Comments Add Comment

प्रदेशसभामा पत्रकारमाथि खनिए मुख्यमन्त्री राई

२३ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको रोष्टमबाटै पत्रकारको आलोचना गरेका छन् ।

प्रदेशको नाम र राजधानीबारे आएका समाचारहरुप्रति असन्तुष्टि जनाउँदै उनले पत्रकारले सपना देखेर समाचार लेख्ने गरेको, गैरव्यवसायिक र स्तरहीन चरित्र प्रदर्शन गरेको आरोप लगाएका हुन् ।

प्रदेशको नाम र स्थायी राजधानी नतोकी प्रदेशसभाको पहिलो अधिवेशन मंगलबार अन्त्य भएको छ । अधिवेशन अन्त्य हुनुअघिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले मिडियाले प्रदेशसभाको नाम र राजधानीबारे अनावश्यक उचाल्ने काम मात्र गरेको बताए ।

करिव ४० मिनेट प्रदेशसभालाई सम्बोधन गरेका मुख्यमन्त्री राईले धेरै समय पत्रकारहरुको आलोचना गरे । पूर्वसञ्चारमन्त्री समेत रहेका राईले प्रदेशसभाको रोष्टमबाटै पत्रकारहरुलाई समचार लेख्ने विधि पनि सिकाउन भ्याए ।

‘म मुख्यमन्त्रीमा नाम लेखाउन आएको होइन । प्रदेश बनाउन आएको हुँ’ उनले भने, ‘कलम चलाउँदा मर्यादित भएर, आफ्नो हैसियत ख्याल राख्न आग्रह गर्छु ।’

मुख्यमन्त्री राईले प्रदेशसभाको पहिलो अधिवेशनबाटै प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने तयारी गरिएको भए पनि हाललाई सर्वदलीय सहमतिमा थाती राखिएको बताए । प्रदेशसभाको दोस्रो अधिवेशन शुरुमै निर्णय हुने भन्दै उनले भने, ‘यसलाई उच्चतम सहमतिबाट टुंग्याउने पक्षमा सरकार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment