Comments Add Comment

दशैंको च्याङग्रा ५ हजार महंगियो, स्थानीय तहपिच्छे कर,

२५ असोज, पोखरा । दशैंका लागि हिमाली च्याङ्ग्रा भित्रिन थालेको छ । तर, हरेक स्थानीय तहले बाटो छेकेर कर लिएपछि यो वर्ष दशैंको च्याङग्रा कम्तिमा ५ हजार महंगिएको छ ।

व्यवसायीहरुका अनुसार अहिलेसम्म करिब ३० हुल अर्थात करिब ८ हजार च्याङ्ग्रा पोखरा भित्रिसकेको छ ।

पोखरा ल्याइएका च्याङ्ग्रा याम्दी क्षेत्रमा राखिएका छन् । यसअघि सुइखेत, मिलनचोक लगायत क्षेत्रमा राखिने गरेको भएपनि यस वर्ष ६ लेनको मध्य पहाडी लोकमार्ग निर्माण भइरहेकाले याम्दीमा राखिएको हो । फुलपातीदेखि भने टुँडिखेलमा राखिनेछ ।

मुस्ताङबाट १७ हजार च्याङ्ग्रा खरिद

पोखरा भित्रिएका च्याङ्ग्रा हिमाली जिल्ला मुस्ताङबाट ल्याइएको हो । मुस्ताङबाट करीब १७ हजार च्याङ्ग्रा खरिद गरिएको व्यवसायीहरु बताउँछन् । जसमध्ये एक हजार च्याङ्ग्रा काठमाडौं लगिनेछ भने बाँकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा विक्री हुन्छ । पोखराका साथै पर्वत, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जालगायतका जिल्ला जानेछ ।

मुस्ताङबाट बाहिरिएका च्याङ्ग्राहरु स्वास्थ्य परीक्षण गरिएको र सबै स्वस्थ रहेको पशु सेवा विज्ञ केन्द्र म्याग्दी अन्र्तगत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुषालले बताए ।

स्थानीय तह पिच्छे कर, मूल्य बढ्यो

यो वर्ष च्याङ्ग्राको मूल्य बढेको छ । मुस्ताङमा खरिद गर्दा नै गत वर्षभन्दा केही बढी रकम परेको छ । त्यसमाथि स्थानीय तह पिच्छे कर तिर्नु परेको व्यवसायीहरु बताउँछन् ।

च्याङ्ग्रा व्यापारी राजेन्द्र खड्काले च्याङ्ग्राको मूल्य बढेकाले आफूले गत वर्ष भन्दा कम खरिद गरेको बताए । उनका अनुसार मुस्ताङमै अघिल्लो वर्षको तुलनामा यस वर्षप्रति च्याङ्ग्रा २/३ हजार रुपैयाँ महङ्गो परेको छ । साथै स्थानीय तह पिच्छे कर तिर्नु परेको छ ।

म्याग्दी, पर्वत लगायतका जिल्लाका स्थानीय तहले प्रतिच्याङ्ग्रा १५ रुपैयाँ कर लिएका छन् । पोखरामा पनि प्रत्येक दिन प्रति च्याङ्ग्रा १५ रुपैयाँले कर लिने गरेको पाइएको छ । प्रत्येक दिन कर तिर्नुपर्दा आफूहरु मारमा परेको व्यवसायीहरु बताउँछन् ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने प्रत्येक दिन कर नलिन निर्देशन दिइएको बताए । उनले भने, ‘मैलेपनि सुनेँ तर, यसो नगर्न निर्देशन दिएको छु ।’

पोखरामा अहिले रोजेको च्याङ्ग्राको मूल्य ३० हजार तोकिएको छ । जुन अघिल्लो वर्षको भन्दा ५ हजार बढी हो । याम्दीमा राखिएका च्याङ्ग्रा अहिले २५ देखि ३० हजारमा बिक्री भइरहेको छ । अघिल्लो वर्ष २० देखि २५ हजारको बिचमा च्याङ्ग्रा बिक्री भएको थियो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment