+
+
Shares

नारायणगढ-बुटवल सडक बिस्तार चाइना स्टेट कन्स्ट्रक्सनले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १२:१५

१२ असोज, काठमाडौं । नारायणगढ-बुटवल सडकखण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । यो आयोजनाका दुई वटै प्याकेज चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाउने पक्कापक्की छ ।

सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले प्राविधिक रुपमा पास भएका कम्पनीको आथिर्क प्रस्ताव खोलिसकेको छ । अब यसमा सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नै दुबै प्याकेजमा ठेक्का पाउने लगभग निश्चित हरेको विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

‘अब आर्थिक प्रस्तावको जानकारीसहित एडीबीमा पत्र पठाउँछौं, एडीबीको स्वीकृति दिनासाथ कम्पनीसँग समझौता भएर आयोजना कार्यान्यवनमा जान्छ ।

यो आयोजनामा प्राविधिक रुपमा सफल भएका ७ वटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा थिए ।

कसको कति कबोल गरे ?

आयोजना अन्तरगतको दुईवटै प्याकेजको ठेक्कामा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा कम रकम कबोल गरेको छ । उसले प्याकेज-२ अन्तरगतको ठेक्कामा ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेको छ । यो प्याकेजमा सबैभन्दा धेरै टप इन्टरनेशनल इन्जिनियरिङको ९ अर्ब ५६ करोड रुपैयाँसम्मको ठेक्का रकम कबोल गर्दै प्रस्ताव परेको छ ।

प्याकेज-२मा हुनान रोड एन्ड ब्रिज कन्सट्रक्सनले ८ अर्ब १६ करोड, सांघाई कन्स्ट्रक्सन ग्रुपले ८ अर्ब २० करोड, लाङ्जिन ब्रिज एण्ड रोडले ८ अर्ब ५३ करोड, हुबेई छाङजाङ रोड एण्ड ब्रिजले ८ अर्ब ५५ करोड, चाइना रेल्वे ब्युरोले ८ अर्ब ९९ करोड प्रस्ताव गरेको छ ।

यस्तै प्याकेज-१ मा ९ अर्ब १३ करोड रुपैयाँमा स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का प्रस्ताव गरेको छ । यो पनि यो प्याकेजमा परेको सबैभन्दा कम कबोल रकम हो ।

यो प्याकेजमा लोङ्जियान ब्रिज एण्ड सबैभन्दा बढी रोडले १० अर्ब ८९ करोड रुपैयाँसम्मको आर्थिक प्रस्ताव परेको छ ।

यो प्याकेजमा सांघाई कन्स्ट्रक्सनले ९ अर्ब ३७ करोड, हुनान ब्रिज एण्ड रोड कन्स्ट्रक्सनले ९ अर्ब ६४ करोड, चाइना रेल्वे ब्युरोले १० अर्ब ४४ करोड, हुबेई छाङजाङले १० अर्ब ७० करोडको आर्थिक प्रस्ताव गरेको छ ।

पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए ।

विभागका अनुसार यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भईकसकेको छ ।

कस्ताे बन्छ रोड ? 

अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ । जसलाई विभागले ४ लेनको बनाउन लागेका हो । जसका लागि विभागले एडीबीबाट ऋण सहयोग लिन लागेको छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो ।

दुई लेनको यो सडकलाई चार लेनको बनाइने छ भने दुई रदुई लेनको बीचको भाग ‘ग्रीनरी’लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७/७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने विभाग बताउँछ ।

यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।

जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।

१ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायणगढ-दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तरगत निर्माण गरिनेछ ।

यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । बुटवल-नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो/ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ ।

त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर ३ लेनमात्रै बनाउन लागिएको हो ।

३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालोमा गाडीहरु सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?