Comments Add Comment

चार दिवारभित्र दमित यौनकुण्ठा

कैदीले गरे सेक्स टोयको माग

२१ असोज, काठमाडौं । कारागार अर्थात प्रमाणित अपराधी तथा विभिन्न अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएकाहरुको चार दिवारभित्रको क्षेत्र । यो ठाउँ विलासी वा भौतिक सुविधासम्पन्न हुने कल्पना पक्कै कसैले गरेका हुन्न ।

तर, यतिसम्म पनि कल्पना गरिँदैन कि कारागारभित्र आधारभूत मानवीय आवश्यकताहरुले पनि निकास नपाउन् । मानवअधिकारवादीहरु भन्छन्, कम्तिमा ‘मानिस’को रुपमा बाँच्न त पाउनुपर्छ कारागारभित्र पनि ।

कुनै बेला झ्यालखाना भनिन्थ्यो । अहिले ‘सुधारगृह’को अवधारणा आएको छ । १ भदौबाट लागू भएको मुलुकी संहितामा ‘खुल्ला जेल’को परिकल्पनासमेत गरेको छ ।

कारागारको विषयमा विश्वव्यापी चिन्तनमा परिवर्तन आउँदै गर्दा नेपालको अवस्था के छ त ? गत साउनसम्मको तथ्यांकले भन्छ, हामी कहाँ १९ हजार कैदीबन्दी विभिन्न अपराधमा सजाय काटिरहेका छन् । तर, देशभर कारागार जम्माजम्मी ७४ वटा मात्र छन् । कारागार पर्याप्त नहुँदा क्षमताभन्दा चार गुणासम्म बढी कैदी कोच्नुपरेको छ ।

कैदीबन्दीले पेटभरी गाँस पाएका छन् । जे-जस्तो भए पनि बास पाएका छन् । बिरामी पर्दा उपचारको व्यवस्था गरिन्छ । बर्षमा दुई जोर लुगाफाटो दिइन्छ । सायद राज्यले बुझेको कुरा, एउटा मानिसलाई बाँच्नका लागि यति भए पुग्छ । तर, अधिकारकर्मी ढुक्क छैनन् । संशय बोकेर उनीहरु बेलामौकामा कारागारको छिँडी नियाल्न पुग्छन् । कैदीको कुरा सुन्छन् । गाँसवासको अवस्था हेर्छन् । प्रतिवेदन तयार गर्छन् र बुझाउँछन् ।

यावत् कर्मकाण्डले कैदीबन्दीको भौतिक जीवन केही सुधार र सहज नभएको होइन, तर मानवीय आवश्यकताको एउटा पाटो भने उपेक्षित छ ।
पूर्वी तराईका आधा दर्जन कारागार अवलोकन गर्दा हामीलाई महसुस भयो कि कैदीहरु आफ्ना यौन कुण्ठालाई पनि त्यहीँभित्र कैद गरेर बसेका छन् । मनोविज्ञहरु भन्छन्, ‘कुण्ठा एक डरलाग्दो मानसिक विकार हो । यस्तै विकारले मान्छेलाई अपराधकर्ममा धकेल्छ ।’

कारागारभित्रका कैदी अनेकन मनोदशामा भेटिन्छन् । कतिलाई जेलमै आफ्नो जीवन सड्ने भयले सताइरहेको हुन्छ । समाजले सँधै अपराधीकै ट्याग भिराइदिने आशंकाले पिरोलिएका हुन्छन् । कसैमा घरपरिवारले तिरस्कार गर्ने चिन्ता पाइन्छ । अनि जेलमुक्त भइसकेपछि कसरी नयाँ जीवन सुरु गर्ने भन्ने व्यग्रता पनि । र, अधिकांशमा साझा भेटिन्छ यौनकुण्ठा, जसलाई उनीहरु लामो समयसम्म दवाएर राख्न विवश हुन्छन् ।

केही बर्षअघि चितवन कारागारका कैदीबन्दीले कारागारभित्रै ‘सेक्सुअल राइट्स’ मागेको प्रसंग चर्चामा आएको थियो । स्थानीय प्रशासन र मानवअधिकारवादी सम्मिलित टोलीससमक्ष उनीहरुले यौन अधिकारको कुरा उठाएका थिए ।

कतिपय कैदीले बाहिरी प्रशासनसम्म पहुँच पुर्‍याएर यौन सम्बन्धका लागि कारागारबाहिर जाने गरेको खुलासा भएको थियो । केही समयअघि कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागेको हल्ला चलेपछि यस्तो रहस्य खुलेको हो । खासमा उनलाई यौन सम्पर्ककै लागि एउटा होटलमा पुर्‍याइएको र त्यहीँबाट उनी भागेको खबर बाहिरिएको थियो । उनलाई यौनइच्छा पूर्ति गराउनका लागि कारागारभित्र र बाहिरका प्रशासनको मिलेमतोमा पटक-पटक होटलमा पुर्‍याइने गरेको खबरहरुमा उल्लेख छ ।

काठमाडौंको केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका सुनील तामाङ बागबजारस्थित गेस्ट हाउसमा युवतीहरुसँगै फेला परेका थिए । प्रहरीसँगै निस्किएका उनलाई त्यसबेला बागबजारको लोटस गेस्ट हाउसको कोठामा भेटिएको थियो ।
सेक्स टोयको माग

यौनलाई छाडा वा घृणित कर्म मान्ने सामाजिक मनोविज्ञानले कैदीहरुलाई थप खुम्चाएको छ । त्यसै त कैदीबन्दी, त्यसमाथि यौनको कुरा गर्दा दुनियाले दुत्कार्ने हो कि भन्ने ठूलो भय छ ।

गाइघाट कारागारमा भेटिएका एक कैदी युवा भन्दै थिए, ‘सेक्सको फिलिङ्स त आउँछ, तर के गर्नु ? सबै एकै ठाउँ बस्नुपर्छ । ट्वाइलेट गएर हस्तमैथुन गर्न पनि त्यति सहज हुँदैन ।’

लागुऔषध दुर्व्यसनले उनलाई कारागारको छिंडीमा पुर्‍याएको हो । उमेरले २४ टेकेका उनको अनुभव थियो, ‘ड्रक्स लिएको बेला दायाँबायाँ केही सोच आउँदैन । सेक्सको फिलिङ्स पनि आउँदैन । तर, यहाँ आइपुगेपछि त्यो कुलत छाडियो । यतिबेला सेक्समा बढी ध्यान जान्छ ।’

झापाको चन्द्रगढी कारागारका कैदीको भनाइ पनि करिब मिल्दो छ । उनले भनेका थिए, ‘विदेशको कतिपय कारागारमा सेक्स टोयको व्यवस्था गरिएको भनेर हामीले पत्रिकामा पढेका छौंं । हाम्रोमा पनि त्यस्तै व्यवस्था भइदिए हुन्थ्यो ।’

यौन जैविक आवश्यकता हो । यौन-बर्जित जीवनको परिकल्पना गर्न नसकिने मनोविज्ञ करुणा कुँवर बताउँछिन् । ‘मानव जीवनलाई यौनबाट अलग राख्न गाह्रो मात्र होइन, असम्भव पनि हुन्छ,’ उनी भन्छिन्, ‘निश्चित उमेर पुगेपछि यो कुरा हाम्रो शरीरले नै डिमान्ड गर्छ ।’

एकाधले ‘वाथरुममा गएर हस्तमैथुन गर्ने’ बताए पनि धेरैजसोले त्यो पनि अनुकुल नहुने जवाफ दिए । खासगरी विवाहित पुरुषहरु आफ्ना पार्टनरसँगको यौन-जीवनबारे सोच्दा रहेछन् ।

हुन त योग-ध्यानको विधीबाट यौन चाहनाको व्यवस्थापन गर्न सकिने ओशो ध्यान केन्द्रका गुरु सुवासचन्द्र वडाल बताउँछन् । ‘तर कारागारमा जीवन गुजारिरहेकाहरुका निम्ती त्यो अभ्यास आफैंमा पूर्ण र सहज नहुन सक्छ’ उनी भन्छन्, ‘किनभने ध्यान वा समाधिमा नपुगी सेक्सुअल म्यानेज गर्न सम्भव हुन्न । जबकी त्यसका लागि कारागारमा उपयुक्त वातावरण नै हुँदैन ।’

हामीले थुप्रै कैदीबन्दी भेट्यौं, जो आफुमा तीव्र यौन चाहना हुने बताउँथे । उनीहरु भन्थे, ‘केटा-केटाको भीडमा थुनिएका छौं । बर्षौंसम्म महिलाको अनुहार देख्न पाइँदैन । यस्तो अवस्थामा अझ बढी यौनप्रति चासो र कौतुहलता हुने रहेछ ।’

हामीले सोध्यौं, यौन चाहना भएमा त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

उनीहरुसँग जवाफ थिएन । एकाधले ‘वाथरुममा गएर हस्तमैथुन गर्ने’ बताए पनि धेरैजसोले त्यो पनि अनुकुल नहुने जवाफ दिए । खासगरी विवाहित पुरुषहरु आफ्ना पार्टनरसँगको यौन-जीवनबारे सोच्दा रहेछन् । गाइघाट कारागारका एक कैदीले सुनाए, ‘विवाह गरेको धेरै समय बित्न नपाई ज्यान मुद्दामा जेल परियो । श्रीमतीको सम्झनाले बढी पिरोल्छ ।’

मनोविद कुँवरको भनाइअनुसार दम्पत्तीबीचको यौन सम्बन्धले उनीहरुको यौनतृष्णाको परपूर्ति मात्र भइरहेको हुँदैन, मानविय प्रेम र आत्मियताको भाव पनि पैदा हुन्छ । ‘पार्टनरको न्यानो स्पर्शका लागि मात्र पनि धेरैजसो लालयित हुने गर्छन्,’ उनी भन्छिन्, ‘यसले उनीहरुमा प्रेम-भाव, ममता, करुणा पैदा हुन्छ ।’

यौनरहित जीवनका ‘साइड इफेक्ट’

मनोविदकाअनुसार जब आफ्ना पार्टनरबाट बर्षौं बिच्छेद भएर वा यौन जीवनबाट अलग भएर बस्नुपर्छ, त्यसले स्वभाविक रुपमा तनाव पैदा गर्छ ।

‘यसले एक किसिमको छ्टपटी हुन्छ’ कुँवर भन्छिन्, ‘त्यही छटपटीले तनाव पैदा गर्छ र तनावले उनीहरुलाई मनोरोगी बनाउँछ ।’

यौन-रुची र त्यसले निम्त्याउने तनाव व्यवस्थापन गर्ने विधी भनेकै शारीरिक सम्पर्क वा हस्तमैथुन हो । कारागारमा दुबै कुरा सम्भव हुन्न ।

योग गुरु बडाल भन्छन्, ‘हामीमा जाग्ने यौन इच्छा पनि एक किसिमको इनर्जी हो । शरीरमा यस्ता सात वटा चक्र अर्थात सात वटा इनर्जी लेभल हुन्छन् । त्यसमध्ये दोस्रो लेभलको इनर्जी प्वाइन्टसँग यौन जोडिन्छ । यो इनर्जीलाई हामी वेवास्ता गर्न सक्दैनौं । यसलाई रोक्नुपर्दा कुनै न कुनै कुलतमा फस्ने खतरा हुन्छ । कुलत लागुऔषध मात्र होइन, अरु थुप्रै कुराको हुनसक्छ ।’

कामेच्छालाई अन्यत्र मोड्न नसिकने भने होइन । कुनै सिर्जनशील काममा ध्यानमग्न हुँदा पनि यौन-इनर्जी त्यसतर्फ मोडिने बडालको भनाइ छ । तर, अधिकांश कैदीवन्दीलाई रचनात्मक काममा डुब्नका लागि कारागारको माहौल उपयुक्त नहुने उनले बताए ।

हुन त कारागारले कतिलाई साधक पनि बनाएको पाइन्छ । विश्वका महान् ग्रन्थहरु कारागारभित्रै रचिएका छन् । तर, त्यसका लागि व्यक्ति विशेषको अविछिन्न प्रयास अपरिहार्य हुन्छ । अहिले थुप्रै कारागारमा पुस्तकालयको व्यवस्था छ । खेलकुदको लागि निश्चित ठाउँको व्यवस्था छ । बेलाबखत योग-ध्यानका शिविर पनि सञ्चालन गरिँदै आएका छन् ।

यौन मानव जीवनसँग जोडिएर आउने अभिन्न पाटो भए पनि यो निर्विकल्प भने नभएको वडालको भनाइ छ । उनी भन्छन्, ‘योगी, सन्तहरुले बम्हचर्य पालना गरेका थिए । अर्थात् उनीहरुले जीवनभर यौन सम्बन्ध राखेनन् । तर, उनीहरु योग, ध्यान, समाधीबाट कामोत्तेजनाको व्यवस्थापन गर्थे ।’

गृह मन्त्रालयबाट पारित भएर कार्यविधि पारित भएपछि कैदीवन्दीले सन्तान उत्पादनका लागि यौन सम्पर्कको मौका पाउनेछन् ।

मनोविद कुँवरको बुझाइमा मनलाई मनोरञ्जन, खेल, साहित्य वा अरु कुरामा लगाएर पनि यौन-इच्छा कम गर्न सकिन्छ । उनी भन्छिन्, ‘कारागारमा यौन सम्पर्क गर्न सम्भव हुँदैन । जुन कुरा सम्भव हुँदैन त्यसको इच्छा गर्नु भनेको थप तनाव निम्त्याउनु हो । त्यसैले यस्ता इच्छालाई त्यागेर मनलाई अन्यत्र मोड्नुपर्छ ।’

प्रजनन अधिकारको प्रश्न

त्यसो त कारागार व्यवस्था विभागले कैदीबन्दीका निम्ति प्रजनन हक अन्तर्गत सहवासको वन्दोवस्त मिलाउने प्रयास पनि गरिरहेको छ । तर, यस्तो सुविधा त्यस्ता कैदीले भोग गर्न पाउनेछन्, जसले भर्खरै विवाह गरेका छन् र सन्तान भएका छैनन् । उनीहरुले सन्तान जन्माउने ध्येयले आफ्ना पत्नीसँग शारीरिक सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइँदैछ ।

‘यसका लागि हामीले कार्यविधी बनाइरहेका छौं’ कारागार व्यवस्था विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवाल भन्छन्, ‘ऐन-नियममा आएपछि त्यो कार्यान्वयन हुन्छ ।’

कार्यविधि बनेपछि गृह मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पारित भएर निर्देशिका कार्यान्वयनमा आउनेछ । त्यसपछि भने कैदीवन्दीले सन्तान उत्पादनको मौका पाउनेछन् । महिला कैदीबन्दी भए उनका श्रीमान् र पुरुष कैदीबन्दी भए उनकी श्रीमतीलाई ल्याइने छ ।

चिकित्सकबाट दुवैको स्वास्थ्य-परीक्षण गराइनेछ । त्यसपछि उनीहरुलाई आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउनेछन्, कारागारले उपलब्ध गराउने स्थानमा ।

यद्यपि यसको तत्काल कार्यान्वयन भने चुनौतिपूर्ण छ । ‘कानुनी व्यवस्था भइसकेपछि पनि संरचना निर्माणको कुरा आउँछ । अहिले तत्काल यसलाई कार्यन्वयनमा लान गाह्रो छ’ सूचना अधिकारी कटुवालले भने ।

कारागार व्यवस्था विभागले कैदीबन्दीको यौन इच्छा मेट्नका लागि नभई प्रजनन हकको रक्षा गर्नका लागि यस्तो व्यवस्था ल्याउन लागेको हो ।
के त्यसो भए अन्य कैदीको यौनरुचीबारे कुनै पहल हुँदैन ? सूचना अधिकारी कटुवालले भन्छन्, ‘कारागार मनोरञ्जन गर्ने ठाउँ होइन । यदि यौनचाहना हुन्छ र यौन सम्बन्ध बनाउन मन लाग्छ भने अपराध नै गर्नु भएन नि ।’

अपराधशास्त्री रजितभक्त प्रधनाङ्गको धारणा अलि फरक छ । उनी भन्छन्, ‘मानव अधिकारको कोणबाट अहिले केही खुकुलो हुँदै आए पनि कतिपय कुरा कानुनी रुपमा बर्जित छ । हामीकहाँ सेक्स टोयजको व्यवस्था गर्नु त मान्य हुँदैन । यद्यपि विश्वव्यापी रुपमा यस्ता कुरा खुकुलो हुँदै आएकाले हामीले पनि पुर्नविचार गर्नुपर्छ ।’

फेरिएला कैदीको मनोदशा ?

जब कैदी पहिलो पटक कारागारमा पुग्छन्, सबैभन्दा पहिले उनीहरुको ‘ब्रेन वास’ गरिँदोरहेछ । अर्थात् मानसिक उपचार ।

विराटनगरस्थित मोरङ कारागारका चौकिदार नविन राई भन्छन्, ‘कारागारमा आउनसाथ हामी उनीहरुलाई चारवटा कुरा त्याग्न भन्छौं- रिस, आवेग, दम्भ र प्रतिशोध ।’

उनको बुझाईमा यी चार कुरा नै हुन्, मानिसलाई अपराधकर्ममा धकेल्ने । जब रिस, आवेग, दम्भ, प्रतिशोध त्यागिन्छ, तब मान्छे शान्त हुन्छन् । संयमित हुन्छन् । विनयी हुन्छन् । मोरङ कारागार मात्र होइन, अरु सबै कारागारमा कैदीहरुको मानसिक व्यवस्थापन नै पहिलो शर्त हुने रहेछ । यसबाट के बुझिन्थ्यो भने अपराध कुनै भौतिक क्रिया मात्र होइन, यो मानसिक विकारसँग जोडिएर आउने कुरा हो ।

जब कैदीहरु सजाय भुक्तानी गरेर निस्कन्छन्, उनीहरुमा प्रतिशोध, कुन्ठा, ग्लानीको भावना हुन नहुने मनोविद् करुणा कुँवरको भनाइ छ । ‘उनीहरुले मनको विकार सबै कारागारभित्रै पखाल्नुपर्छ’ कुँवर भन्छिन्, ‘कारागारबाट निस्कदै गदाँ उनीहरुले पूनर्जीवनको अनुभूत गर्न सक्नुपर्छ । नयाँपनको अनुभूत गर्न सक्नुपर्छ ।’

प्रचलित कानुनले कुनै पनि अपराधीलाई उचित सजायको व्यवस्था गर्छ । पीडितलाई न्याय दिलाउन र पीडकको चेत खुलाउन यस्तो व्यवस्था गरिए पनि त्यसले समग्रमा अपराध न्युनिकरण हुन्छ त भन्ने प्रश्नको जवाफ दिँदैन । किनभने अपराध शारीरिक क्रिया भए पनि मानसिक उपज हो । त्यसैले यसको ठेगान मानसिक व्यवस्थापनबाट पनि लगाउनुपर्ने मनोविद्हरुको तर्क छ ।

‘कुनै अपराधीलाई बर्षौं बर्ष जेलमा कोच्दैमा अपराध घट्छ वा उसको मनमा आपराधिक मनोवृत्ति निरुत्साहित हुन्छ भन्ने छैन’ मनोविद कुँवर भन्छिन्, ‘यसका लागि मानसिक टि्रटमेन्ट मूख्य कुरा हो ।’

कानुनले अपराधीलाई तह लगाउन कारागार पठाउँछ । तर, कारागारमुक्त भइसकेपछि कसरी समाजमा पुर्नस्थापित हुन्छ भन्ने कुरामा चासो र सरोकार राख्दैन । यस्तो अवस्थामा सोही व्यक्तिबाट अपराधकर्म दोहोरिन सक्ने सम्भावना रहने मनोविद्हरुको बुझाई छ ।

सुधारगृहको परिकल्पना

त्यसो त अहिले नेपालका कारागारलाई खुला जेल वा सुधारगृहको रुपमा रुपान्तरण गर्ने अभ्यास र प्रयास भइरहेका छन् । खासगरी कैद भुक्तान गरिरहेका कैदीहरुको आपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्दै उनीहरुले त्यहीँभित्र नयाँ जीवनको रुपरेखा कोर्न सकोस् भन्नका खातिर खुला जेल एवं सुधारगृहको अवधारणा आएको हो ।

कतिपय अपराधकर्म अन्जानमा वा आवेगमा भएका हुन सक्छन् । सुनियोजित अपराध बाहेकका अवस्थामा कारागार पुगेकाहरु आफ्नो गल्तीमा प्रायश्चित गर्छन् र पुन नयाँ जीवनको प्रारम्भ गर्न चाहन्छन् । हामीले भेटेका धेरैजसो कैदी भन्थे, ‘आवेगमा नराम्रो काम गरियो, अहिले आफ्नो गल्ती महसुस भएको छ ।’

कैदमुक्त भएर घर फर्केपछि के गर्नुहुन्छ भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो, ‘अब केही काम गरेर आफन्त वा समाजमा स्थापित हुन्छौं ।’ यसका लागि कसैले वैदेशिक रोजगारीको योजना बनाएका थिए भने, कतिले सानोतिनो उद्यमको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment