Comments Add Comment

अगरबत्तीको बट्टामा लागूऔषध !

९ असोज, काठमाडौं । पछिल्लो समय लागूऔषध कारोबारमा संलग्नहरुले तस्करीका लागि विभिन्न शैली अपनाउने गरेका छन् । प्रहरीको सक्रियतासँगै उनीहरुले तस्करीका लागि नयाँ नयाँ शैली प्रयोग गर्न थालेका हुन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरले नयाँ शैलीबाट लागूऔषध कारोबार गर्दागर्दै मंगलबार ४ जनालाई पक्राउ गरेको छ । अगरबत्तीको बट्टाभित्र शिलबन्दी गरेर ल्याइएको लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेका अनुसार पक्राउ पर्नेमा बुटवल घर भइ काँडाघारी बस्दै आएका २३ वर्षीय साजन खरेल, काभ्रे घर भइ कोठ्ठाटार बस्दै आएका ३३ वर्षीय सुनिल शिवभक्ति, संखुवासभा घर भइ काँडाघारी बस्दै आएका २१ वर्षीय विजय राई र रामेछाप घर भइ काँडाघारी बस्दै आएका १९ वर्षीय धिरज राई छन् ।

उनीहरुको साथबाट अगरबत्तीको प्याकेटमा शिलबन्दी गरिएको अवस्थामा ४८० पिस नाइट्राभेट बरामद भएको काफ्लेले बताए । उनका अनुसार खरेलले बुटबलबाट त्यो लागूऔषध ल्याएका थिए ।

अन्य ३ जना भने स्थानीय विक्रेता एवं प्रयोगकर्ता भएको प्रहरीको भनाइ छ ।

‘उनीहरुले १ सय ६० रुपैयाँमा किनेर ल्याएर २ सयदेखि ३ सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको खुलेको छ’, काफ्लेले अनलाइनखबरसँग भने, ‘उनीहरुमाथि अनुसन्धानका लागि बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु हुनेछ ।’

यसैबीच, बानेश्वर प्रहरीले दुई पत्ता नाइट्राभेटसहित २० वर्षीय शंकर रोक्कालाई पनि पक्राउ गरेको छ । काँडाघारीबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

१८ जुवाडे नियन्त्रणमा

प्रहरीले काटेश्वरको महादेवस्थान र तीनकुनेबाट १८ जना जुवाडेलाई पनि पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरले महादेवस्थानबाट १३ जना र तीनकुनेबाट ५ जनालाई जुवाडेलाई पक्राउ गरेको हो ।

महादेवस्थानमा आफ्नै घरमा जुवा खेलाएको आरोपमा राजु खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख २७ हजार १ सय ५० रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।

तीकुनेमा भने केशर कोइरालाको घरमा जुवाको अखडा भेटिएको प्रहरीले जनाएको छ । त्यहाँ छापा मारेर प्रहरीले ७६ हजार ६५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरिएको थियो ।

उनीहरुमाथि जुवा ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment