२२ असोज, काठमाडौं । सेल्टा भिगोलाई पराजित गर्दै सेभिल्ला स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा सेभिल्लाले सेल्टा भिगोलाई २-१ गोलअन्तरले पराजित गरेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जित दिलाउन पाब्लो सराविया र विसम बेन यड्डरले गोल गरे । सेल्टा भिगोका लागि सोफियान बौफलले एक गोल फर्काएका थिए ।
खेलको ३९ औं मिनेटमा सेभिल्लाका लागि सरावियाले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अग्रता बनाएको सेभिल्लाले दोस्रो हाफमा थप १ गोल गर्दा सेल्टा भिगोले पनि एक गोल फर्काएको थियो ।
खेलको ५८ औं मिनेटमा विसमले गोल गर्दै सेभिल्लालाई दोब्बर अग्रतामा पुर्याएका थिए । खेलको ८५ औं मिनेटमा सेल्टा भिगोका लागि बौफलले गोल गर्दै २-१ गोलको स्थितिमा पुर्याए पनि सेभिल्लालाई रोक्न भने सकेन ।
त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई १-० गोलअन्तरले पराजित गरेको छ । यता, स्पानियोलले भिल्लारियललाई ३-१ गोलअन्तरले पराजित गर्दा रियल भलाडोलिडले हुइस्कालाई १-० गोलअन्तरले पराजित गरेको छ ।
जीतसँगै सेभिल्ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्लाले बार्सिलोनालाई पछि पार्दै ८ खेलबाट १६ अंकको साथमा शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानमा झरेको बार्सिलोनाको भने ८ खेलबाट १५ अंक रहेको छ ।
त्यस्तै, लिगको तेस्रो स्थानमा एथ्लेटिको मड्रिड पुगेको छ । मड्रिडको पनि समान १५ अंक रहेको छ । चौथो स्थानमा रियल मड्रिड रहँदा पाचौ स्थानमा स्पानियोल रहेको छ ।
प्रतिक्रिया 4