Comments Add Comment

टोटनहृयाममा लुकासको उदयले केनलाई चुनौती

काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा बेन्जामिन मेन्डी, मार्कस एलन्सो, सडियो माने सबैको पहिलो महिना निकै उत्कृष्ट रहृयो । तर, सबैलाई पछि पारेर प्लेयर अफ दि मन्थको उपाधि पाउने बेला धेरैले याद गरे, लुकास मोउरा ।

प्लेयर अफ दि मन्थको उपाधि टोटनहृयामका खेलाडीले पाएको यो २२ औं पटक हो । अर्को रोचक कुरा लुकास यो उपाधि पाउने चौथो ब्राजिलियन खेलाडी पनि बने । ब्राजिलियिन खेलाडी १९९७ मा जुनिन्हो, २००४ मा इडु र २०११ मा डेभिड लुइजले प्लेयर अफ दि मन्थको उपाधि जितेका थिए ।

१९९९ मा इटालियन क्लब युभेन्टसको युथ टिमबाट फुटबल सुरु गरेका लुकास २००२ मा ब्राजिलियन क्लब कोरिनथियन्सको युथ टिममा गए । २००५ मा साओपाउलोको युथ टिममा गएका उनी २०१० मा सिनियर टिममा पुगे । जहाँबाट २०१३ मा पेरिस सेन्ट जर्मेन गएका लुकास अहिले टोटनहृयाममा छन् ।

ब्राजिलको २० वर्षमुनि र २३ वर्षमुनिको टिमसँगै राष्ट्रिय टिमबाट पनि उनले ३४ खेल खेलेका छन् । २०११ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ४ गोल पनि गरेका छन् ।

टोटनहृयामले अगस्टमा खेलेका तीन खेलमा हरेकजसो समय लुकास मैदानमा नै थिए । जसमा उनले तीन गोल पनि गरे ।
न्युक्यासलसँगको पहिलो खेलमा राइट मिडफिल्डबाट खेलेका लुकासको शैली हेरेपछि प्रशिक्षक मोउरिसियो पोचेटिनोले उनलाई सेन्टर अट्याकबाट खेलाउन थाले, जहाँ हृयारी केनसँगै स्ट्राइकिङ भूमिकामा उनले झनै प्रभाव पारे ।

छोटो दुरीमा तीव्र दौड, मिडफिल्डका लागि बलको अवसर, गोलका लागि पास र गोल सबै कुरामा राम्रो देखिएकैले लुकास प्लेयर अफ दि मन्थ बनेका हुन् ।

२६ वर्षका लुकास टोटनहृयामकै अन्य खेलाडीले भन्दा पोस्ट प्रहारमा पनि अगस्ट महिनाको खेलमा राम्रो देखिएका थिए । उनले पोस्टमा प्रहार गरेका उत्कृष्ट चार सटमा तीन त गोल नै भए । जहाँ आठ प्रहारमा हृयारी केनले दुई गोल गरे भने डेल अलि, क्रिष्टियन इरिकसनले १८/१८ प्रहार गर्दा एक/एक गोल गर्न सके ।

लुकासको अर्को राम्रो विशेषता बलसँग तीब्र गतिमा दौडिरहँदा, बल घुमाउँदा र सट प्रहार गर्दा पनि उनको दुवै गोडा उस्तै राम्ररी चल्छन् । अनि पोस्टमा प्रहार पनि उस्तै राम्रो देखिन्छ । डिएरिया लाइनबाट उनले फुलहृयामविरुद्ध हानेको गोलको त धेरै नै तारिफ पनि भयो ।

लुकास राइट साइडमा अलि राम्रा देखिन्छन् । म्यानचेस्टर युनाइटेडलाई दुई गोल हान्दा उनले दुवै गोल राइट साइडमा पोजिसन मिलाएर हानेका थिए, जसमा उनले डेभिड डे गाले भेट्न मुस्किल हुने कर्नर च्यापेका थिए ।

हेर्नुस् गोल

वान भर्सेस वानको अवस्थामा पनि लुकासको क्षमता राम्रो छ । तीब्र गतिमा बल बढाइरहँदा दाहिनेतर्फ बल घुमाएर डिफेन्डरलाई छक्काउने उनको शैली हेर्नलायक छ । हुन त बलमा पहिलो टचमा नै मुभ भइदिँदा उनी कुन दिशामा घुम्छन् भन्ने अन्दाज गर्न डिफेन्डरलाई सहज देखिँदैन ।

पास आएको बलमा लुकासले पहिलो टच बिगारेनै भने पनि उनको तीब्र गतिका अगाडि डिफेन्डरले हत्तपत्त बल नियन्त्रण गरिहाल्न सक्दैनन् ।

लुकासकै कारण हृयारी केनलाई पनि आफ्नो खेल सुधार्न सहज भइरहेको छ । पहिले दुई डिफेन्डरबाट घेरिने केन अहिले अलि खुकुलो हुन पाएका छन् । किनभने, विपक्षी डिफेन्डरले लुकासमाथि पनि नजर राख्नुपर्ने दबाव बढेको छ । लुकासको खेल राम्रो हुँदा हृयारी केनलाई पनि अझ राम्रो गर्ने चुनौती थपिएको पनि छ ।

ट्रिपियर र अरियरलाई डिफेन्सलाइनबाट बल बढाएर अट्याक मिलाउन पनि अहिले सहज हुँदै गएको देखिन्छ । त्यसमा पनि विशेष त राइट साइडमा नै बाटो खुलिरहेको हुन्छ ।

गएको सिजनको जनवरीमा टोटनहृयाम आएका लुकासबारे प्रशिक्षक मोउरिसिया भन्छन्, ‘गएको सिजन त यहाँको खेलमा तालमेल मिलाउन नै उनलाई कठीन देखिएको थियो । यो सिजन सुरुदेखि नै उनले राम्रो गरिरहेका छन् । यहाँको खेल र अवस्था उनले बुझिसकेका छन् ।’

प्रशिक्षक मोउरिसियाले उनको शैली बुझेर उपयुक्त पोजिसन र तालमेल मिलाएकाले पनि खेल राम्रो भएको बताए । सिजनको बीचमा आएका हरेक खेलाडीलाई नयाँ लिगमा फिट हुन समय लाग्ने उनको भनाइ छ । प्रशिक्षकले भनेजस्तै लुकासले पनि केही समयको विश्राम जस्तै गरे र अहिले झनै उम्दा भएर निस्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment