Comments Add Comment

फेरि अन्तराष्ट्रिय मुद्रा कोषको शरणमा पाकिस्तान

काठमाडौं । पाकिस्तानले देशको आर्थिक संकट टार्न अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोग माग गर्ने निर्णय लिएको छ । त्यहाँका वित्तमन्त्री असद उमरले आईएमएफसँग सहयोग माग गर्ने कठिन निर्णय लिनु परेको बताएका हुन् ।

प्रधानमन्त्री इमरान खानले पनि भिडियो सन्देशमा बेल आउट प्याकेजका लागि आईएमएफसँग कुराकानी गर्न अनुमति दिएका छन् । वित्तमन्त्री असदले भने, ‘प्रधानमन्त्रीले सबैको सल्लाहपछि फैसला लिएका छन् कि आईएमएफसँग कुराकानी गर्नुपर्छ ।’

वित्त मन्त्रालयका अनुसार कोषको एक टोलीले २७ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म पाकिस्तानको भ्रमण पनि गरेको थियो, यसक्रममा टोलीले देशको आर्थिक अवस्थाबारे बुझेको छ ।

पाकिस्तानले १९८० पछि नियमित अन्तरालमा आईएमएफबाट सहयोग लिएको छ । अहिलेसम्म १२ पटक सहयोग लिएको छ ।

२०१३ मा मात्र पाकिस्तानको सरकारले मुद्रा कोषसँग ६.६ अर्ब डलर ऋण लिएको थियो । अब आईएमएफले कति सहयोग दिन्छ थाहा छैन । जबकी पाकिस्तानको विद्यमान संकट टार्न उसलाई कम्तिमा १३ अर्ब डलर चाहिएको आर्थिक विश्लेषकहरुको अनुमान छ ।

पाकिस्तानको विदेशी ऋण ९५ अर्ब डलर छ । ३०५ अर्ब डलरको अर्थ व्यवस्थाको करिव ३० प्रतिशत ऋण छ । यही ऋणको ब्याज तिर्न पाकिस्तानले दैनिक खर्चको करिव ३० प्रतिशत छुट्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment