Comments Add Comment

स्टार खेलाडीहरुले भरिएको थ्रीस्टारको उपाधिमै आँखा

९ असोज, काठमाडौं । जम्मा १४ फुटबल क्लब सहभागी हुने ‘ए’ डिभिजन लिगमा उपाधिका दावेदार टिमहरु ३-४ वटा छन् । जसमध्ये एक हो थ्रीस्टार ।

लिगको संघारमा मनाङका कप्तान अनिल गुरुङलाई भित्र्याएर थ्रीस्टारले अरु टिमलाई गतिलो सन्देश दिइसकेको छ । २४ घरेलु र ३ अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको ललितपुरे क्लबले १३ गतेदेखि सुरु हुने लिगमा कस्तो प्रदर्शन गर्ला त ?

मुख्य प्रशिक्षक मेघराज केसीले भन्छन्, ‘लिगको उपाधि १४ वटा टिममध्ये एउटाले जित्ने हो । सबै टिमलाई जित्ने आशा त हुन्छ नै । त्यो हामीमा पनि छ ।’

क्लबले करिब ४ सातादेखि सातदोबाटोस्थित चर्च मैदानमा दैनिक अभ्यास गरिरहेको छ ।उपाधि जित्ने लक्ष्यका साथ आफूहरु मैदानमा उत्रिने भन्दै उनले भने, ‘लिगका लागि पर्याप्त अभ्यास त गर्न पाएको छैन, तैपनि खेलाडीहरुले मिहिनेत गरिरहेका छन् ।’

पछिल्लो समयमा थ्रीस्टारले युवा खेलाडी भित्र्याएको छ । ‘थ्रीस्टारले हरेक पटक लिगको उपाधिकै लागि खेल्छ । त्यहीअनुसार टिम बनेको छ’ कप्तान विक्रम लामा भन्छन्, ‘विगत १० महिनादेखि गरेको प्रदर्शनले पनि राम्रो गर्न सक्ने आत्मविश्वास छ ।’

स्टार खेलाडीको बाहुल्य

२०७० सालदेखि ए डिभिजन लिग नहुँदा फुटबल खेलाडीहरु मारमा परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रास रुटका कार्यक्रम तथा प्रतियोगिता गर्न सकेको छैन । यसले गर्दा खेलाडी विदेश पलायनदेखि अन्य व्यवसायमा लागेपछि अहिले क्लबहरूलाई राम्रा खेलाडी भित्र्याउन नै धौ-धौ परेको छ ।

तर, थ्रीस्टारले एक हदसम्म खेलाडीहरुलाई टिकाइराख्यो । त्यसैले सदा झैं योपटक पनि बलियो टिम बनाएको छ । नेपालका पूर्वकप्तान अनिल गुरुङ, विक्रम लामा, रन्जन विष्ट, अनन्त तामाङ, निराजन खड्का, सुनिल बल, एलन न्यौपाने, रञ्जित धिमाल जस्ता स्टार खेलाडी थ्री स्टारसँग छन् । यसैगरी विदेशी खेलाडीहरु अजयी मार्टिन्स, पिटर सेगुनले टिमलाई थप मजबुत बनाएका छन् ।

फरवार्ड लाइनमा अनिल, रन्जन, बुद्ध लिम्बु, सुसन श्रेष्ठ, अजयी मार्टिन्स र जेनिस प्रजापतिले विपक्षी रक्षापङ्तिलाई हैरान बनाउनेछन् । मिड्फिल्ड र डिफेन्स लाइन पनि बलियो छ । ‘प्लेइङ सेट बलियो छ, बेन्च पनि बलियो छ’ कप्तान लामा भन्छन् ।

अनुवन्धित खेलाडी

गोलकिपर : एलन न्यौपाने, पूर्ण चेम्जोङ, अभिषेक बराल

डिफेन्डर : अनन्त तामाङ, रञ्जित धिमाल, विजय धिमाल, विष्णु सुनार अशोक खवास, जीवन गुरुङ, पिटर सेगुन

मिडफिल्डर : विक्रम लामा, निराजन खड्का, सुनिल बल, रुपेश केसी, मिशान लामा, मिक्छेन तामाङ, दिपेश घले, सुशील राई, दीपसन राउत
फरवार्डः अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध लिम्बु, सुसन श्रेष्ठ, अजयी मार्टिन्स, जेनिस प्रजापति

गौरवपूर्ण इतिहास

थ्रीस्टार क्लब वि.सं. २०३० को दशकमा अस्तित्वमा आएको हो, जति अन्य थुप्रै क्लब आइसकेका थिए । त्यसो त सुरुमा सामाजिक काम गर्ने उद्देश्यले यो क्लवको स्थापना गरिएको थियो ।

ललितपुरस्थित मंगलबजारका केही युवाले मिलेर २०३१ सालमा दर्ता गरेको थि्रस्टारलाई पछि खेलकुदमा लगाइएको हो । २०३५ सालमा डी डिभिजन लिगमा क्लबले भाग लिएको थियो । तर, त्यतिबेला डी डिभिजन पार गर्न सकेन । २०३६ सालमा डी डिभिजनको विजेता बन्दै सी डिभिजनमा उक्लियो ।

त्यसपछि कहिल्यै पछाडि फर्कनुपरेको छैन । २०३७ सालमा सी डिभिजनबाट बी डिभिजनमा बढुवा भएको थ्रीस्टार २०३८ सालमा ए डिभिजनमा पुग्यो । २०३९ सालदेखि ए शहिद स्मारक ए डिभिजन लिग खेल्न थालेको क्लबले १५ वर्षपछि २०५४ मा उपाधि उचाल्दै इतिहास रच्यो । २०६१ सालमा दोस्रोपटक र २०६९ सालमा तेस्रो पटक उपाधि जित्न सफल भयो ।

राष्ट्रिय लिगको उपाधि पनि थ्रीस्टारको नाममा छ । २०७१/०७२ मा भएको राष्ट्रिय लिग यसले जितेको थियो । थ्री स्टारले राष्ट्रिय स्तरमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हात पारेको छ । नर्थ बंगाल गोल्डकप, गभर्नर्स गोल्डकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि यसको नाममा छ ।

स्रोत-साधनमा कमजोर

थ्री स्टारसँग भौतिक संरचना र आयस्रोत भने त्यति बलियो छैन । यसको आफ्नै भवन छैन, अन्य अचल सम्पति पनि छैन । तर, क्लब कहिल्यै घाटामा गएको पनि छैन ।

खेलाडीलाई राम्रो सेवा-सुविधा दिइरहेको छ । यसबाट खेलाडी पनि सन्तुष्ट छन् । महासचिव सञ्जिव शिल्पकार भन्छन्, ‘हाम्रो क्लबको आयस्रोत भनेकै समर्थक, सहयोगी तथा मुख्य प्रायोजक र सहप्रायोजकबाट आउने पैसा हो । मासिक आम्दानीको अर्को बाटो छैन ।’

ललितपुर नगरपालिकाले थ्री स्टारलाई मंगलबजारमा कार्यालयका लागि भवन उपलब्ध गराएको थियो । तर, २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि त्यो भवन भत्काउनुपर्ने अवस्था आयो ।

अहिले थ्री स्टार क्लबको मासिक खर्च १६ लाखको हारहारीमा छ । यो खर्च सबै प्रयोजक र सहयोगबाटै धानेको महासचिव शिल्पकार बताउँछन् । साथै विभिन्न समयमा उपाधि जित्दा पाएका पुरस्कार राशीले पनि टेवा पुगेको छ ।

गल्ती एन्फाको, हानी क्लबलाई

२०७२ सालमा सम्पन्न राष्ट्रिय लिगको च्याम्पियन भएपछि थ्रीस्टारले एएफसी कपअन्तर्गत छनोटको प्लेअफमा समूह विजेता बनेर दोस्रो चरणमा प्रवेश गरेको थियो ।

मंगोलियामा सम्पन्न प्ले अफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिलो खेलमा इर्चिमलाई २-० गोलअन्तरले पराजित गर्न सफल भयो । त्यस्तै, आफ्नो अन्तिम खेलमा कम्बोडियाको नागावल्र्डसँग १-१ गोलको बराबरी खेल्दै समूह विजेता बनेर एएफसी कपको दोस्रो चरणमा प्रवेश गर्‍यो । यो नेपाली फुटबल क्लबले हासिल गरेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता थियो ।

तर, विडम्बना नै भनौं, एन्फाको लापरबाहीको कारण थ्री स्टारले दोस्रो चरणमा भाग लिन पाएन । यसले क्लबलाई अकल्पनीय क्षति भएको महासचिव शिल्पकार बताउँछन् । ‘क्लवलाई मात्र होइन, पूरै नेपाली फुटबलमा क्षति पुग्यो ।’

थ्री स्टारले हालसम्म जितेका उपाधि

१. दीपेन्द्र गोल्ड कप (२०३८)
२. मणिमुकुन्द गोल्डकप (२०४१)
३. महेन्द्र गोल्डकप (२०५२)
४. शहिद स्मारक ए डिभिजन लिग (२०५४)
५. शहिद स्मारक ए डिभिजन लिग (२०६१)
६. भूकम्प पीडित गोल्डकप (२०६२)
७. बुढासुब्बा गोल्डकप (२०६२)
८. आहा गोल्डकप (२०६४)
९. बुढासुब्बा गोल्डकप (२०६४)
१०. जनआन्दोलन स्मृति गोल्डकप (२०६४)
११. बुढासुब्बा गोल्डकप (२०६६)
१२. बि्रटिस गोर्खा कप (२०६७)
१३. नवौं आहा गोल्ड कप (२०६८)
१४. उदयपुर गोल्ड कप (२०६९)
१५. आहा गोल्ड कप (२०६९)
१६. सहिद स्मारक ए डिभिजन लिग (२०६९)
१७. राष्ट्रिय लिग (२०७१/०७२)
१८. इटहरी गोल्डकप (२०७४)
१९. २०औं बुढासुब्बा गोल्डकप (२०७४)
२०. २०औं तिलोत्तमा गोल्डकप (२०७४)
२१. मदन भण्डारी मेमोरियल बुटवल गोल्डकप (२०७४)
२२. विराट गोल्डकप (२०७४)
२३. माई भ्याली गोल्डकप (२०७५)
२४. पाँचौं उदयपुर गोल्डकप (२०७५)

अन्तर्राष्ट्रिय उपाधि

१.नर्थ बंगाल गोल्डकप, सिलगुढी (२०५४)
२. नर्थ बंगाल गोल्डकप, सिलगुढी (२०५८)
३. ३०औं गर्भनर्स गोल्डकप, सिक्किम (२०६५)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment