Comments Add Comment

राष्ट्रसंघमा दूधेबच्चा : हामी पनि जासिन्डा आर्डन जस्तै !

प्रधानमन्त्रीको पदमै रहँदा सन्तान जन्माएकी न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आफ्नी तीन महिने छोरीलाई राष्ट्रसंघको महासभामा पनि सँगै लगेर महासभालाई सम्बोधन गरेको कुरा साँच्चिकै ऐतिहासिक भएको छ । यसलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको भन्ने समाचारको हेडलाइन पढ्न पाउँदा म स्वंयमलाई पनि एकप्रकारले अपार आनन्दको अनुभव महसुस भइरहेको छ।

विश्वका कुल नेताहरूमध्ये ५ प्रतिशत महिला छन् । त्यसैमा १ सय ५० वर्षपछि न्युजिल्यान्डको इतिहासमा नै आर्डन गत वर्ष देशकै सबैभन्दा कान्छी नेतृ बनेकी हुन्, जसले गर्दा उनको महिमा आफैमा पूर्ण छ । यसैले पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संचारका माध्यमहरुले प्रधानमन्त्री जासिन्डा आर्डनलाई प्राथमिकता दिनु स्वभाविकै हो ।

हुन त एक नवजात शिशुलाई एउटा असल मान्छे बनाउनमा लाग्ने मिहेनत र क्षमता वास्तैमा कुनै राष्ट्रले वर्षौंसम्मको योजना तर्जुमा गर्नुमा खर्च गरिएको समयभन्दा ज्यादा हुन्छ भन्दा कुनै फरक नपर्ला । त्यसैले फ्रान्सका राष्ट्रपति बोनापार्टले भनेका छन्- “मलाई असल आमा देउ,असल आमाबाटै असल नागरिक हुन्छन्” यसबाट राष्ट्रको लागी आमाको महिमा कति महत्वपूर्ण छ भन्ने अन्दाज सोझै आकलन गर्न सकिन्छ ।

हाम्रो देशमा महिलाले काखेबच्चा च्यापेरै काममा जानुपर्ने बाध्यता छ । यसलाई हामिले संवेदनशिल विषयको रुपमा कहिल्यै पनि लिन सकिरहेका छैनौ । केहि समय पहिला मेरो एकजना साथीले आफ्नो २ वर्षको बच्चालाई हातमा समाएर बाध्यताले गर्दा एक दिन कार्यालय लैजादै गर्दा छिमेकी दाइले अफिस जाँदा पनि बच्चालाई आफैसँग चिप्काइरहनुपर्छ त भनेर सोधेको प्रश्नले आफुलाई नमज्जा लागेको गुनासो मलाई पोखेकी थिइन् ।

हामी टाढा जानु पर्दैन, हाम्रा वरिपरिका महिला श्रमिकहरुलाई हेर्दा हुन्छ । कति दयनीय छ नेपाली कामकाजी महिलाहरुको अवस्था त्यहाँबाट नै चित्रित हुन आउँछ । एउटा सानो बच्चालाई घाम-पानी धुवाधुलोमा राखेर काम गर्नु भनेको बच्चाको स्वास्थ्य र सुरक्षाको हिसाबले जोखिम छ । कति बाध्यता र विवशतामा बाँचेका छन् नेपाली महिलाहरु भन्ने गम्भीर प्रश्न यहाँनेर उठ्छ ।

हाम्रा नेताहरुले देशको राजनितिक परिवर्तनसँगसँगै यस्ता महिलाहरु, जसले आफ्नो सानो काखे बालकलाई काममा निस्कँदा सँगै लिएर हिँड्नुपर्ने बाध्यता छ, जसलाई कहिले र कसरी सम्वोधन गर्लान् ? के यस्ता महिलाहरुको लागि केही विशेष योजना बनाउलान् त ? यस्ता स-साना बच्चाहरु भएका र घरमा हेरविचार गरिदिने कोही नभएर आफैंले काममा लिएर हिँड्नुपर्ने बाध्यता भएका कामकाजी महिलाहरुका लागि नि:शुल्क दिवा शिशु स्याहार केन्द्र’ खोलिदिनुपर्छ भन्ने कुरा कहिले सोच्न सक्छन् होला ?

यहाँनेर मिहिनेत गरेर काम गर्नुहुँदैन भन्ने सोच मेरो पटक्कै होइन । बच्चाको शैशव अवस्था र स्कुल जानुभन्दा अघिको वर्षमा घरमा रहने आमाको दाँजोमा कामकाजी महिलाहरु बढी स्वस्थ र खुसी रहन्छन् भन्ने कुरा नेसनल इन्स्टिच्युट फर चाइल्ड हेल्थ एन्ड ह्युमन डेभलपमेन्ट स्टडीले पनि देखाएको छ ।

यो पनि पढ्नुहोस न्युजिल्याण्डकी प्रधानमन्त्री तीन महिने छोरीसहित राष्ट्रसंघ महासभामा आएपछि…

यहाँ हामीले हृदयङ्गम गर्नुपर्ने कुरा भनेको नेपाली समाजका महिलाको काँधमा महत्त्वपूर्ण जिम्मेवारी हुन्छ। अझ कामकाजी महिलाको जिम्मेवारी दोब्बर हुन्छ। गाउँदेखि शहरसम्मको अवस्था लगभग हामीकहाँ उस्तै छ। दूधेबच्चा काखी च्यापेर चुलोचौका, मेलापात लगायत विकासका काममासमेत पछि नपर्ने महिलाको राष्ट्रनिर्माण तथा विकासको चाहना महत्त्वपूर्ण छ ।

त्यसैले व्यवहारिकरुपमा  महिलालाई आत्मबल, आत्मविश्वास बढाउनका लागि सक्षम बनाउनका लागि हर क्षेत्रबाट सहयोग र सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ र जसको परिणाम अवश्य हामी पनि जासिन्डा आर्डन जस्ता थुप्रै व्यक्तित्वहरु यहाँ जन्मने छन् र हामी सारा नेपाली गर्भले गद्‍गद्‍ हुनेछौं ।

(पौडेल उच्च अदालत पाटनमा कार्यरत शाखा अधिकृत हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment