Comments Add Comment

बार्सिलोनाको दुर्भाग्य कि भालभर्देको खराब योजना ?

२२ असोज, काठमाडौं । स्पेनिस ला लिगाका उम्दा टिम बार्सिलोना र रियल मडि्रड यो सिजन समस्यामा देखिएका छन् । कमजोर मानिएका टोलीसँग हारेका छन्, जित्न सक्ने खेल बराबरी गरेका छन् । उनीहरुको शीर्ष स्थान खोसिएको छ ।

प्रशिक्षक जिनेदिने जिदानले रियल मड्रिड छाडेपछि नयाँ प्रशिक्षक जुलेन लोपेटेगीलाई लय समात्न समय लागेको र स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो नभएको रियल मड्रिडका लागि चित्त बुझाउने बाटो हुन सक्छ । तर, सोचेजस्तै खेलाडी किनबेच गरेर बलियो मनस्थितिमा रहेको बार्सिलोनाका लागि बाहनासमेत छैन ।

रियल मडि्रडको खराब प्रदर्शनमा लोपेटेगीमाथि औंला उठिरहे पनि बार्सिलोनाको अवस्था हेरेर अर्नेस्टो भालभर्देलाई प्रश्न गरिएको पाइँदैन । बलियो बेञ्चलाइन भए पनि उनले त्यसलाई उत्कृष्ट रुपमा प्रयोग गर्न सकेका छैनन् । टिम पूर्णतः लियोनल मेस्सीमा नै निर्भर देखिन्छ ।

आइतबार राति भ्यालेन्सियासँग बराबरी खेलेपछि बार्सिलोना ला लिगामा लगातार चार खेलमा जितविहीन भयो । जसमा एक खेल हारेको छ भने तीन खेल बराबरी भएको छ । बराबरी भएकै खेलमा पनि बार्सिलोनाको अवस्था राम्रो थिएन ।

भ्यालेन्सियाविरुद्ध बलमा नियन्त्रण र उत्कृष्ट पास भइरहे पनि गोल भने हुन सकेन । ९० प्रतिशत सही पास खेलेको बार्सिलोनाले ७६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो । तर, जम्मा पाँच सट मात्रै पोस्टको दिशामा प्रहार भयो ।

यसैले अरुले प्रश्न उठाउन नथालेको भए पनि भालभर्देको अनुहारमा चिन्ताका रेखा प्रष्ट देखिएका छन् ।

शनिबार राति रियल मडि्रड अलाभेससँग हारेकाले भ्यालेन्सियालाई हराउन सकेको भए बार्सिलोनाले अंक दूरी राम्रो बनाउने थियो । तर, मेस्सीको गोलमा बराबरी गरेपछि हारबाट जोगिए पनि बार्सिलोना दोस्रो स्थानमा झरेको छ । सेल्टाभिगोलाई हराएर सेभिल्ला अंक तालिकाको शीर्ष स्थानमा छ ।

गएको सिजन उत्कृष्ट खेल देखाएको बार्सिलोना ३७ औं खेलमा पुगेर लेभान्टेसँग ५-४ ले हारेको थियो । २८ खेल जितेर ९ खेल बराबरी गरेको थियो । यो सिजन त हार र बराबरीको श्रृङ्खला अहिले नै सुरु भइसकेको छ । चार खेलमा नै बार्सिलोनाले ९ अंक गुमाएको छ ।

भालभर्देले अहिले के तरिका अपनाइरहेका छन् भन्ने बुझ्न कठीन देखिएको छ । भ्यालेन्सियाविरुद्ध खेल पूरा मेस्सीमा निर्भर भएर गोल प्रहार कमजोर देखिरहे पनि भालभर्देले खेलाडी परिवर्तन गर्नुपर्ने जरुरी ठानेनन् ।

ला लिगामा यो सिजन राम्रो लय देखाइहेका उसमान डेम्बेलेलाई उनले ८४ औं मिनेटमा मात्रै मैदान छिराए । त्यसको चार मिनेटपछि खेल सकिने बेला समय बिताउन झैं गरी राफिन्हालाई पठाए ।

उमटिटी नहुँदा राम्रो र्फममा देखिएका लेङलेटको स्थानमा भर्माइलिनलाई पठाउन भालभर्देले उचित ठाने । जसको नतिजा पनि देखि नै हालियो । भिडाल, मुनिर, मालकोमजस्ता खेलाडीलाई त उनले जरुरीसमेत ठानेनन् ।

एकोहोरो प्रेसरमा खेलिरहेका खेलाडीलाई दोस्रो हाफको केहीबेरमा आराम दिएको भए नतिजा अर्को आउन सक्ने फुटबल पण्डितहरु बताउँछन् । बलियो बेञ्च लाइन हुँदा पनि भालभर्देले रोटेसनमा विचार गर्न सकेनन् ।

उता भ्यालेन्सियाले १२ औं मिनेटमा गोञ्जालो गुडडेस घाइते भएपछि डेनिस चेरेसेभलाई मैदान छिराएको थियो । त्यसपछि पनि बेञ्चको राम्रो प्रयोग गर्दै ६७ औं मिनेटमा रोडि्रगो र ७९ औं मिनेटमा फान्सिसलाई खेलाए । जसले बार्सिलोनामाथि दबाब बनाइराख्न महत्वपूर्ण भूमिका खेल्यो ।

एक खेललाई हेरेर भालभर्देको अवस्था व्याख्या गर्न नमिल्ने भए पनि जितविहीन चार खेल र भ्यालेन्सियाविरुद्धको योजनाले उनको सोचको अवस्था भने देखिन्छ । प्रेसर भएको खेलमा दुई मात्र परिवर्तन त्यो पनि खेल सकिने बेला किन त ?

भालभर्दे भन्छन्, ‘प्रेसरमा भएको अवस्थामा मैदानमा रहेकै खेलाडीबाट त्यो सम्भव छ भन्ने मलाई लाग्यो । मैले प्रष्ट रुपमा त्यो अवस्था देख्न सकिन ।’

भालभर्देले हप्ताको बीचमा च्याम्पियन्स लिगको खेल परेकाले खेलाडीले आराम नपाएको दुःखेसो गरे । तर, नयाँ खेलाडीलाई अवसर दिनेबारे भने सोचेनन् ।

हुन त बार्सिलोनाले भन्दा एक दिनअघि च्याम्पियन्स लिगको खेलमा भ्यालेन्सिया पनि खेलेकै थियो । तर, तालिकाको १६ औं स्थानमा रहेको भ्यालेन्सियाविरुद्ध खेल्दा ला लिगामा आˆनो लय फर्काउन बार्सिलोनाले कुनै नयाँ काम गरेन ।

अझ बार्सिलोना त्यो समय पुछारमा रहेको लेगानेससँग पराजित भएर सिजनकै पहिलो हार भोगेर चेतिने अवसर पनि पाएको थियो । लेगानेससँग पराजित हुनुअघि पनि बार्सिलोनाले जिरोनासँग बराबरी खेलेको थियो । त्यसपछि एथ्लेटिको बिल्बाओसँग पनि बराबरी खेलेको थियो ।

‘हामीले गोल गर्न सकेनौं । खेलमा कहिलेकाहीँ यस्तो हुन्छ । त्यो भन्दा अरु केही होइन । यो सिजन हामीलाई गोलमा पछि परेपछि खेलमा फर्किन कठीन देखिएको भने साँचो हो । यो अवस्था फेरिने छ’ खेलपछि भालभर्देले भनेका छन् ।

उनको अर्को भनाइले पनि बार्सिलोना र भालभर्देको वर्तमान अवस्था बुझ्न सकिन्छ । भ्यालेन्सियाविरुद्धको खेलपछि उनले भनेका थिए, ‘हामी सधैं ज्वारभाटाको विपरीत पौडिनु परिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment