News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले सेवा सुविधा र बक्यौता गरी ६ करोड ३६ लाख ६२ हजार ८ सय ३ रुपैयाँ ३८ पैसा पाएका छन् ।
- श्रम अदालतले १७ चैत २०८२ मा ५ करोड ८६ लाख ६० हजार ३ सय ९५ रुपैयाँ २२ पैसा भुक्तानी गर्न बैंक खाता फुकुवा आदेश दिएको थियो ।
- मन्त्रालयका अनुसार ३० असोज २०८३ मा अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषाको सहमतिअनुसार विभिन्न चेकमार्फत रकम भुक्तानी गरिएको हो ।
१० कात्तिक, काठमाडौं । एभरेस्ट पेपर मिल्स प्रालिका श्रमिकले लामो समयको कानुनी र प्रशासनिक संघर्षपछि पाउनुपर्ने सेवा सुविधा बापत कुल ६ करोड ३६ लाख ६२ हजार ८ सय ३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार उद्योग प्रशासन र श्रमिकबीच विवाद बढेपछि १ सय ७४ श्रमिकले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिक माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए ।
अन्त्यमा श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमति अनुसार सबै श्रमिकले विभिन्न चेकमार्फत बक्यौता रकम प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
पटक–पटकको कानुनी संघर्षपछि श्रम अदालतले १७ चैत २०८२ मा ५ करोड ८६ लाख ६० हजार ३ सय ९५ रुपैयाँ २२ पैसा भुक्तानी गर्न बैंक खाता फुकुवा आदेश दिएको थियो ।
तर, बैंक खाता फुकुवा गरिए पनि प्रतिष्ठानबाट रकम भुक्तानी नभएपछि श्रमिकले अदालतको अवहेलना भएको भन्दै पुन: निवेदन दिएका थिए ।
निर्णय कार्यान्वयन नभएको भन्दै पुन: निवेदन परेपछि २६ भदौ २०८३ मा सेयर धनीहरूको बैंक खाता, सम्पत्ति तथा सेयर समेत पुन: रोक्का गरिएको थियो ।
प्रशासनिक र कानुनी कारबाहीपछि अन्तत: ३० असोज २०८३ मा श्रम अदालतको आदेश बमोजिम ५ करोड ८६ लाख ६० हजार ३ सय ९५ रुपैयाँ २२ पैसा र भदौ तथा असोज महिनाको तलब सहित कुल ६ करोड ३६ लाख ६२ हजार ८ सय ३ रुपैयाँ ३८ पैसा बराबर रकम १ सय ७४ श्रमिकलाई भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
विभिन्न चेकमार्फत यो रकम हस्तान्तरण गरिएसँगै लामो समयदेखि रोकिएको सहमति र अदालतको निर्णय पूर्णरूपमा कार्यान्वयनमा आएको मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया 4