Comments Add Comment

अब वामदेव कामरेडले उपचुनाव लड्नु हुँदैन

२५ असोज, काठमाडौं । जसरी पनि प्रतिनिधिसभामा आउने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको चाहना कसैबाट छिपेको छैन । पार्टीका शिर्ष नेताहरुले उनलाई अनुकुल र उपयुक्त समय पर्खिन भन्दै थिए ।

यसैबीच काठमडौं ७ का एमाले सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली गर्न भन्दै आफूले राजीनामा दिने घोषणा गरे । उनको राजीनामा सम्वन्धी लिखित प्रस्ताव सचिवालयमा आउँदासम्म नेकपाका महासचिव विष्णु पौडेलसमेत यसबारे बेखबर थिए ।

यस प्रकरणले यतिबेला सामाजिक सञ्जाल तताएको छ । जनस्तरमा गौतम र रामवीरको तीव्र आलोचना भइरहेको छ । यसबाट महासचिव पौडेल वेबखर छैनन् । यो प्रकरणले वामदेव र रामवीरको मात्र होइन, पार्टीकै प्रतिष्ठामा धक्का लागेको महशुस गरेका रहेछन् उनले ।

यसबारेमा प्रतिक्रिया नदिने भन्दा भन्दै पनि अनलाइनखबरकर्मी मात्रिका पौडेलका केही औपचारिक प्रश्नको जवाफ पौडेलले दिए । विवाद आउने विषयमा सकेसम्म जोगिने र अभिव्यक्तिमा सचेत हुने स्वभावका महासचिव पौडेलसँग हामीले पार्टीभित्रको अन्तरद्वन्द्व र दुई अध्यक्षसँग काम गर्दाका अप्ठ्याराका बारेमा पनि सोध्यौं :

वामदेव र रामवीर प्रकरणले पार्टीलाई ‘ब्याक फायर’ भएको हो ?

‘ब्याक फायर’ भन्दा पनि परिस्थिति राम्रो देखिएन । खासमा वामदेव कमरेडले प्रतिनिधिसभामा आउन चाहनुभएको हो । उहाँले अघिल्लो वर्षको चुनावमा बर्दियाबाट जसरी पराजय भोग्नुपर्‍यो, त्यो परिणामलाई उहाँले र हामीले पनि सहज रुपमा लिन सकेका थिएनौं ।

उहाँको पराजयको कारण खोज्न पार्टीले पनि आन्तरिक रुपमा छानविन समिति नै बनायो । त्यसका धेरै पाटाहरु छन् ।

वामदेवलाई काठमाडौंमा चुनाव लडाउने कुरा चाहिँ कसरी आयो त ?

चुनावमा पराजयपछि उहाँले शुरुदेखि नै प्रतिनिधिसभामा आउने इच्छा व्यक्त गर्नुभयो । वामदेव कमरेडलाई अनुकुल समय र उपयुक्त ठाउँबाट प्रतिनिधिसभामा ल्याउन सकिन्छ भन्ने बुझाई पार्टीभित्र थियो । एकपटक सचिवालयको बैठकमा छलफल पनि भएको हो ।

यो पनि पढ्नुहोस वामदेवको रहर, नेकपालाई कहर

तर पछिल्लो घटनाक्रमबारे म चाहिँ जानकार थिइनँ । खासगरि रामवीर मानन्धरको राजीनामाको प्रसंग मैले पनि पछि थाहा पाएको हुँ ।

तर, रामवीरले त अब मैले वामदेवका लागि छाडेँ भनिसक्नुभयो, राजीनामा स्वीकृत हुन्छ कि हुन्न ?

रामवीर मानन्धरले दुईजना अध्यक्षलाई सम्बोधन गरेर ‘वामदेव कमरेडलाई प्रतिनिधिसभा सदस्यमा चुनाव लडाउन म ठाउँ खाली गर्न चाहान्छु, अनुमति पाऊँ’ भनेर पत्र लेख्नुभएको छ । उहाँको पत्र सचिवालयको बैठकमा प्रस्तुत भएको हो । सचिवालयमा पत्र पढेर सुनाइएको हो, यसमा कुनै निर्णय भएको छैन ।

पार्टीका कतिपय नेताहरुले अपारदर्शी ढंगले आयो भनेर विरोध पनि गरेको सुनियो नि ?

पार्टीमा छलफल होस भन्ने कुरा स्वभाविक हो ।

भनेपछि अब वामदेवलाई चुनाव लडाउँदै हुनुहुन्छ काठमाडौंमा ?

मैले चाहिँ शुरुदेखि नै अनुकुल परिस्थिति निर्माण भएको खण्डमा मात्र चुनावमा जानु उचित हुन्छ भनेर उहाँलाई सुझाव दिँदै आएको हुँ । अहिले मैले जे देखिरहेको छु, त्यसले राम्रो संकेत गरिराखेको छैन ।

खासगरी काठमाडौं-७ को प्रसंगसँग जोडिएर आएका प्रतिक्रियाहरु हेर्दा परिस्थिति अनुकल देखिँदैन । मैले वामदेव कमरेडलाई भेटेर पनि यस विषयमा कुरा गरेको छु, मैले उहाँलाई चुनावमा नजानुस् भनेर सल्लाह दिएको छु ।

काठमाडौं ७ मा मात्र कि अन्यत्र पनि ?

अब चाहीँ उहाँ काठमाडौं ७ मा मात्रै होइन, यो प्रतिनिधिसभा अन्तर्गतको उपनिर्वाचनमा नै नलड्नु उचित हुन्छ भन्ने लागेको छ मलाई । यो घटनाक्रमले उहाँको प्रतिष्ठामा क्षति पुर्‍याएको छ । पार्टीको प्रतिष्ठालाई पनि क्षति पुर्‍याएको छ ।

यो पनि पढ्नुहोस वामदेवका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

मैले चाहिँ उहाँलाई काठमाडौं ७ मा नजानुस् भनिसकेको छु ।

भनेपछि वामदेवलाई चुनाव लडाउने प्रयासमा असफलता हात लागेको हो ?

असफलता हात लागेको भन्दा पनि वामदेव कमरेड हार्नुभएकोमा हामी सबै दुःखित भयौं । पार्टीले उहाँको पराजयलाई अस्वभाविक रुपमा लिएको छ । पार्टीको समस्त नेतृत्व पंक्ति र कार्यकर्ता पंक्ति चिन्तित भएको हो ।

अनुकुल परिस्थिति निर्माण होस् र उहाँ संसदमा आउनुहोस् भन्ने हाम्रो शुभेच्छा पनि हो । शुभेच्छा अनुरुपका केही प्रयासहरु पनि भएका हुन्, तर  परिस्थितिले उहाँलाई अहिले चुनावमा जानका लागि अनुकुल बनेन ।

वामदेव गौतम प्रतिनिसिभामा आउन मरिहत्ते गर्नुभएको चाहिँ किन ? प्रधानमन्त्री नै बन्ने इच्छा हो ?

किन भन्नेतिर नजाऊँ । उहाँले संसदमा आउने इच्छा व्यक्त गर्नुभयो, अनुकुल परिस्थिति बन्यो भने उहाँलाई चुनाव लडाउने भन्ने मनस्थिति पार्टी नेतृत्वले बनाएको पनि हो । त्यस्ता केही सम्भावनाहरु छन् कि भनेर खोजी पनि भएको हो । तर, परिस्थिति अनुकुल देखिएन ।

वामदेवलाई काठमाडौं ७ मा चुनाव लडाउन प्रचण्डको घरमा रामवीरको राजीनामा तयार भएको कुरा पनि आयो, यसले के संकेत गर्छ ?

राजीनामा पत्र कहाँ तयार भयो भन्ने मलाई थाहा भएन । तर, दुवै अध्यक्षलाई सम्बोधन गरेको पत्र बैठकमा आएको सत्य हो ।

यो पनि पढ्नुहोस भीम रावलको प्रश्न- वामदेव किन चुनाव लड्ने ?

जहाँसम्म कमरेड प्रचण्डको कुरा छ, उहाँले अतिरिक्ति चासो दिएको होइन । परिस्थितिले साथ दियो भने उहाँलाई चुनाव लडाउन कसैको विमति थिएन । दुवै अध्यक्ष र नेतृत्वमा पनि विमति छैन । तर, परिस्थिति उहाँको लागि अनुकुल देखिएन ।

तर, रामवीरले त वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी आफूले प्रचण्डलाई नेता मानेर राजीनामा दिएको भन्दै हिँडेको सुन्नु भएन र ?

राजीनामा दिएँ भन्नुभएको छ । पत्र पार्टीमा आएको छ । अरु के बोल्नुभयो भन्ने व्यक्तिगत कुरा हो । उहाँले पार्टी अध्यक्षलाई सम्बोधन गरेर दिएको निवेदनलाई हामीले हेर्ने हो । त्यसमा कमरेड वामदेवका लागि आफू राजीनामा दिन तयार रहेको भन्नुभएको छ ।

उहाँलाई राष्ट्रियसभा सदस्य, मन्त्री र केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको कुरा कुरा चाहिँ के हो ?

उहाँले व्यक्तिगत रुपमा बोलेको कुरा हो यो पनि । मन्त्री बन्ने कुरा उहाँले किन गर्नुभएको हो म जान्दिनँ । तर, पार्टीले संस्थागत निर्णय गरेर त्यसका आधारमा उहाँले बोलेको कुरा होइन ।

तर, नेकपाका शीर्ष नेताहरु नै पार्टीमा महत्वपूर्ण विषयमा छलफल हुन छाड्यो, स्थायी कमिटी बैठक बोलाइएन भन्दैछन् नि ?

त्यस्तो कुरा होइन । पार्टी एकतापछि अहिलेसम्म हामीले स्थायी कमिटीको दुईवटा बैठक बसेका छौं । हामी असार २१ गते बैठक बसेका थियौं । साउन, भदौ र असोज सकिँदा अर्को वैठक बस्ने बेला भएको छ ।

विधानले निर्धारण गरेको समयभित्र बैठक बस्छ । स्थायी कमिटीको बैठकको मिति पनि तय भएको छ, कात्तिक १२ र १३ गते । त्यसअघि केन्द्रीय सचिवालयको बैठक बस्छ ।

स्थायी कमिटीले पारित गरेको विधान छापिएर आउँदा अर्कै आयो भन्ने कुरा चाहिँ के हो ?

त्यस्तो होइन ।

तपाई दुईजना अध्यक्षको नयाँ अभ्यास भएको पार्टीको महासचिव बन्नुभएको छ, व्यक्तिगत रुपमा कति अप्ठ्यारो हुनेरहेछ ? त्यसमा पनि केपी ओली र प्रचण्ड जस्ता बिल्कुल फरक स्वभावका नेतासँग काम गर्दाको अनुभव कस्तो छ ?

मैले के देख्छु भने दुवै अध्यक्ष इतिहास र अनुभवको एउटा लामो श्रृंखलाबाट अगाडि बढ्नुभएका नेताहरु हुनुहुन्छ । एउटा गौरवपूर्ण इतिहासबाट अनुभव आर्जन गर्नुभएका नेता हुनुहुन्छ । उहाँहरुसँग महासचिवको रुपमा सँगै बसेर काम गर्दा मलाई अत्यन्त गर्वको अनुभूति भएको छ ।

कुनै असहज छैन । दुईजना अध्यक्षबीच सम्बन्ध पनि अत्यन्त प्रगाढ छ र घनिष्ठ छ । उहाँहरुसँग बसेर काम गर्दा मलाई अत्यन्तै सहज छ । कहिँनेर पनि मैले अप्ठेरो महशुस गरेको छैन आजका मितिसम्म । मैले अहिलेसम्मको अनुभवले के लाग्छ भने आउने दिनमा पनि कुनै अप्ठ्यारो आउनेछैन ।

यो पनि पढ्नुहोस प्रचण्ड निवासमा तयार भएको थियो रामवीरको राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment