Comments Add Comment

चितवनका थारू समुदायले यसरी मनाउँदैछन् ‘जितिया पर्व’

१६ असोज चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् ।

विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् । यसअघि विहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरेका थिए ।

तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवा खैरहनी नगरपालिका-१० की फूलमती चौधरी बताउँछिन् । चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाइरहेका छन् । महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।

त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ ।

हिन्दु धर्मालबम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आˆनै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आˆनो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवा जोखा चौधरी बताउँछन् ।

थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढीलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् ।

पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् । जितिया पर्व लोप हुन नदिन चितवनका थारु महिलाहरु सक्रिय बनेको थारु महिला अगुवा रुकमिणी चौधरी चौधरी बताउँछिन् ।

चितवनमा करिव ८० हजार थाारु समुदायको बसोबास रहेको छ । तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी, मैथिली जातिले पनि जितिया पर्व मनाउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment