Comments Add Comment

लिगको उपाधिमा चारवटा क्लबको आँखा, कसले मार्ला बाजी ?

१२ असोज, काठमाडौं । चार क्लबले मात्र शहीद स्मारक ए डिभिजन लिगको उपाधिमा दाबी प्रस्तुत गरेका छन् । बाँकी १० टिमले भने प्रतियोगिता सुरु हुनु अगाडि नै उपाधिको लक्ष्यबाट आफूलाई टाढा राखेका छन् ।

ए डिभिजन लिग भोलि सुरु हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उद्घाटन समारोहपछि त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ ।

अघिल्लो दिन एन्फा कम्प्लेक्समा आयोजित प्रि-म्याच कन्फ्रेन्समा साविकको विजेता मनाङ मर्स्याङ्दीसँगै थ्री स्टार, आर्मी र पुलिस क्लबले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् ।

मनाङका प्रशिक्षक टोपे फुजाले उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले भने, ‘खेलाडी एकसे एक छन् । एट्याकिङ राम्रो छ । हामी उपाधि जित्ने हैसियत राख्छौं ।’

थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले अरु टिम कस्तो छ त्यो अहिले नै भन्ने अवस्था नरहेको तर, आफ्नो टिम बलियो भएको दाबी गरे । उनले भने, ‘टिम राम्रो छ, अभ्यास पनि राम्रै भयो । त्यसकारण हाम्रो लक्ष्य भनेको उपाधि जित्ने हो ।’

यस्तै आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपाने पनि उपाधि जित्ने लक्ष्य बनाएर अभ्यास थालेको बताए । ‘मोफसलको प्रतियोगिता सकिए लगत्तै यो लिगको उपाधि जित्ने लक्ष्य बनाएर अभ्यास गरिरहेका छौं । हाम्रो सबै पक्ष बलियो छ ।’

अर्काे विभागीय टिम नेपाल पुलिस क्लबले पनि आफूलाई उपाधि होडमा उभ्याएको छ । प्रि-म्याच कन्फ्रेन्समा पुलिसका प्रशिक्षक अनन्त थापाले भने ‘टिम सेट राम्रो छ । अभ्यास पनि राम्रो छ । त्यसैले उपाधिको दाबी गर्दै मैदानमा छिर्नेछौं ।’

बाँकी क्लबले भने उपाधि जित्ने लक्ष्य नै राखेका छैनन् । एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नयाँ विधि अनुसार अभ्यास थालेको भन्दै शीर्ष तीनको लक्ष्य सुनाए ।

अन्य टिमका प्रशिक्षकले भने शीर्ष ८ देखि ५ सम्म पर्ने गरी खेल्ने प्रतिक्रिया दिएका छन् ।

झण्डै चार वर्ष रोकिएपछि शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा त्रिभुवन आर्मी र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ भने असोज १४ गते संकटा र सरस्वती क्लबले हलचोकमा खेल्नेछन् ।

लिगका बाँकी खेल भने बंगबन्धु गोल्डकपपछि हुनेछ । त्यसको तालिका आएको छैन ।

प्रतियोगिताको विजेताले ५० हजार नगद प्राप्त गर्नेछ । उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख प्राप्त गर्नेछ । चौथो, पाँचौं र छैटौं हुनेले क्रमशः १५ लाख, ७ लाख र ५ लाख नगद प्राप्त गर्ने छन् ।

त्यस्तै, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक घोषित हुनेले एक-एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment