Comments Add Comment

२९ गतेबाट श्रीपेच प्रदर्शनी, पहिलो अवलोकन प्रधानमन्त्रीबाट

२७ असोज, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक समाचार पहिलो प्राथमिकताका साथ छापिएका छन् । दशैंका बेला सवारी दुर्घटना भएको, महंगी अचाक्ली बढेको, काठमाडौंमा मिनी क्यासिनोको शैलीमा जुवाखाल फस्टाएको, कर्मचारीले घुस खाने क्रम नरोकिएको लगायतका समाचारलाई पत्रिकाहरुले महत्वका साथ समेटेका छन् ।

यसैगरी सरकारले हलिया मुक्त घोषणा गरे पनि सुदूरपश्चिममा हलिया प्रथा कायमै रहेको, निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेलाई मुद्दा नचलाइएको, नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच पनि प्रदर्शनीमा राख्न लागिएको लगायतका समाचार आजका पत्रिकाहरुको पहिलो पृष्ठमा छन् ।

नेपाल समाचार पत्र दैनिकले २९ गतेबाट श्रीपेच प्रदर्शनीमा राख्न लागिएको समाचारलाई पहिलो प्राथमिकताका साथ छापेको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्द दराजमा थन्काइएको श्रीपेचको पहिलो अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । श्रीपेचलाई बुलेट प्रुफ सिसाभित्र राखेर प्रदर्शनी खुला गर्न लागिएको समाचारमा उल्लेख छ ।

संग्रहालयको सुर्खेत र रुपन्देही कक्षभित्र श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट, एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने समाचारमा उल्लेख छ ।

यही समाचार गोरखापत्र दैनिकमा पनि छ ।

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको समाचार पनि नेपाल समाचार पत्रले छापेको छ । दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपैयाँका नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।

सहकारीका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपैयाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने धेरै रकममा केही त्रुटी हुनु स्वाभाविक भएको बताएका छन् ।

सुनको भाउ ६ वर्षयताकै महंगो

नागरिक दैनिकले दशैंका बेला दुर्घटना बढी भएका समाचारलाई पहिलो समाचारको रुपमा छापेको छ । २०७० सालदेखि २०७४ सालसम्मका दुर्घटना विवरणलाई समेटेर तयार पारिएको समाचारमा चालकको सानो गल्तीले ठूलो दुर्घटना हुने गरेको उल्लेख छ ।

त्यससँगै सुनको भाउ ६ वर्षयताकै महंगो भएको समाचार पनि नागरिकमा छ । अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको समाचारमा उल्लेख छ । शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ । यो भाउ २०६९ भदौयता सबैभन्दा महंगो रहेको समाचारमा लेखिएको छ ।

गाउँभरि हलिया

सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेको १० वर्ष भइसक्यो तर सुदूरपश्चिमका पहाडी जिल्लामा भने हलिया प्रथा कायमै रहेको खबरलाई कान्तिपुर दैनिकले पहिलो समाचार बनाएको छ ।

‘गाउँभरि हलिया’ शीर्षकको समाचारमा बझाङको थलारा गाउँपालिका ६ बिस्खेतको समाचार छ । समाचारमा लेखिएको छ, ‘फौजदारी अपराध संहिताले हलिया राख्नेलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र तीन हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । तर, सुदूरपश्चिमका पहाडमा अझै पनि यही प्रथाको आडमा हुनेखानेले गरिब र दलित समुदायको हदैसम्म श्रम र आर्थिक शोषण गरिरहेका छन् ।’

कान्तिपुरले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेलाई मुद्दा नचलाइएको अर्को समाचार पनि पहिलो पृष्ठमै छापेको छ । प्रहरी अधिकारीहरुबाटै प्रमाण नष्ट गरिएको भनेर गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही नगरिएको प्रसंगलाई समाचारमा समेटिएको छ ।

प्रहरीले निर्मलाको सुरुवाल धोएको र शव पखालेको भिडियो सार्वजनिक भएको औंल्याउँदै प्रतिवेदनमा यसलाई प्रमाण नष्ट पारेको उल्लेख गरिएको छ ।

कानुनमा प्रमाण नष्ट गर्नेहरु कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधानको पनि समाचारमा उल्लेख छ ।

राजधानीका टोलटोलमा मिनि क्यासिनो

नयाँ पत्रिका दैनिकले ‘राजधानीका टोलटोलमा मिनि क्यासिनो’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । क्यासिनोकै शैलीमा चलाइएको जुवाखालमा लाखौं हारजित हुने गरेको समाचारमा उल्लेख छ ।

क्यासिनोमा नेपालीलाई प्रवेशमा कडाइपछि सुरु भएका जुवा अखडा दशैं नजिकिएपछि फस्टाएका छन् । त्यस्ता जुवाखालमा म्यारिज खेल धेरै हुने गर्छ । कतिपयमा कौडा चल्ट । चाडपर्वमा यसरी संगठित रुपमा सञ्चालन हुने जुवाघरहरु निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

शपथ खाँदै, घुस लिँदै

अन्नपूर्ण पोष्ट दैनिकले दशैंको बेला घर फर्किनेहरु सीमा क्षेत्रमा लुटिएको समाचारलाई पहिलो प्राथमिकताका साथ छापेको छ । ‘देश छिर्दा लुटलाट’ शीर्षकको समाचारमा गड्डाचौकी नाकामा भारतीय सुरक्षाकर्मीले ठाउँठाउँमा खानतलासी गर्दै दुःख दिने र पैसा माग्ने गरेको उल्लेख छ । समाचारमा लेखिएअनुसार बनबासादेखि गड्डाचौकीसम्म पुग्दा पाँच ठाउँमा झोला खोतलिएको र पटकपटक कम्तिमा २० रुपैयाँदेखि बढीमा दुई सय रुपैयाँसम्म भारतीय सुरक्षाकर्मीलाई बुझाउनुपर्ने बाध्यता रहेको छ ।

अन्नपूर्णले नै कर्मचारीहरुले घुस नखाइ काम गर्ने शपथ लिए पनि घुस खान भने नछाडेको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खाएर मात्र काम सुरु गर्न परिपत्र गरेको थियो । तर कसम खाएको १० दिन नबित्दै १६ जना घुस लिएका कारण पक्राउ परेको समाचार अन्नपूर्णमा छ ।

फेरि अर्को बलात्कारः छिमेकीद्वारा बालिका बलात्कृत

राजधानी दैनिकले शुक्रबार सिन्धुली र नुवाकोटमा भएका बस दुर्घटनाका समाचारलाई पहिलो प्राथमिकताका साथ छापेको छ । साथै सप्तरीमा १४ वर्षीया बालिका बलात्कृत भएको समाचारलाई पनि महत्व दिइएको छ ।

सप्तरीमा यसअघि पनि ७१ वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कृत भएका थिए । त्यो घटना भएको एक साता नबित्दै जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा बिहीबार १४ वर्षीया अर्की बालिका बलात्कृत भएकी हुन् ।

प्रहरीका अनुसार घरमा एक्लै रहेकी ती बालिकालाई छिमेकी १७ वर्षीय युवकले केही काम छ भन्दै फकाएर कोठामा लगेर बलात्कार गरेको समाचारमा उल्लेख छ । डिएसपी भावेश रिमालका अनुसार युवकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment