१९ असोज, काठमाडौं । नक्कली एटीएम कार्ड बनाएर लाखौं चोरी गर्ने गिरोहको थप दुई जना सदस्य पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको विशेष टोलीले २५ भदौमा समातिएका भारतीय नागरिक जिन्टु जोय नेतृत्वको गिरोहका थप दुई सदस्यलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक अलाउदिन खान र उनकी श्रीमती मिना नेपाली छन् । उनीहरुले जिन्टु गिरोहको चोरी धन्दामा सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले नेपाल इन्भेस्टमेन्टबाट बंगलामुखी फेसन सेन्टरको नाममा पीओएस मेसिन लिएर जोयलाई प्रयोग गर्न दिएको काठमाडौं प्रहरीका डिएसपी होमेन्द्र बोगटीले बताउँछन् ।
जोय गिरोहले नक्कली एटीएम कार्ड बनाएपछि त्यो पीओएस मेसिनमा स्वीप गरेर रकम निकालिएको भेटिएको बोगटीले अनलाइनखबरलाई बताए ।
यो गिरोहले १४ लाख रुपैयाँ चोरी गरेको भेटिएको थियो । प्रकरणमा संलग्न थप दुई जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको परिसरले जनाएको छ ।
दुई फरार अभियुक्त पनि समातिए
काठमाडौं प्रहरीले एटीएमबाट रकम चोरीमै संलग्न अर्को घटनाको दुई अभियुक्तलाई पक्राउ पनि पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को खोजी सूचीमा रहेका भारतीय नागरिक विजयकुमार र महमद आरिफ छन् । उनीहरु भारतको पुने, महाराष्ट्र निवासी हुन् ।
उनीहरुको कसुरमा उच्च अदालत, पाटनले २२ लाख रुपैयाँ धरौटी माग गरेको परिसरले जनाएको छ ।
‘हामीले फेला पारी उनीहरुलाई कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पठाएका छौं’, डिएसपी बागटीले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4