Comments Add Comment

प्रशान्त झाले हिन्दुस्थान टाइम्सको राजनीतिक सम्पादकबाट राजीनामा दिए

२३ असोज, काठमाडौं । विश्वव्यापी बन्दै गएको ‘मि टु’ अभियानको हुरीले भारतमा क्रियाशील नेपाली पत्रकार प्रशान्त झालाई पनि लपटेको छ । एक पूर्वसहकर्मी महिलाले दुर्व्यवहारको आरोप लगाएपछि पत्रकार झाले ‘हिन्दूस्तान टाइम्स’ को ब्यूरो चिफ र राजनीतिक सम्पादकको पदबाट राजीनामा दिएका छन् ।

व्यवस्थापनले दवाब दिएपछि उनले राजीनामा दिनु परेको हो । उनी व्यवस्थापकीय भूमिकाबाट अलग भए पनि रिपोर्टरका रुपमा भने कायम रहनेछन् ।

प्रधान सम्पादक आर सुकुमारलाई पठाएको राजीनामापत्रमा झाले लेखेका छन्, ‘हालै मेरो व्यक्तिगत आचरणमाथि विशिष्टखालका आरोपहरु लागेका छन् जसले मेरो आचरणमा नैतिक प्रश्न उठेको छ । यसले संस्थाकै छवि धुमिल नहोस् भनेर राजीनामा दिएको छु ।’

युवा लेखक तथा पत्रकार झाले नेपाल अर्थात स्वदेशबाटै पत्रकारिता सुरु गरेका हुन् । उनले काठमाडौं पोष्ट र नेपाली टाइम्समा नियमित स्तम्भ लेख्ने गर्थे । पछि उनी दिल्ली गए र भारतको ‘द हिन्दू’ को नेपाल संवाददाता भए । त्यसपछि केन्द्रीय ब्यूरोमा रहेर काम गरे । ‘द हिन्दू’ छाडेर उनी ‘द हिन्दूस्तान टाइम्स’मा जोडिए । यसअघि उनी ‘द हिदूस्तान टाइम्स’को एसोसिएट एडिटर थिए ।

झाले ‘ब्याटल्स अफ द न्यू रिपब्लिकः अ कन्टेम्पोररी हिस्ट्री अफ नेपाल’ र ‘हाउ द बीजेपी विन्स’ नामका दुई पुस्तकसमेत लेखेका छन् ।

‘मि टु’ ह्यास ट्यागको शिकार

सामाजिक सञ्जालमा ‘मि टु’ ह्यासट्यागको प्रयोग अमेरिकाबाट सुरु भएको हो । अहिले यो दक्षिण एशियासम्म आइपुगेको छ । खासगरी भारतमा त ‘मि टु ह्यासट्याग’ को आतंक नै छ ।

यो ह्यास ट्याग प्रयोग गरेर महिलाहरुले आफूमाथि विभिन्न कालखण्डमा भएका यौन दुर्व्यवहारका घटना बाहिर ल्याउने गर्छन् । यसमा धेरै प्रतिष्ठित व्यक्तिहरुसमेत मुछिएका छन् ।

भारतमा अभिनेता नाना पाटेकरमाथि अभिनेत्री तनुश्री दत्ताले लगाएको आरोपले अहिले अत्यधिक चर्चा पाइरहेको छ ।

अवन्तिका मेहता नाम गरेकी महिला सन् २०१४ मा हिन्दूस्तान टाइम्समा आवद्ध भएकी थिइन् । त्यतिबेला प्रशान्त झा र आफ्नो डेस्कसँगै भएको उनले बताएकी छन् । अवन्तिकाले टि्वटरमा लेखेकी छन्, ‘म उनलाई आदर गर्थेँ । एक दिन उनले मलाई बाहिर खाना खान जाने प्रस्ताव राखे । मैले स्वीकारेँ । तर, त्यहाँ उनले मलाई प्रेम प्रस्ताव राखे । जबकी उनी विवाहित थिए । मैले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिएँ । तैपनि उनले मलाई बारम्बार म्यासेज पठाएर दुख दिइरहे । उनले प्रयोग गरेका शब्दहरुले मलाई यौनहिंसा महसुस भयो ।’

झाले हैरान बनाएपछि आफूले हिन्दूस्तान टाइम्स छाड्नुपरेको उनले दावी गरेकी छन् । उनले झासँग ह्वाट्सएपमा भएको कुराकानीको स्क्रिनसटसमेत सार्वजनिक गरेकी छन् । अवन्तिकाको आरोप के छ भने जागिर छोडेपछि पनि झाले उनलाई म्यासेज पठाउन छाडेनन् ।

झाले भने अहिलेसम्म यो प्रकरणमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । झाले नैतिक प्रश्न उठेको भन्दै राजीनामा दिए पनि उनीमाथि लागेको आरोपको पुष्टि भएको छैन । हिन्दूस्तान टाइम्सले यसबारे छानविन हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment