दशैंको विशेषता हो, राम्रो लगाउने र मीठो खाने । खानु र लाउनु जीवनशैलीको एक महत्वपूर्ण पाटो हो । यसर्थ दशैं, जीवनशैलीसँग जोडिएको पर्व पनि हो । यो पर्वमा आफुभन्दा ठूला वा गन्यमान्यबाट आर्शिवाद लिइन्छ । आर्शिवाद पनि स्वस्थ्य, सन्तुलित र सुखी जीवनशैलीसँग सम्बन्धित हुन्छ ।
आर्शिवादमा पौराणिक पात्रहरुको विशेषता एवं गुणलाई तुलना गर्दै यसो भनिएको छ, ‘दो्रण पुत्र अस्वत्थामाको जस्तो आयु होस्,दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्ण झै दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठरको जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस् ।’
तर, आर्शिवादले मात्र प्रशिद्धि मिल्ने होइन, सुख मिल्ने होइन, दीर्घजीवन मिल्ने होइन । यसका लागि हामीले कस्तो जीवन बाँच्चौं, त्यही नै निर्णयक हुन्छ ।
हामी निश्चित आयु लिएर जन्मन्छौं । जन्मेपछि मर्नैपर्छ । तर, हामीले जन्मजात जति आयु लिएर आएका हुन्र्छौं, त्यसको पुरा अवधी बाँच्न पाउँदैनौ/सक्दैनौं । किनभने जीवन जिउने क्रममा हामीलाई अनेकन रोग लाग्छ । अनेकन शारीरिक, मानसिक झन्झट आइलाग्छ । यस्ता विकारले हाम्रो आयु खियाइदिन्छ । हामी निश्चित अवधीभन्दा अगाडि नै देहत्याग गर्न बाध्य हुन्छौं ।
अर्कोतिर, जति बाँचिन्छ, त्यस अवधीभर स्वस्थ्य जीवन बाँच्न पनि सक्दैनौं । जीवनको उत्तरार्द्ध रोगले थलिएर, जीर्ण भएर कष्टकर जीवन बाँच्छौं ।
आखिर मानिस आफ्नो पुरा आयु कसरी बाँच्न सक्छ ? उसलाई बाँच्नको लागि के ले प्रेरित गर्छ ? जापानका फिजिसियन डाक्टर डा. सिगेकी हिनोहारासित यसको राम्रो जवाफ छ ।
सन् १९११ अक्टोबर ४ मा जन्मेका डा. हिनोहारा उनै व्यक्ति हुन् जसले एक सय पाँच वर्षको उमेरसम्म पनि सकि्रय जीवन बाँचे । उनको मृत्यु गत वर्ष जुलाई १८ तारीखका दिन जापानमा भएको थियो ।
दीर्घायु विशेषज्ञ भनेर पनि चिनिने हिनोहाराले ‘लामो तथा सुखी जीवन कसरी जिउने’ भन्ने विषयमा १५० भन्दा बढी पुस्तक लेखिसकेका छन्, जसमा ‘लिभिङ्ग लंग, लिभिङ्ग गुड’ पनि सामेल छन् । उनै हिनोहाराले लामो तथा स्वस्थ जीवन बाच्नका लागि दिएको सुझाव यसप्रकार छ ।
खानको लागि बाँच्ने हैन, बाँच्नको लागि खाने
डा. हिनोहारा स्वस्थ जीवन बाँच्नका लागि फिट रहनुका साथै बाँच्नको लागि खान सल्लाह दिन्छन् । उनी भन्छन्, स्वस्थ्य जीवन बाँच्नका लागि शारीरीक रुपमा सक्रिय हुन जरुरी छ । र, सकि्रय जीवन बाँच्नका लागि स्वस्थकर खानेकुरा खान जरुरी छ ।
त्यसैले त, उनी विहानको नास्तामा फलफुलको जुसको साथमा कफी र केही चम्चा ओलिभ आयलको सेवन गर्थे । मुटुको धमनीको लागि राम्रो मानिने ओलिभ आयल (जैतुनको तेल)ले छालालाई स्वस्थ राख्न पनि सहायता प्रदान गर्छ ।
डा. हिनोहारा दिउँसोका खानामा दूधका साथमा केही कुकिज खान्थे । बेलुकीको खानामा थोरै चामलको साथमा, हरिया सागसब्जी तथा माछा खान रुचाउँथे । उनी भन्ने गर्थे, ‘सातामा कम्तीमा दुई पटक सय ग्राम ताजा मासु खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ’ ।

चिकित्सकले भनेका सबै कुरामा विश्वास नगर्ने
जापानीज चिकित्सक हिनोहारा आफै पनि फिजिसियन डाक्टर थिए । तथापी, उनी चिकित्सकको प्रत्येक कुरालाई आँखा चिम्लेर विश्वास नगर्न सुझाव दिने गर्थे । उनी भन्थे,’ चिकित्सकले भनेको सबै आँखा चिम्लेर मान्दैमा स्वस्थ भइदैन । बरु यसले नकारात्मक असर गर्न सक्छ ।’
विज्ञान मात्रले सबै रोगको उपचार सम्भव छैन
डा. हिनोहाराका अनुसार विज्ञान मात्रले सबै रोगको उपचार सम्भव छैन । उनका अनुसार कुनै पनि रोगको उपचारका लागि मोहक दृश्य तथा कला-मनोरञ्जन पनि उत्तिकै जरुरी छ । वाह्य कुरामा उन्मुक्त रमाएर पनि हामी आफ्नो जीवन स्वस्थ्य राख्न सक्छौं ।
योजनावद्ध तरीकाले काम गर्ने
योजनावद्ध तरीकाले काम गरेको खण्डमा मस्तिष्क स्वस्थ रहनुका साथै यसले सफल जीवन जिउनमा सहायता प्रदान गर्छ । डा. हिनाहिरोले सन् २०२० का ओलम्पिक खेलका लागि पहिले नै एउटा सीट बुक गरेका थिए । यसको अर्थ, कुनैपनि कुरा योजनावद्ध वा शिलसिलावद्ध भयो भने समय व्यर्थ नष्ट हुँदैन । जीवनको लय पनि विग्रदैन ।
दुख, पिडा रहस्यमयी छ
डा. हिनोहाराले बताएका थिए कि, मानिसको जीवनमा आइपर्ने दुःख, पीडा आफैमा रहस्यमयी छ । र, म्युजिक सुन्ने, घर पालुवा जनावरसित खेल्ने लगायतको सामान्य कुराले पनि यसलाई निको पार्न सक्छ ।
अरुबाट प्रेरणा लिने
राम्रो काम गर्न प्रेरित हुन जीवनमा अरुबाट प्रेरणा लिन जरुरी छ । अरुको सफलता, अरुको खुसी, अरुको प्रगति, अरुको उन्नती, अरुको कलाबाट पनि हामीले प्रेरणा लिनुपर्छ ।
जीवनको आनन्द लिने
सफलतापूवर्क जीवन बाँच्ने हो भने जीवनको भरपूर आनन्द लिन जरुरी छ । र, डा. हिनोहारालाई राम्ररी थाहा छ, जीवनको आनन्द कसरी लिनुपर्छ । र, जीवनको आनन्द लिन दैनिक करिब १८ घण्टा काम गर्ने हिनोहारा आफूले सकेको योगदान समाजलाई दिनसमेत पछि पर्दैनन् ।
सामान बोक्ने र खुड्किला उक्लने

शरीरलाई स्वस्थ राख्न भर्याङ्गको ठूलो महत्व छ । उक्लिन तथा ओर्लिनको लागि लिˆटको सट्टा भर्याङ्गको गर्नाल शरीरलाई सही आकारमा राख्न तथा विभिन्न किसिमका रोग लाग्नबाट बच्न सकिन्छ । त्यसैले डा. हिनोहारा आˆनो मांसपशीलाई मजबुत राख्न पनि एकै पटकमा दुईवटा सम्म खुट्किला उक्लने गर्छन् ।
चिन्ता त्याग्ने
भनिन्छ, चिन्ताले नै मानिसलाई चितातिर डोहर्याउँछ । त्यसैले, शरीरलाई स्वस्थ राख्न पनि चिन्ता त्याग्न जरुरी छ । हिनोहारा भन्छन्, जीवन घटनाहरुको अप्रत्याशित श्रृंखला हो । त्यसैले, हामीले जीवनमा आइपर्ने कुराको चिन्ता गर्न छाड्नु पर्छ । चिन्ताले डिप्रेशनका साथै थप समस्या खडा गर्छ । त्यसैले, सकारात्मक सौचौ, स्वस्थ जीवन बाचौ ।
ज्ञान बाड्ने
अरुलाई उत्प्ररित गर्नकै ला गि डा. हिनोहारा प्रत्येक वर्ष जापानका विभिन्न भाग पुग्ने गर्छन् । र, त्यहाँका स्थानीयलाई उनी जीवनबारे सय भन्दा बढी लेक्चर दिने गर्छन् । सो क्रममा उनी आˆना अडियन्सहरुलाई उठेर सुन्न अभिप्रेरित गर्छन् । साथै,सय वर्षको आयु हुँदासम्म पनि उनी उठेरै सबैलाई ज्ञान बाढ्ने गर्थे ।
पैसाको पछाडि नलाग्ने
हातको मैला हो पैसा । पैसाको पछाडि दौडनाले काहीँ कतै पुगिदैन । र, जीवनको अन्तिम क्षणमा लाखौं रुपैयाँ लिएरजान पनि सकिदैन । त्यसैले, पैसाको पछाडि नलागौं । केही रमाइलो गर्न सिकौ ।
रोल मोडल खोज्ने

डा. हिनोहारा भन्छन्, जीवनमा सफलता प्राप्त गर्नु छ कम्तीमा एकजना रोल मोडेल हुन आवश्यक छ । किनकी जब हिनोहारालाई समस्या आइपथ्र्यो उनी आफैलाई प्रश्न गर्थे । भन्थे, ‘यस परिस्थितिमा मेरो पिता भएको भए उनी के गर्थे होलान् ?’ यस प्रश्नले उनलाई उत्तर दिलाउनमात्र हैन, समस्याको तत्काल समाधानमा पनि सहायता प्रदान गथ्र्योे ।
रिटायर्ड नबस्ने
डा. हिनोहारा भन्छन्, शरीरीक रुपमा फिट तथा मानसिक रुपमा सबल व्यक्तिले कामबाट कहिल्यै रिटायर लिनु हुँदैन । किनकी रिटार्यड जीवजनले मानिसलाई निस्क्रिय तथा बोधो बनाउँनका साथै जीवनलाई अर्थहीन बनाउन सक्छ ।
त्यसैले, सफल तथा सुखमय जीवन जिउनका लागि पनि जीवन तथा कामलाई निरन्तरता दिन आवश्यक छ ।
प्रतिक्रिया 4