१२ असोज, काठमाडौं । आफ्ना अनुभव, क्षमता र सिर्जनाशीलतालाई संगठित र सुव्यवस्थित बनाउन भन्दै वनस्पतिविद्हरू संगठित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका प्रमुख प्रा.डा. मोहन शिवाकोटीको अध्यक्षतामा वनस्पति समाज नेपाल गठन गरिएको हो ।
समाजको उपाध्यक्षमा वनस्पति विभागका महानिर्देशक सन्जीवकुमार राई, सचिव डा. हरिप्रसाद अर्याल, कोषाध्यक्ष नारायणप्रसाद घिमिरे, सदस्यहरूमा डा. भुवनकेशर शर्मा, डा. अन्जना गिरी र दीपक लामिछाने चयन भएका छन् ।
वनस्पतिसम्बन्धी ज्ञान, विज्ञान र प्रविधिबारे अध्ययन, अनुसन्धान र शैक्षिक कार्यमा सघाउ पुर्याउन समाज गठन गरिएको राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले वनस्पति समाजलाई राजनीतिक प्रभाव मुक्त बनाउन सुझाव दिए । समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले वनस्पति सम्बन्धी विषयलाई आमनागरिकको जीवनसँग जोड्नुपर्ने बताए ।
वनस्पति समाज नेपालको पहिलो अधिवेशन छ महिनाभित्र सम्पन्न गरिने उपाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार वनस्पतिशास्त्र विषयमा स्नाकोत्तर गरेका वा त्यही विषयमा स्नातक गरेर सरकारी मान्यता प्राप्त संस्थामा तीन वर्ष काम गरेका व्यक्ति समाजको सदस्य बन्न सक्नेछन् ।
प्रतिक्रिया 4