Comments Add Comment

बल्न थाल्यो प्रधानमन्त्रीले उद्घाटन गरेको बायोग्यास

१२ असोज, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा आएको छ ।

विराटनगर- १४ स्थित श्रीकृष्ण गौशालाले उत्पादन गरेको बायोग्यास वितरण सुरु गरिएको हो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्लान्टमा प्राविधि समस्या आएपछि करिब २० दिन वितरण रोकिएको थियो ।

एकसाता याता निरन्तर रुपमा घरमै ग्यास आउन थालेको उपभोक्ताले बताएका छन् । ‘ग्यास बन्द भएपछि सिलिण्डर प्रयोग गर्दै थियौं’ स्थानीय जागेश्वर यादवले भने, ‘बन्द भएको ग्यास बल्न थालेको एकसाता जति भयो ।’ बायोग्यास आउन थालेपछि सिलिण्डरको प्रयोग गर्न छाडेको उनले बताए ।

बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास वितरण गर्दा बिजुली गडबड हुदा ‘मेम्ब्रेम’ मा समस्या आएपछि मर्मतका लागि ग्यास वितरण बन्द गरिएको थियो ।

प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राविधिक बोलाइएको थियो । सिड कन्सल्टेण्ट एण्ड इन्जिनियरिङ दिल्लीबाट आएका इन्जिनियरसहितको टोलीले मर्मत गरेको थियो ।

गौसेवा समिति अध्यक्ष संकरलाल अग्रवाल केही दिन मर्मत गरेर ग्यास वितरण सुरु गरिएको बताउछन् । ‘बिजुलीको गडबढीले स्टेपलाइजरमा समस्या देखिएपछि गाह्रो भएको थियो’ उनले भने, ‘त्यसलाई रिरप्लेस गरेका छौ । समस्या देखिएको स्थानमा मर्मतपछि चालु भएको हो ।’

गौसेवा समितिलाई विद्युत नभएका बेला पनि सहज रुपमा ग्यास वितरण गर्न जिल्ला समन्वय समिति मोरङले विराटनगर महानगरपालिका मार्फत जेनेरेटर दिएको थियो । दुई महिनाअघि नै दिने निर्णय भए पनि अझै जेनेरेटर गौशाला पुगेको छैन । ‘जेनेरेटर आएको भए हामीलाई धेरै सहज हुन्थ्यो’ उनले भने ‘ जेनेरेटर नहुदा लाइन नभएको बेला पनि ग्यास वितरण गर्न अझै समस्या छ ।’

गौसेवा समितिले ८० घरमा वितरणको लक्ष्यसहित बायोग्यास वितरण प्रक्रियाको गत भदौ ५ गते उद्घाटन गरेको थियो । सुरुमा ३२ घरमा जडान गरिएको थियो । अध्यक्ष अग्रवाल ग्यास वितरण गर्न पाइपलाइन बिच्छयाउदा आवश्यक सामाग्री समयमा नै आपूर्ति नभएका कारण थप ४८ घरमा जडान गर्न समय लागेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment