Comments Add Comment

‘कार्गो हब’ बन्दै वीरगञ्ज

१७ असोज, वीरगञ्ज । नेपालको प्रमुख भन्सार नाका वीरगञ्जलाई ‘कार्गो हब’ का रुपमा विकास गर्ने सोचका साथ सरकार अघि बढेको छ । भन्सार नाकाको स्तरीकरणमा जोड दिँदै विविध योजनाहरु यहाँ कार्यान्वयन क्रममा छन् ।

पछिल्लो समयमा भारतसहित तेस्रो मुलुकबाट आयात बढेको बढ्यै छ । तत्काल आयात नियन्त्रण गरिहाल्न सकिने अवस्था छैन । यद्यपि, भविष्यलाई हेरेर निर्यात पनि सहज हुने गरी वीरगञ्जलाई फराकिला सडकले जोड्ने काम गरिरहेको छ । भन्सार कार्यालयलाई नै लक्षित गरी पूर्वाधार निर्माणका विभिन्न योजना पनि ल्याइएका छन् ।

विश्वमै जल यातायातपछि रेल यातायातलाई सस्तो मानिन्छ । वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह (आईसीडी)सम्म कार्गो रेलको सुविधा छ । यहाँ गाडीमार्फत पनि कार्गोहरु आउजाउ गर्छन् ।

वीरगञ्ज नाकाबाट सवारी साधन तथा पाटपूर्जा, पेट्रोलियम पदार्थ, पत्थर कोइला, फलाम, पाइप, सिमेन्ट क्लिंकर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेशिनरी तथा कच्चा पदार्थ बढी आयात हुन्छ । यसैगरी फिड सप्लिमेन्ट, स्पोर्ट सुज -सेन्थेटिक सूज), जुस जाम, खुदो, आल्मुनियम छड डण्डी, जमोठ कपडा, हाते झोलालगायत सामान यहाँबाट बढी निर्यात हुन्छन् ।

६२ विगाहा जग्गा अधिग्रहण गरिँदै

०७४ चैतदेखि सुविधासम्पन्न एकीकृत भन्सार जाँच चौकी आईसीपी सञ्चालनमा आएको छ । तर, यो आईसीपी निर्माण नसकिँदै साघुँरो भइसकेको छ ।

अपुग संरचनासहित गोदामहरु थप्ने योजना बनाइएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले बताए । वीरगञ्ज भन्सारलाई आधुनिक र सहज सुविधासहित बनाउन लगातार प्रयास भइरहेको उनको भनाइ छ ।

आईसीपी र आईसीडीबीचमा रहेको ६२ विगाह जमिन अधिग्रहण गरेर भन्सार सुविधा स्तरीकरण गर्दै ‘कार्गो हब’ बनाउने लक्ष्य सरकारको छ । यसका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु भइसकेको बताउँछन् । सुख्खा बन्दरगाह कार्यालयका प्रमुख सुर्य सेडाई । वीरगञ्ज सबैभन्दा आधुनिक र सुविधायुक्त कार्गो हब बन्ने दावी उनको छ ।


‘ड्राईपोर्ट र आईसीपी अहिले नै देशका अन्य भन्सारभन्दा आधुनिक र पूर्वाधारयुक्त छन्, यसै आर्थिक वर्षभित्र ६२ विगाहा जमिन अधिग्रहण भइसक्छ,’ उनले भने ‘त्यसपछि रेल लाइन थप्न र गोदाम, सेडजस्ता पूर्वाधार निर्माण गर्न पर्याप्त ठाउँ हुन्छ । यहाँ हामीले धेरैभन्दा धेरै कार्गो भित्र्याउन सक्छौं ।’
नाकाबन्दीपछि वीरगञ्ज हुँदै भारत तथा तेस्रो मुलकबाट हुने आयातको वृद्धिदरमा कमी आए पनि अहिले बढ्न थालेको भन्सारका अधिकारीहरु बताउँछन् ।

हेटौंडा, चितवन, काठमाडौं, पोखरालगायतका सहरमा सामान पैठारी गर्नका लागि वीरगञ्ज नाका सहज छ । कोलकात्ता बन्दरगाहसँग अन्य नाकाभन्दा वीरगञ्ज नजिक पर्छ । वैदेशिक व्यापारका लागि नेपालले प्रयोग गर्ने समुद्री बन्दरगाह कोलकाता र विशाखापट्नम हुन् ।

नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि वीरगञ्ज क्षेत्रकै उत्पादनले ओगटेका छन् । कुल वैदेशिक व्यापारको ६० प्रतिशत र औद्योगिक लगानीको ७० प्रतिशत हिस्सा वीरगञ्ज क्षेत्रले नै समेट्ने दावी स्थानीय उद्योगी व्यवसायीहरु गर्छन् ।

भन्सार एकीकरणको योजना

हाल वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले आ-आफ्नै तवरबाट सेवा दिँदै आएका छन् । अब दुबैलाई गाभेर एकीकृत भन्सार सेवा प्रदान गर्ने लक्ष्य राखिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले बताउँछन् ।


अहिले वीरगञ्ज भन्सार कार्यालयमा सहसचिवकै दरबन्दी सिर्जना गरेर भण्डारीलाई त्यहाँ पठाएको हो । उनी मातहतमा २ उपसचिवलाई भन्सार अधिकृतका रुपमा राखिएको छ । यसअघि उपसचिवले यो भन्सारको नेतृत्व गरिरहेका थिए ।

सुख्खा बन्दरगाह भन्सारमा उपसचिवकै कमाण्डमा छ । दुबैलाई एकीककरण गरेर एउटै कार्यालयका रुपमा सञ्चालन गर्न सेवा अझै प्रभावकारी बन्ने विश्वास अर्थ मन्त्रालयको पनि छ ।

आईसीपीमा वीरगञ्ज भन्सार

कुनै बेला तिब्बतको भोटसँग नेपालको व्यापार ठूलो परिमाणमा हुन्थ्यो । तर, त्यता ब्यापार घट्दै गएपछि नेपाल भारततर्फ लहसियो ।

यसैक्रममा ‘वीरगञ्ज बजार अड्डा’ स्थापना भयो । त्यसैमार्फत कर तिरेर भारतबाट नेपालमा सामान भित्रिन्थ्यो । वि.सं. २०१३ सालमा सो अड्डा ‘वीरगन्ज भन्सार कार्यालय’ मा रुपान्तरण गरियो । विसं २०१९ सालमा भन्सार ऐन जारी भयो । त्यसपछि वीरगञ्ज भन्सार अझै आधुनिक बन्यो । ब्यापारका लागि सहज नाका भएकाले वीरगञ्ज सरकार र ब्यापारी दुबैको प्राथमिकतामा रहिरह्यो ।


रक्सौलबाट अमलेखगञ्जसम्म चल्ने रेलले वीरगञ्जलाई काठमाडौंसँगको दूरी छोटो बनायो । यसकै आडमा वीरगञ्ज भन्सारले आफ्नो प्रभावकारिता बढाएको छ । यसलाई स्तरीकरण गर्ने योजना बनाएर सरकारले भारत सरकारको सहयोगमा गत चैतबाट एकीकृत जाँच चौकी सञ्चालनमा ल्याएको हो । यहीँ अहिले वीरगञ्ज भन्सार कार्यालय छ । वीरगञ्जबाट रक्सौल छिर्ने नाकामा यसअघि भन्सार रहेको कार्यालयमा पनि पट्रोलियम पदार्थ, साना ब्यापारीले ल्याउने सामानको जाँचपासको काम भइरहेको छ । मालबाहक ट्रकहरु भने आईसीपीमै लगिन्छ ।

नेपाल-भारत सीमामा बनाइएको यो आईसीपीले वीरगञ्ज बजारमा सवारीको चाप घटाएको छ । मालबाहक सवारी वीरगञ्ज बजार क्षेत्रमा आउनुनपर्ने भएकाले यसले सवारीलाई लामो जाममा बस्नुपर्ने बाध्यता पनि हटेको भण्डारी बताउँछन् ।

भन्सार प्रमुख भण्डारी

भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ, यो जाँच चौकी ।

यो भन्सारको आधुनिक अवधारणा हो । दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणा अनुसार चौकी सञ्चालनमा ल्याइएको छ । यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुनुका साथै खुला नाकामा हुने अवैध गतिविधिमा पनि कमी आएको अधिकारीहरु बताउँछन् ।

आईसीपीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र बनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा छन् । आईसीपी सञ्चालनमा आएपछि अहिले वीरगञ्ज र रक्सौल भन्सार नाकामा देखिएजस्तो मालवाहक सवारीसाधनको जाम र कमिसनको खेल घटेको अनुभव आपूर्तिकर्ताले पनि गरेका छन् ।

तर, भारतीय भन्सारतर्फ लामो समय अल्झाएर पार्किङ शुल्क बढी असुल्ने क्रम अझै नरोकिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको गुनासो छ ।

आईसीपीलाई नै लक्षित गरेर वीरगञ्ज-पथलैया सडक ६ लेनको बन्दै छ । त्यसैले आईसीपीसम्मको आवागमन अहिले निकै सहज छ । नेपालमा मालसामान खन्याएर फर्किने ट्रकलाई पनि अब आईसीपीबाटै फिर्ता जाने सुविधा दिइएको भन्सार प्रमुख भण्डारीले बताए ।

सुख्खा बन्दरगाह

वीरगञ्जको अर्को भन्सार कार्यालय सुख्खा बन्दरगाह त्यति पुरानो होइन । १८ वर्षअघि विश्व बैंकको ऋण सहयोगमा करिब ८२ करोडको लागतमा यसको निर्माण भएको हो ।


भारत सरकारको २० करोड अनुदानमा रक्सौलदेखि कार्यालयसम्म रेल पनि जोडिएको छ । रक्सौलबाट सामान लिएर आउने रेल सीधै बन्दरगाहसम्मै आउँछन् । यो अलग्गै अस्तित्व भएको भन्सार कार्यालय हो । बल्क कार्गोमार्फत सामान ढुवानी गर्न सक्ने बन्दरगाहले नाकाबन्दीको समयमा ठूलो टेवा दिएको थियो ।

बन्दरगाह भाडामा लिएको हिमालयन टर्मिनलले नै अहिलेसम्म पनि सम्झौता थप गरेर त्यसको व्यवस्थापनको जिम्मा लिएको छ । उसैले त्यहाँ आउने कन्टेनरको व्यवस्थापन गर्छ र सामान ल्याउन रेल सुविधा लिने ब्यापारीलाई सहजीकरण गर्छ ।

बन्दरगाहका भन्सार प्रमुख सेडार्इ

नेपालको पहिलो सुख्खा बन्दरगाह ३८ हेक्टर जमिनमा फैलिएको छ । मालवस्तु रहने ठूला २ र साना २ गरी ४ गोदाम घर, टर्मिनल भवन १, वेटिङ बि्रज, बैंकिङ सुविधा, ६ वटा रेल एकैपटक पार्किङ गर्ने क्षमता यसको छ ।

आधुनिक उपकरणहरुको प्रयोग हुने भन्सारमा सरल तथा आधुनिक भन्सार जाँचपास प्रणालीको सुविधा छ । सुख्खा बन्दरगाहले भारत तथा तेस्रो मुलुकसितको व्यापारलाई बढाएको छ । तर, यसको भौतिक पूर्वाधारको पूर्ण प्रभावकारिता र सुधार, रेल्वे सेवा, जरीवानाको भार लगायतमा आयातकर्ताले गुनासो गर्छन् ।

यो कार्यालयबाट ठूलो परिमाणमा आउने चिनी, मल, फलाम, कोइला लगायतका पदार्थ नेपालमा भित्रिन्छन् ।

विशाखापटनम्र पोर्टकाे प्रयोग सुरू भएपछि बन्दरगाहबाट हुने अायात बढेको प्रमुख सेडार्इले बताए । उनकाअनुसार कम भन्सार दरका सामन यो भन्सारबाट भित्रिने भएकाले भन्सार रकम भने केही कम उठ्ने गरेको बताए । तर, सामानको  परिमाणका अाधारमा बन्दरगाह तेस्रो ठूलाे भन्सार भएको उनले बताए ।

थप फोटोमा हेर्नुस् बन्दरगाह र अाइसीपी







फोटोः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment