Comments Add Comment

आईसीपी सञ्चालनको ६ महिना : वीरगञ्जमा घटेन घण्टौंको जाम

१६ असोज, वीरगञ्ज । वीरगञ्जमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ६ महिना हुन लाग्यो ।

भन्सार नाका हुँदै भित्रने धेरै ट्रकहरु आईसीपी हुँदै भित्रिने हुनाले नाकामा जाम नहुने विश्वास गरिएको थियो । तर जाम कत्ति पनि घटेको छैन । शंकराचार्य गेटदेखि रक्सौल बजारसम्म पुग्न घण्टौंसम्म जाममा बस्नुपर्छ ।

पैदलयात्री भने गाडीले उडाएको धुलोले कुहिरोसरी भएको सडक छेउबाटै आवतजावत गर्न बाध्य छन् ।

रक्सौलको असर वीरगञ्जसम्मै

रक्सौलमा रेल्वे क्रसिङका कारण जाम हुने गरेको गुनासो स्थानीयको छ ।

रेलवे क्रसिङमा आकाशेपुल नहुँदा धेरै वर्षदेखि जामको समस्या भोग्नुपरेको रक्सौलका सुरेन्द्र साह बताउँछन् । ‘आकाशे पुल लगाइदिन्थ्यो भने मेरो गाडी मर्मतको पैसाको बचत हुन्थ्यो, यही बाटो आउँदा जाँदा गाडी थोत्रो भइसक्यो’ उनले भने, ‘४० वर्षदेखि यही बाटोमा ओहोर दोहोर गरिरहेको छु कुनै परिवर्तन देखिदैन ।’

भेलाही घर भएका पुरेन्द्रा मौजे रक्सौलमा रेल्वे लिकनजिकै आकाशेपुल भएको भए जाममा पर्नुनपर्ने बताउँछन् । ‘ओभरवृज नबन्दा आउन जान एकदमै गाह्रो हुन्छ’ उनले भने ‘ट्रेन आउँदा ढाला लगाउनुको साटो वैकल्पिक उपायहरु अबलम्बन गर्नुपर्छ ।’

पूर्वतिरबाट रेल आउँदा वा जाँदा रक्सौलमा राजमार्ग क्रस गरेर जान्छ । त्यहाँ आकाशेपुल नभएका कारण रेल आउने बेलामा ढाला लगाएर सडक बन्द गरिन्छ । यसले गर्दा वीरगञ्ज आउने ट्रकहरु जाममा पर्छन्, सर्वसाधरणहरु पनि ओहोर दोहोर गर्न पाउँदैनन् ।

रक्सौल बजारमा स्थानीय प्रहरीले दिउँसो मालबाहक सवारी गुड्न नदिने भएकोले एकैपटक गाडी निस्कदा जाम लाग्ने गरेको छ । त्यसमाथि नाकाको मितेरी पुल (मैत्री पुल) पनि साँघुरो छ । धेरै पुरानो पुलको मर्मतसम्भार गरिएको छैन ।

वीरगञ्ज महानगरपालिकाले पुलमा रहेको खाल्डाखुल्डी मर्मत गरेको भए पनि गाडीको चाप अनुसार पुल फराकिलो छैन । वीरगञ्ज-रक्सौल सडक खण्ड कालोपत्रे गर्नुपर्ने, मितेरी पुल मर्मत गर्नुपर्ने, नाका व्यवस्थित बनाउन पूर्वाधार विकास गर्नुपर्ने, रेल्वे क्रसिङमा आकाशे पुल बनाउनुपर्ने माग गर्दै दुबै देशका अगुवाहरुले आआफ्ना सरकारलाई पटक पटक दबाब दिएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा आईसीपी सञ्चालन भए पनि रक्सौल रेल्वे क्रसिङमा आकाशेपुल निर्माण नभएसम्म जामको समस्या यथावत रहने बताउँछन् । ‘हामीले पटक पटक भारत सरकारलाई पनि रक्सौलमा ओभरवृज निर्माण गर्न, सडक मर्मत गर्न, रक्सौल एयरपोर्ट सञ्चालनमा ल्याउन आग्रह गरेका छौं’ उनले भने ‘उहाँहरु सकारात्मक जवाफ दिनुहुन्छ, तर काम हुदैन ।’

रक्सौल प्रशासनको लापरबाहीले गर्दा समेत जाम बढेको भन्दै अध्यक्ष शर्माले वीरगञ्ज उद्योग वाणिज्य संघमार्फत ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको बताए ।

नाकामा देखिएको जाम कम गर्नकै लागि माल समान बोक्ने खाली सवारी साधन समेत आईसीपीबाटै ल्याउने तयारी भइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सन्तोष यादवले बताए ।

‘खुद्रा समान बोक्ने गाडी र तेल ट्याङ्कर वीरगञ्ज भन्सार नाका भएरै आइरहेको छ । गाडी आउने क्रममा रेल्वेको ढाला बन्द गर्ने गरिन्छ, रक्सौलमा दिउँसो गाडी गुड्न रोक लगाइएको छ । साँझ रेल आउँदा झनै लामो समय ढाला लगाउने गरिन्छ । त्यसले गर्दा जाम हुन्छ’ उनले भने ‘यसलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिरहेका छौं ।’

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले नाकामा आवत जावत सहज बनाउने भन्ने बारेमा छलफल भइरहेको बताए । ‘हाम्रो पाटोबाट जाम नहोस् भनेर सक्दो प्रयत्न गरेका छौं । खाली गाडी पनि परवानीपुरबाटै आइसीपीतर्फ पठाउन भनेका छौं’ उनले भने, ‘भारतीय समकक्षीहरुसँगको मिटिङमा पनि यसका लागि के गर्न सकिन्छ भनेर कुरा उठाउने गरेका छौं ।’

रक्सौलबाट गाडामा समेत समान ल्याइने, रक्सौलमै आयल निगमको डिपो रहेकोले तेल भरेर ल्याउनुपर्ने र रक्सौलबाट आईसीपी जाने फराकिलो सडक नभएका कारण तत्काल मालबाहक सवारी साधनलाई पूर्ण रुपमा रोक्न नसकिने भन्सार अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment