Comments Add Comment

रामेछापका जनप्रतिनिधिको गुनासो– केन्द्रले कर्मचारी पठाउँदैन, काम कसरी गर्नू ?

२३ असोज, रामेछाप । जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले केन्द्र सरकारले पर्याप्त कर्मचारीहरु नदिँदा नागरिकलाई प्रवाह गर्ने सेवा प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । केन्द्र सरकारले वडा सचिवसमेत व्यवस्था नगर्दा जनप्रतिनिधिहरु झोलामा कार्यालय बोकेर हिँड्न बाध्य भएको बताए ।

दोरम्बा गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने, ‘मेरो गाउँपालिकामा ७ वडा छन् । तर, गाउँपालिकामा वडासचिव मात्रै ३ जना छन् । न त केन्द्र सरकारले कर्मचारी पठाउँछ, न करारमा नियुक्ति गर्न दिन्छ । मैले कसरी नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न सक्छु ?’

सोही गाउँपालिका २ का वडाध्यक्ष खड्गबहादुर श्रेष्ठको समस्या अझ फरक छ । वडा कार्यालयमा खटिएका सचिवले स्वेच्छिक अवकासको लागि निवेदन दिएका छन् । उनको राजीनाम स्वीकृत भएको छैन । तर, उनी काममा पनि आएका छैनन् । ‘काममा आउनु भन्दा मैले त राजीनामा दिइसकेको छु भन्नुहुन्छ । तर, तलव पनि खाइरहेका छन्, काममा पनि आउँदैनन् । कार्यालयको काम सबै आफैंले गर्नु पर्छ’, सार्वजनिक सुनुवाइमा उनले गुनासो गरे ।

वडाअध्यक्षहरु चन्दबहादुर मगर, गंगा बहादुर तामाड तथा रेमबहादुर थापाले वडाअध्यक्षहरु जता जाँदा पनि झोलामै वडा कार्यालयको छाप र लेटरप्याड बोकेर हिँड्नु पर्ने अवस्था भएको गुनासो गरे ।

गाउँपालिका प्रवक्ता अम्बिकाप्रसाद गजुरेल, वडा नं १ र ३ का वडाअध्यक्ष लालबदन थापा मगरले भने जनशक्तिको अभावका बीचमा पनि जनप्रतिनिधिहरुले सकेसम्म जनताको काम गरेको बताए ।

दोरम्बा गाउँपालिका आर्थिक वर्ष २०७४/७५ मा गरेको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको प्रभाकारिताको विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाभित्र रहेका सातै वडाका नागरिकहरुको जनप्रतिनिधिहरुलाई विभिन्न प्रश्न गरेका थिए ।

सार्वजनिक सुनुवाइमा यही तिहार अगाडि नै गाउँपालिकामा बडापत्र टाँस गर्ने, गाउँपालिमा खटाइएका सबै कर्मचारीहरुले आफ्नो कार्यस्थलमा गई नियमित सेवा प्रवाह गर्ने, गाउँपालिका ४ वटा बजार केन्द्रमा ०७६ वैशाखसम्म सार्वजनिक शौचालय निर्माणको काम पूरा गरी सञ्चालनमा ल्याउने र यसै आर्थिक वर्षको बजेटबाटै गाउँपालिकाका दलित, महिलालगायतका लक्षित समुदायको उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

सेवाग्राहीहरुको प्रश्नको उत्तर गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत विनोद कोइराला र सातै वडाका अध्यक्षहरुले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment