Comments Add Comment

असोज २८ मा नवौ लिगलिगे दौड, विजेताले ‘श्रीपेच’ पाउने

२३ असोज, गोरखा । असोज २८ गते पालुङटार नगरपालिकाको लिगलिगकोटमानवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिता हुने भएको छ ।

लिगलिग कोट विकास अभियानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तिब्र भइरहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासका लागि २०६७ साल देखि बर्षेनी प्रतियोगिता गर्दै आएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद ६० हजार एक सय रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदुतको व्याच प्रदान गरिने रानाले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेतालाई एक रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने उनको भनाइ छ । त्यस्तै दोस्रो हुनेलाई नगद ३५ हजार र तेस्रो हुनेलाइ नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र वितरण गरिने अभियानका सचिव सूर्यप्रसाद न्यौपानेले बताए । नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सोही दिन समावेशीतर्फ महिलाहरुको पाँच किलोमिटर दौड प्रतियोगितासमेत हुनेछ । सँगै स्थानीय लिगलिगबासीका लागि १३.८ किमी र स्थानीय विद्यालयका छात्रछात्राका लागि करिव ३ किलोमिटर दौड प्रतियोगिता हुने सचिव न्यौपानेले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कुल २८ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ । ‘पालुङटार नगरपालिकाले ९ लाख र खेलकुद परिषदबाट पाँच लाख सहयोग प्राप्त भएको छ, बाकी चन्दा संकलन गर्देछौ,’ अभियानका महासचिव सन्तोष देवकोटाले भने । करिव तीन लाख बराबरको श्रमदान स्थानीयले गर्ने उनले बताए ।

यस पटक प्रतियोगितामा सहभागीहरुको प्रतिव्यक्ति सात लाखको बिमासमेत गरिएको उनले जानकारी दिए । प्रतियोगितामा सहभागीहरुका लागि खाने बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment