Comments Add Comment

स्थानीय जनप्रतिनिधिलार्इ नेकपाको निर्देशनः चुनाव सम्झिएर विकास गर्नुस्

२२ असोज, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले चार वर्षपछि हुने चुनावलाई मध्यनजर गरेर विकासका काम गर्न स्थानिय तहका प्रमुखहरुलाई निर्देशन दिएको छ ।

नेकपाको गण्डकी प्रदेश कमिटीले मातहतका स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला गरेर अर्को चुनाव जित्ने गरी विकासका योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

जनप्रतिनिधिले केहि गरेनन् भन्दै विपक्षीले कोकोहोलो मच्चाइरहेको भन्दै नेकपा नेताहरुले पार्टीसँग समन्वय गरेर अगाडि बढ्न र जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे ।

गण्डकी प्रदेशका ईञ्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनपक्षीय काम गर्न निर्देशन दिए ।

भ्रष्टाचारीलाई डण्डा लगाउनु पर्ने भन्दै उनले भने, ‘धन देखेपछि महादेवको पनि त्रिनेत्र बल्छ भने जस्तै नहुनुस् । आफू पनि भ्रष्टाचार नगर्नुस्, अरुलाई पनि गर्न नदिनुस् ।’

कांग्रेसबाट चुनाव जितेका स्थानिय तहका प्रमुखहरुले श्रोत र साधनको दुरुपयोग गरिरहेको उनको आरोप छ । उनले भने, ‘कांग्रेसले जितेका नगरपालिका र गाउँपालिकाहरुमा नियम, कानून र विधि नबनाई जथाभावी खर्च गरिएको छ, त्यहाँका प्रमुख/उपप्रमुखहरुले स्थानिय श्रोत र साधनको दुरुपयोग गरेका छन् ।’

आफूले जितेका ठाउँमा मात्र होइन, अरुले जितेका ठाउँमा समेत जित्ने गरी काम गर्न आग्रह गरे । मुख्यमन्त्री समेत रहेका उनले भने, ‘पहिले योजना बनाउनुस्, प्रस्ताव पेस गर्नुस्, बजेट र श्रोत साधन माग्नुस् र कार्यान्वयनमा जानुस् ।’

गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले स्थानिय जनप्रतिनिधिहरुलाई ट्वाइसी हुन निर्देशन दिए ।

सेना र युद्ध कमाण्डमा खटिएकामा सेकेण्डरी कमाण्ड अर्थात ट्वाइसी हुने भएकाले सफलता हात पर्ने भन्दै उनले भने, ‘तपाईंहरु पनि ट्वाइसी हुनुस् । प्रमुख र उपप्रमुख मिलेर काम गर्नुस्, एउटाले काम गर्दा अर्कोले मौनता नसाँध्नुस्, उपप्रमुखले प्रमुलाई कसरी सहयोग गर्न सक्छु भनेर सोंच्नुस र सहयोग गर्नुस् ।’

पार्टीको सल्लाहमा विकासका काम गर्न निर्देशन दिँदै उनले भने ‘आफैंले गर्नुभयो भने त्यो तपाईंको व्यक्तिगत हुन्छ, पार्टीसँग सल्लाह गरेर गर्नुभयो भने त्यो संस्थागत हुन्छ ।’

स्थानीय तह स्थानिय सरकार भएकाले त्यसको आभाष दिनेगरी काम गर्नपनि निर्देशन दिए । पार्टी एकतापछि ठूलो अवसर आएको भन्दै उनले सफल बनाउन आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बजेट अभावमा सामाजिक सुरक्षा भत्ता दशैं अगाडि दिनसक्ने अवस्था नदेखिएको बताए ।

गोर्खाको बारपाक गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले कर्मचारी अभाव र भएका कर्मचारीमा पनि दक्ष नहुँका काम गर्न अप्ठ्यारो परेको गुनासो गरेका थिए ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी र म्याग्दीको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विकले पार्टीको संयन्त्र नहुँदा समन्वय गर्न समस्या भएको र त्यसको असर बिकासका कामहरुमा देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment