Comments Add Comment

वासुदेवको ‘वसन्तवृक्ष’: हाइकु साहित्यको कल्पवृक्ष

हाइकु ५–७–५ को वर्णसंरचनात्मक ढाँचामा तीन हरफमा १७ अक्षर समावेश गरी लेखिने जापानी साहित्य विधा हो । यो विधा शुरुमा होक्कुको रूपमा परिचित भए पनि पछि होक्कुबाट हाइकु बन्न पुगेको हो । छैठौं शताब्दीबाट लिखित इतिहास भेटिएको जापानी साहित्यमा हाइकुको आरम्भकाल भने आठौं शताब्दीलाई मानिन्छ । तथापि शुरु भएको करीब एक हजार बर्षसम्म यो विधा अन्य नामबाट नै परिचित थियो ।

हाइकु खासगरी भ्रमण गरेर लेखिने विधा हुनाले पनि यसको लेखनमा लाग्नेहरु विशेषगरी जापानीहरु भ्रमणमा बढी निस्कन्थे । यही क्रममा हाइकुको प्रचार–प्रसार पनि भएको मान्न सकिन्छ । नेपालमा भने हाइकुको लेखन प्रक्रिया साढे पाँचदशक लामो मात्रै भेटिएको छ ।

वास्तवमा हाइकु देख्दा जति सरल र तुरुन्तै लेखिन्छ भन्ने आभाष नेपाली साहित्य फाँटमा पर्न गएको छ एउटा सबल हाइकु लेख्न त्यति सजिलो भने पक्कै छैन । एउटा सफल हाइकुले मानवीय मष्तिस्कलाई ज्ञानको मैदानमा विस्फोटित गराउने हिम्मत राख्दछ । त्यसैले हाइकु साहित्यलाई विश्व साहित्य माझ ‘अणु साहित्य’ को उपमा दिने गरिएको छ । यस्तो उच्चतम साहित्य नेपालमा २०१९ सालमा निबन्ध शिरोमणि शंकर लामिछानेले भित्राएको मानिन्छ ।

शुरुमा यो विधा त्यत्तिकै खिसिट्यूरीमैं आलोचित यस विधा भए पनि ०२७ सालसम्म आइपुग्दा निकै संख्यामा लेखकहरू जन्मिएको कुरा स्वयं लामिछानेले ०२७ सालको असोज महिनामा प्रकाशित रुपरेखा पत्रिकाको पूर्णाङ्क ११३ मा लेख प्रकाशन गरी उल्लेख गरेका छन् ।

यसरी इतिहास निर्माण गर्दै आएको यो विधा ०५८ सालपछि निक्कै नै विकसित भएको देखिन्छ । हालका दिनमा देखिएको हाइकु लेखनको प्रतिस्पर्धाले भने लेखनको प्रतिस्पर्धा मात्रै हुने तर त्यसको लेखनविधिबारे खासै अध्ययन तथा खोजी नहुने तथ्यले केही सैद्धान्तिक विचलन आएको हो कि भन्ने आभाष पनि हुने गरेको छ । यस्ता विचलनलाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने हेतु सिद्धान्तका बारेमा सामान्य जानकारीसहित लेखक वासुदेव गुरागार्इँले यस ‘वसन्त वृक्ष’ हाइकु कृतिमा हाइकुका बारेमा जान्दै नजान्नेका लागि पनि केही ज्ञान पुगोस् भनेर शुरुमैं हाइकुसम्बन्धी सामान्य जानकारी राख्नु प्रशंसनीय कार्य हो ।

लेखक वासुदेव गुरागाइँको यस कृतिमा हाइकु लेखन मात्र छैन, लेखिएका हाइकुलाई वर्णानुक्रममा मिलाएर चिरिच्याट्ट पार्नुले नेपाली हाइकु लेखनमा नयाँ आयाम थपिएको छ । यसका अलावा प्रयोगित क्लिस्ट शब्दहरुको जानकारीका लागि वोदार्थजस्तै गरी शब्दार्थ राख्नु कृतिको अर्को सबल पक्ष हुन गएको छ ।

योभन्दा पनि गहन विषय त यो छ कि लेखकले कृति लेखनका क्रममा अाफूले पाएका ज्ञानको आधार सन्दर्भ सूचीको रूपमा उल्लेख गर्नुले एकातिर कृतिलाई ओजपूर्ण बनाएको छ भने अर्कातिर यसले भोलिका दिनमा हाइकुबारे अध्ययन एवं अनुसन्धान गर्न चाहने जोकोही जिज्ञासुका लागि सन्दर्भ सामग्री खोज्नका लागि एउटा आधार तयार पारिदिएको छ । आगामी दिनमा हाइकु लेखनमा यसको प्रयोग हुन सक्यो भने अध्ययनको पाटोबाट पनि अझ सहजता थपिने पक्का छ ।

नेपालकै अन्य साहित्यिक विधाहरू युवाहरूमाझ स्थापित हुन नसकिरहेको बेला हाइकुले यति छिटो आप्mनो प्रभाव जमाएको छ कि यो अकल्पनीय उपलब्धि मान्न सकिन्छ । जस्तोः व्यङ्ग्य लेखन क्षेत्रलाई हेर्न सकिन्छ । केशवराज पिँडाली, भैरव अर्याल, वासुदेव लुइँटेल (भुतको भिनाजु) हुँदै आजका चट्याङ्ग मास्टर, मनोज गजुरेल, नरनाथ लुइँटेल (जुँगेकाजी) सम्म आइपुग्दा पनि त्यसपछिका युवा पिँढीमा यस विधाले सोचेजस्तो प्रभाव जमाउन सकेको छैन । तर हाइकु विधाले छोटो समयमा नै धेरै युवा लेखकहरू जन्माइसकेको छ । यसबाट हाइकुको भविष्य पक्कै पनि आशलाग्दो छ भन्न सकिन्छ ।

नेपालमा पचासको दशकपछि मात्र हाइकुले प्रभाव जमाउन थालेको हो । यसको लेखकीय संरचनालाई ख्याल नगरी मात्र ५–७–५ को संरचनालाई मात्र ध्यान दिनुले कतिपय हाइकु लेखकहरु हल्लै हल्लामा दौडेको जस्तो देखिन्छ । यद्यपि, हाइजीन गुरागाईँका हाइकुहरु अधिकांश स्थानमा हाइकुको संरचनालाई पछ्याएका भेटिन्छन् ।

हाइकुको थोरबहुत अध्ययन गरेर मात्र लेखन कार्यमा लागेका लेखक गुरागार्इँका वसन्त वृक्ष नामक कृतिमा कूल १ हजार हाइकुहरुमा पनि केही हाइकु जस्तै बनेका छन्, केही हाइकु शैलीमा गुँथिएका छन् भने धेरैजसो हाइकुहरु प्रकृति विम्ब चिन्तन, काल, सौन्दर्य आदि हाइकुलाई चाहिने विषयसँग नजिक रहेर ओजपूर्ण तरिकाले रचिएका छन् । जस्तो ः

नेता न नेती

पत्याऊ नपत्याऊ

झूठको खेती

प्रस्तुत हाइकुमा राजनीतिक वितृष्णाबाट विछिप्त भएर लेखकले नेतृत्वमा नेती अर्थात् परिवर्तनको लहर र ताकतबिनाका नेताहरुमा जम्मा हुने गरेको जसबाट देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन भन्दा पनि व्यक्तिगत र समूहगत स्वार्थमा मात्र लिप्त हुँदै भूmठको खेतीमा मात्र तल्लीन भएकोतर्फ लेखकले औंल्याएका छन् । त्यस्तै उनका कैयन हाइकुहरु प्रेम र वियोगपूर्ण विसादबाट पनि ग्रसित छन् । विशेष गरी हाइकु भित्रै पनि सेन्¥यु लेख्न सकिन्छ भन्ने पुष्ट उदाहरण लेखक गुरागाईँको यस कृति वसन्त वृक्षबाट ज्ञात हुन्छ । हेरौं उनका हाइकुको नियमभित्र रहेर पनि अब्बल बन्न पुगेका केही सेन्र्‍युः

न्यायको तुलो

हतियारको हौवा

समुद्री माछा ।।

पार्टी एकता

टालेको पेटिकोट

अदृश्य प्वाल ।।

बन्द बाकस

जीवनका सपना

घाटमा सँगै ।।

समाजको परिवेशमा चेतना टक्क अडिनासाथ कौतुहल पैदा हुने र त्यही कौतुहलले साहित्य जन्माउने विचार राख्ने लेखक गुरागाइँ सरकारी सेवाबाट सेवानिवृत्त सह–सचिव हुन् । आफ्नाे सेवाकालमा उनले देखेका, भोगेका तथा कतिपय सुनेका तथ्यहरुको संकलनलाई साहित्यको कसिमा लगाउँछन् र कृति रचना गर्न पुग्छन् । यस वसन्त वृक्षमा पनि कतिपय देश तथा विदेशमा बटुलेका अनुभवको प्रस्फुटन देख्न पाइन्छ ।

उनका हाइकुहरु प्रेम, वियोग, राजनीति, विकृति, विसङ्गति, लुट, भ्रष्टाचार आदि विषयलाई केन्द्रविन्दुमा राखेर तयार गरिएका छन् । उनका यी हाइकु हेरौंः

क्षेप्यास्त्र वार्ता

भँगेराको शिकार

मासुको थुप्रो ।

माया पिरती

अरिङ्गालको गोलो

छोयो कि फस्यो ।।

परो पकार

शक्तिहीन चोभार

जे पनि निल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment