Comments Add Comment

गृहमन्त्री भन्छन् : महिला हिंसाको घटनाले आफै लज्जित हुने अवस्था आयो

१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिलामाथि भएका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफैं लज्जित हुने अवस्था आएको बताएका छन् ।

शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुसँगको भेटमा उनले महिला र बालबालिकामाथि जघन्य अपराध नदिन सरकार जिम्मेवार ढंगले लागि परेको पनि दावी गरे ।

गृहमन्त्री थापाले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिएका थिए ।

नेकपाका नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

उनीहरुले महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् । पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनुपरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । शाक्यले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कारवाही गर्न सरकारलाई गम्भीर बन्न सचेत गराइन् ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढ्दै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन् । उनीहरुले सो घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भीर नभएको आरोप पनि लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment