Comments Add Comment

क्रिकेट : सिकारु टिमसित खेलेर नेपाल सप्रेला कि बिग्रेला ?

२५ असोज, काठमाडौं । दोस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्य बोकेको नेपाली क्रिकेट टिम अहिले मलेसियामा छ । त्यहाँ नेपालले ‘एसिया क्वालिफायर ग्रुप बी’ अन्तर्गत नेपाल यस्तो प्रतियोगिता खेल्दैछ, जहाँ क्रिकेटका सिकारु देशहरु समेत सहभागी छन् ।

प्रतियोगितामा नेपालले अहिलेसम्म ५ खेल खेल्यो र शतप्रतिशत जित निकाल्यो । सबै खेलमा विशाल अन्तरका साथ । तर, यसमा पनि नेपाल क्रिकेटप्रेमीहरुले गर्व गर्न सकिरहेका छैनन् किनकी प्रतिद्वन्द्वीहरु नेपालभन्दा निकै तल्लो स्तरका हुन् ।

थाइल्यान्ड, म्यानमार, चीन र भुटानविरुद्ध नेपालको खेल औपचारिकता मात्रै थियो । उनीहरु सबैलाई नेपालले सहज रुपमा पराजित गर्‍यो । तर, यी सिकारु टिमहरुविरुद्धको प्रतिस्पर्धामा पनि नेपालको कमजोरी छचल्किएको छ ।

म्यानमारविरुद्धको पहिलो खेलको कुरा गरौं ।

म्यानमार त्यही टोली हो, जसलाई विगतमा नेपालले १० रनमा अलआउट गरेको थियो र दुई बलमा लक्ष्य भेट्टाएको थियो । यसपाली पनि म्यानमारको स्तर खासै उँभो लागेको छैन, जबकी नेपाल निकै माथि उक्लिसकेको छ ।

टस हारेर बलिङ रोजेको म्यानमारविरुद्ध नेपालले सुरुमा फास्ट बलरहरु करण केसी र ललित भण्डारी प्रयोग गर्‍यो । तर, उनीहरु ब्याट्सम्यानमाथि सोचेजस्तो हावी हुन सकेनन् । त्यसपछि नेपाली कप्तान पारस खड्का स्पिनरहरु ल्याउन बाध्य भए ।

सन्दीप लामिछाने र ललित राजवंशी आउनासाथ म्यानमार एकैछिनमा धराशायी बन्यो । त्यतिबेलासम्म उसले २९ रन जोड्न सफल भएको थियो । करण केसीले दुई ओभरमा आठ र ललित भण्डारीले ३ ओभरमा १४ रन खुस्काएका थिए ।

म्यानमारविरुद्ध ३० रनको लक्ष्य भेट्टाउने क्रममा नेपालले दुई विकेट गुमाउन पुग्नु अर्को लज्जाको विषय रह्यो । प्रदिप ऐरीले खाता खोल्नै सकेनन् भने अनिल शाह पनि सस्तैमा पेभिलियन फर्किए । एउटा निरिह टिमविरुद्ध पनि नेपालका ब्याट्सम्यानहरुले काँपेर खेलेको देखियो ।

थाइल्यान्डविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपालले एक सय ७२ रनको स्कोर खडा गर्‍यो । तर, त्यो म्याचमा पनि नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेको देखिएन । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको समेत ब्याट चलेन । करण केसीले अन्त्यतिर ठूला सटहरु नखेलेको भए नेपाल डेढ सयभित्रै समेटिन सक्थ्यो ।

कमजोर टिमसँग खेल्न बानी पर्‍यो भने भोलि बलिया टिमसँग खेल्दा नेपालको आत्मविश्वास डग्मगाउने प्रचुर सम्भावना रहन्छ ।

बलिङमा नेपालले सुरुमै स्पिनर ल्यायो । यसबाट फास्ट बलिङमा कप्तानको भरोसा नरहेको बुझ्न सकिन्थ्यो । करणले पछि ३ विकेट लिन सफल भए जसमध्ये दुई जना टेलइन्डर थिए ।

मलेसियाविरुद्धको खेलमा नेपालले १ सय १ रनको लक्ष्य पाएको थियो । सो म्याचमा पनि ओपनरहरु असफल भए र नेपाललाई जितसम्म पुर्‍याउने जिम्मेवारी पारस खड्का र ज्ञानेन्द्र मल्लको काँधमा आयो ।

भूटानविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने मौका पायो, तर विशाल स्कोर खडा गर्न चुक्यो । प्रदिप ऐरी टिमको लागि भन्दा आफ्नो स्थान सुरक्षित गर्न खेलिरहेको भान हुन्थ्यो । ६८ रनको सामना गर्दा उनले ७५ रन मात्रै जोड्न सके । टी-२० मा ११० को स्ट्राइक रेटलाई गतिलो मान्न सकिन्न, त्यसमा पनि भुटानजस्तो टिमविरुद्ध यो दयनीय नै हो ।

भुटानविरुद्धको बलिङमा नेपालले एक जना पनि फास्ट बलर उतारेन । एक जना मात्र विशेषज्ञ फास्ट बलर टिममा थिए, करण केसी तर उनले एक बल पनि फ्याँक्न पाएनन् ।

कमजोर टिमले पुरै २० ओभर खेल्न नसक्ने भएकाले स्पिनर काफी होलान्, तर बलियो टिमको फेला पर्दा फास्ट बलर प्रयोग नगरी सुख हुन्न । त्यस्तो बेला नेपाल समस्यामा पर्न सक्ने प्रष्ट देखिएको छ ।

नेपालले अब सिंगापुरविरुद्ध खेल्न बाँकी छ । सो म्याचमा पनि नेपाललाई फेभरेट मानिनेछ । खाली जित अन्तर नेपालको चासोको विषय हुनेछ । नेपाल अहिले गु्रप लिडरको रुपमा रहेको छ । यदि नेपालले उपाधि नजितेमा त्यो आश्चर्य हुनेछ । तर, जितेमा पनि त्यसबाट नेपालको मनोबल खासै बढ्ने अवस्था छैन ।

अरुलाई मौका, नेपाललाई के ?

आईसीसीले नेपाललाई यस्तो समूहमा समावेश गर्नु नै आश्चर्यको विषय बनेको छ । यद्यपि, टी-२० स्टाटस गुमाएकाले नेपालले गुनासो गर्ने ठाउँ पनि छैन ।

थाइल्यान्ड, भुटान, म्यानमार, चीनजस्ता राष्ट्रहरुको लागि नेपालजस्तो एक दिवसीय मान्यताप्राप्त राष्ट्रका विरुद्ध भिड्न पाउनु ठूलो मौका हो । यस प्रतियोगिताबाट उनीहरुले धेरै कुरा सिक्न पाउने छन् । तर, नेपालका लागि यो प्रतियोगिताले फाइदाभन्दा बेफाइदा गर्ने देखिन्छ । स्तर बढ्ने भन्दा खस्किने डर हुन्छ ।

कमजोर टिमसँग खेल्न बानी पर्‍यो भने भोलि बलिया टिमसँग खेल्दा नेपालको आत्मविश्वास डग्मगाउने प्रचुर सम्भावना रहन्छ । टी-२० विश्वकपको छनोट यात्रामा नेपालले भविष्यमा थुप्रै बलिया टिमहरुको सामना गर्नुपर्ने छ । त्यसका लागि भुटान र म्यानमारजस्ता टिमसँगको प्रतिस्पधाले नेपालको तयारी पुग्दैन ।

स्पिनमा निर्भर नेपाल

यो प्रतियोगिताले फेरि एकपटक प्रमाणित गरेको छ कि नेपाली क्रिकेट टिम स्पिन बलिङमा निर्भर छ । प्रतियोगितामा नेपालले हालसम्म लिएका ४६ विकेटमध्ये ३७ स्पिनरको भागमा पर्‍यो । सन्दीप लामिछानेको खातामा मात्रै १९ विकेट छन् । सन्दीपलाई अलग गरेर मात्र हेर्ने हो भने पनि नेपाली टिम फिका हुन्छ ।

टिममा तीन फास्ट बलर छन् । सोमपाल कामीले एकाध खेलमा राम्रो गर्छन्, तर उनको प्रदर्शनमा एकरुपता देखिँदैन । करण केसी लामो समयदेखि बलिङमा फ्लप छन् । तैपनि विकल्प नहुँदा उनलाई टोलीमा समावेश गरिएको छ । ललित भण्डारीले पनि पाएका मौकामा आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।

स्पिनमा ललित राजबंशीले राम्रो सम्भावना देखाएका छन् । बसन्त रेग्मीबाट भने आफ्नो स्तरअनुसार प्रदर्शन हुन सकेको छैन । शक्ति गौचनले सन्न्यास लिइसकेको अवस्थामा तीन स्पीनरको काँधमा ठूलो जिम्मेवारी छ ।

धेरै देशहरुमा यस्ता पिच हुन्छन्, खासगरी सब कन्टिनेन्ट बाहिर, जसले स्पिनरलाई पटक्कै सहयोग गर्दैन । त्यहाँ फास्ट बलरहरुले आफ्नो जिम्मेवारी निभाउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा नेपालको बलिङ नराम्ररी डगमगाउन सक्ने देखिन्छ ।

अबको यात्रा

अष्ट्रेलियामा दुई वर्षपछि आयोजना हुने टी-२० विश्वकप खेल्न नेपालले अझै दुई वटा चरण पार गर्नुपर्ने छ । दोस्रो चरणमा नेपालले एसियन फाइनल छनोट खेल्नेछ भने त्यसबाट माथि उक्लिएमा विश्वकप छनोट खेल्नेछ ।

आईसीसीले एसियाका १३ देशलाई दुई समूह बनाएर पहिलो छनोट खेलाएको हो । एसिया समूह बीबाट नेपालसँगै सिंगापुर अर्को चरणमा पुगेको छ । समूह एबाट यूएई, कतार र साउदीअरब छनोट भइसकेका छन् । यसरी दुई समूहबाट छनोट भएका ६ देशबीच एसियन फाइनल हुनेछ र उक्त प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले विश्वकप छनोट खेल्नेछन् । यसमा नेपाल र यूएई मुख्य दावेदार छन् ।

यसरी नै अफ्रिका र अमेरिका फाइनल छनोटबाट २-२ तथा यूरो र ईएपी (इस्ट एसिया प्यासिफिक) बाट १-१ गरी कुल ८ टिम आउनेछन् । विश्वकप छनोटमा भने १४ टिम हुनेछन् । क्षेत्रीय छनोट चरण पार गर्दै आएका ८ टिम र सोझै स्थान बनाएका ६ टिम यसमा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१६ को टी-२० को विश्वकप खेलेका तर, टी-२० र्‍याङ्किङको शीर्ष १० मा नपरेका ६ टिमले विश्वकप छनोटमा सोझै स्थान बनाउने नियम छ । विश्वकप छनोट खेल्ने १४ मध्ये ६ टिमले अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।

नेपालले पहिलोपटक २०१४ मा बंगलादेशमा आयोजित टी-२० विश्वकपमा पहिलोपटक भाग लिएको थियो । तर, २०१६ को टी-२० विश्वकपमा स्थान बनाउन चुकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment