१४ असोज, काठमाडौं । मापदण्डविनै सञ्चालित भेटनरी कोर्षलाई नेपाल पशु चिकित्सा परिषदले मान्यता नदिने भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले मापदण्ड पूरा नगरेका कलेजमा बी.भी.एससी एण्ड ए. एच कार्यक्रमका लागि प्रवेश परीक्षा सञ्चालन गरेसँगै परिषदले त्यस्ता कलेजहरुको उपाधिलाई मान्यता नदिने प्रष्ट पारेको हो ।
परिषदको मापदण्डमा जनशक्ति, भौतिक पूर्वाधार, प्रयोगशाला, पशु चिकित्सा शिक्षण अस्पताल, पशुपक्षी फार्म, उपकरण, पुस्तकालय लगायत हुनुपर्ने उल्लेख छ । तर पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित हिमालय कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी काठमाडौं र नेपाल पोलिटेक्निक इन्ष्टिच्यूट लि. चितवनले यी मापदण्ड पूरा नगरी प्रवेश परीक्षा सञ्चालन गरेका थिए ।
परिषदका सदस्य डा. नरेशप्रसाद जोशीले मापदण्ड पूरा गर्न आग्रह गर्दा पनि अटेर गरेकाले ति कलेजहरुको पढाइलाई मान्यता दिन नसकिने बताए ।
परिषदले सार्वजनिक सूचना जारी गर्दै मापदण्डविपरीत सञ्चालित कलेजले सञ्चालन गरेको बी.भी.एससी एण्ड ए. एच कार्यक्रमलाई मान्यता नदिने बताएको छ । नियमविपरीत कोर्ष सञ्चालनको तयारीमा रहेका कलेजले मापदण्ड पूरा गरेमा भने कोर्ष सञ्चालन गर्न दिने परिषदले जनाएको छ ।
यसैबीच परिषदले दुई कलेजले मापदण्ड पूरा नगरेको सार्वजनिक सूचना जारी गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले मापदण्ड पूरा गरेर मात्रै विद्यार्थी भर्ना गर्न सम्बन्धन लिएका कलेजहरुलाई आग्रह गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले एक सूचना जारी गर्दै अन्यथा विश्वविद्यालय त्यसमा जिम्मेवार नहुने स्पष्ट पारेको छ ।
हेर्नुहोस् नेपाल पशु चिकित्सा परिषदको सूचना

प्रतिक्रिया 4