल चलाउन चाहनेलाई नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले पनि सहुलियत र कमिसन दिने महानिर्देशक गौचनले बताए ।

त्यस्ता विक्रेतालाई सहुलियतमा वस्तु उपलब्ध गराउन साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, डिडिसीलाई सरकारले सघाउने तयारी रहेको उनले बताए । यसका लागि बोर्ड बसेर निर्णय गरिने उनको भनाइ छ ।

गौचनका अनुसार सुचिकरणका लागि भोलि सोमबार सूचना जारी गर्ने तयारी छ ।

सुचिकरण भएपछि सहकारी पसलहरु, डिलर तथा खुद्रा पसलहरुले सुपथको ब्यानर राखेर सहलियत मूल्यको पसल सञ्चालन गर्न सक्ने उनले बताए ।

बैठकमा नीजि उद्योग आपूर्तिकर्ता र सहकारी उद्योगले विभिन्न उपभोग्य वस्तुमा छुट दिन सहमति जनाएका छन् ।

दाल चामल उद्योग र थोक विक्रेताले दाल, चामलमा ३ प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै तेल, घ्यु उद्योग आफ्ना उत्पादनमा प्रतिलिटर ३ रुपैयाँ छुट दिने, पैठारीकर्ताले आयातित तेलमा प्रति ५ लिटरमा १५० रुपैयँासम्म छुट दिने, चिनी उद्योगले मूल्य अभिवृद्धि कर बाहेक प्रतिकिलो ५७ रुपैयाँमा उपलब्ध गराउने र सहकारी उद्योगलले उत्पादन गरेका मसलामा १० रुपैयाँ छुट सहमति जनाएका विभागका महानिर्देशक गौचनले जानकारी दिए ।

सरकारी निकायका ४७ वटा पसल
नेपाल खाद्य संस्थान तथा नेशनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशन र दुग्ध विकास संस्थानले यसअघि नै विभिन्न वस्तुमा छुट दिने बताइसकेका छन् ।

यी निकायले चाडबाड लक्षित सुपथ मूल्यका पसल देशभर ४७ वटा खोल्नेछन् ।

यी पसलमा सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँ, जिरा मसिनोमा प्रतिकिलो ५, गोरखनाथ, बास्मती चामलमा प्रतिकिलो १०, जापानीज चामलमा प्रतिकिलो ५, जुम्ली सिमीमा १०, जुम्ली तिते फापरमा १०, नुनमा २, डिडिसी घ्युमा ५०, पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ ।

तर खसी बोकामा कति छुट दिने भन्ने खुलाइएको छैन । चिनीमा ५ रुपैयाँ छुट दिने उल्लेख रहेपनि खुद्रा विक्रि मूल्य तोकिएको छैन ।

यी चार निकायले आफूले उत्पादन गरेका वस्तुहरु संयुक्त रुपमा काठमाडौंको रामशाहपथमा सुपथ मूल्यको पसल चलाउने निर्णय भएको छ ।

साल्ट ट्रेडिङले काठमाडौंका ९ वटा स्टल, ३ वटा घुम्ती पसल र काठमाडौं बाहिर आफ्नौ डिपो, कार्यालयहरु २४ स्थान तथा उपत्यकाभित्र र बाहिर गरी ३६ स्थानबाट विक्रि गर्नेछ ।

यस्तै दुग्ध विकास संस्थान डिडिसीले एकिृकत पसल बाहेक आफ्ना उत्पादन घ्यु, पनिर लगायतका विभिन्न दुग्धजन्य वस्तु काठमाडौंको लैनचोर, न्युरोड बसन्तपुर, खुमलटार गरी तीनस्थानबाट विक्रि वितरण गर्ने जनाएको छ ।

यसबाहेक डिडिसीले काठमाडौं बाहिर हेटौंडामा औद्योगिक क्षेत्र, सालिक चोक, बिराटनगरमा कंचनबारी र महेन्द्रचोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवल, नेपालगन्जको कोहलपुर, धनगढीको अत्तरिया गरी देशभर कुल १२ स्थानमा सुपथ पसल चलाउनेछ ।

उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्ऽनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालन आउने छन् ।

खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ ।

उपत्यकामा ३ वटा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment