News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरी–४ निर्वाचन क्षेत्रमा आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ र २५ उम्मेदवार चुनावी मैदानमा छन्।
- नेपाली कांग्रेसले तेजुलाल चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेबाट गंगाप्रसाद चौधरी, जसपा नेपालबाट डा. बबी सिंह यादव उम्मेदवार छन्।
- निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेपछि सबैले प्रचारमा जुटेका छन् र मत परिणामका लागि २१ फागुन कुर्नुपर्नेछ।
१५ माघ, सप्तरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चा सबैतिर छ । मधेश प्रदेशमा पर्ने सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि यो चर्चा चुलिँदैछ ।
यस क्षेत्रमा नेपाली कांग्रेसले पूर्वमन्त्री तेजुलाल चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेबाट पूर्वसांसद गंगाप्रसाद चौधरी, जनता समाजवादी पार्टीबाट डा. बबी सिंह यादव उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सिताराम साहलाई उठाएको छ । लामो समय कांग्रेसमा रहेका सिताराम टिकट पाउने पक्का गरेर रास्वपा प्रवेश गरेका हुन् ।
सप्तरी–४ मा नेपाली कम्युनिष्ट पार्टीले मधेश प्रदेशकी पूर्वराज्यमन्त्री रुवीकुमारी कर्णलाई अघि सारेको छ । जनमत पार्टीबाट जितेन्द्रकुमार साह, आम जनता पार्टीबाट अनिताकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपकुमार न्यौपाने, नेपाल जनता पार्टीबाट कोशलकिशोर दास, नेपाल मजदुर किसान पार्टीबाट रामनारायण साह, उज्यालो नेपाल पार्टीबाट विशोकुमार यादवलगायत उम्मेदवार छन् । राजनीतिदलबाट १४ जनाको उम्मेदवारी हुँदा ११ स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सबै आआफ्नो प्रचारमा जुटेका छन् । वर्षौंदेखि उम्मेदवार बन्दै र जित्दै आएकादेखि पहिलोपटक उम्मेदवार बनेकाहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुनेजस्तो देखिएको छ ।
मतदानको समय आउन अझै धेरै दिन बाँकी रहेकाले सम्भावित परिणामबारे अहिले नै यकिन भन्ने सकिने अवस्था छैन । यद्यपि, उम्मेदवारहरूको पृष्ठभूमिलाई लिएर चर्चाहरू भने भइरहेका छन् ।
जेनजी आन्दोलनपछिको अवस्थामा नवीन कांग्रेस अनिवार्य रहेको भन्दै विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेको कांग्रेसले उठाएका तेजुलाल चौधरी राजनीतिमा वर्षौं बिताएका नेता हुन् ।

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनदेखि २०७४ र २०७९ का प्रतिनिधिसभा चुनावका उनी निरन्तर विजेता हुन् । लगातार तीन जितसँगै उनले ह्याट्रिक लगाइसकेका छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका तेजुलालले संघीय सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयसमेत सम्हालिसकेका छन् ।
चौथो जितको खोजीमा रहेका तेजुलाललाई चुनावको मुखैमा लामो समयदेखिका सहयात्री तथा कांग्रेसको क्षेत्र नम्बर ४ का सभापति सीताराम साहले साथ छोडेका छन् । २८ पुसमा कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका सीताराम पनि यसपटक चुनावी मैदानमा उत्रिएका छन् ।

जेनजी आन्दोलन र बालेन्द्र साहको रास्वपा पार्टी प्रवेशपछि बढेको क्रेजबाट चुनावी नतिजा निकाल्न सक्ने आशमा सीताराम रास्वपा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसमा रहँदा २०७४ मा मधेश प्रदेश सभा सदस्यका लागि सप्तरी– ४(क) र २०७९ को स्थानीय तह निर्वाचनमा खडक नगरपालिकाबाट मेयरका प्रत्यासी बनेका सीतारामले दुवैपटक पराजय व्योहोरे । यसपटक भने उनी नयाँ मतदाता र नयाँलाई छान्ने भन्ने लहर समाउँदै आफ्नो डुंगा पार लगाउने तयारीमा छन् ।
एमालेले उम्मेदवार बनएका गंगाप्रसाद चौधरी पूर्वसांसद हुन् । २०५१ मा प्रतिनिधिसभा सदस्यको लागि भएको मध्यावधि निर्वाचनमा विजयी भएका गंगाप्रसाद त्यसयता चुनाव लडेका थिएनन् ।

जसपा नेपालले केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई उठाएको छ । उनी नयाँ अनुहारका रूपमा चुनावी मैदानमा छिन् ।
मधेसी एकता समाज नेपालका अध्यक्ष समेत रहेकी बबी सामाजिक कार्यमा सक्रिय रहने गरेकी छन् ।जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवकी छोरी भएकाले बबीलाई केही लाभ पनि छ र केही नोक्सान पनि । सप्तरी ४ रेणु यादवको गृह क्षेत्र पनि भएकाले त्यसको लाभ पनि उनलाई हुन सक्ने देखिन्छ ।

तर, उनले परिवारवादको आरोप सामना गर्न त्यति सहज छैन । किनभने, हाल राष्ट्रिय सभा सदस्यसमेत रहेका मृगेन्द्रकुमार सिंहकी छोरी बबीको परिवारका धेरैजना सार्वजनिक लाभको पदमा छन् । मृगेन्द्रका भाइ अनिरुद्रप्रसाद सिंह यादव सप्तरी ४ (२)बाट मधेश प्रदेशका सांसद छन् । अनिरुद्रप्रसादका छोरा आतेशकुमार सिंह बोदेबरसाइन नगरपालिकाका मेयर छन् ।
नेपाली कम्युष्टि पार्टीले मधेश प्रदेशका पूर्वआन्तरिक माहिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णलाई अघि सारेको छ ।

जनमत पार्टीले जितेन्द्रकुमार साहलाई उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा जनमतबाट उम्मेदवार रहेका सुकदेवप्रसाद साहले यसपटक मौका पाएनन् । पार्टीले उनको स्थानमा नयाँ अनुहारको रूपमा जितेन्द्रकुमारलाई अघि सारेको हो ।

आम जनता पार्टीबाट अनिताकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी रुपकुमार न्यौपाने, नेपाल जनता पार्टीबाट कोशलकिशोर दास उम्मेदवार छन् ।
नेपाल मजदुर किसान पार्टीले यहाँबाट रामनारायण साहलाई उम्मेदवार बनाएको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट विशोकुमार यादवको उम्मेदवारी छ ।
विगतमा को कति बलियो ?
संविधानसभाबाट २०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ मा प्रतिनिधिसभा सदस्यका लागि पहिलो निर्वाचन हुँदा कांग्रेसले बाजी मारेको थियो ।
कांग्रेस उम्मेदवार तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याई विजयी हुँदा संघीय समाजवादी फोरम र राजपाका साझा उम्मेदवार मृगेन्द्रकुमार सिंह यादव निकटतम प्रतिस्पर्धी बनेका थिए । फोरम र राजसपाका साझा उम्मेदवार भए पनि मृगेन्द्रकुमारले जम्मा १४ हजार ८८६ मत मात्र पाएका थिए ।
एमालेका मोहम्मद इस्लाम ११ हजार २९४ मतसहित तेस्रो स्थानमा रहे ।
पाँच वर्षपछि २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुन तेजुलालले बाजी मारे । यसपटक उनी तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एककीकृत समाजवादीलगायत पाँच दल मिलेर बनेको गठबन्धनका साझा उम्मेदवार थिए ।
पाँच दलका साझा उम्मेदवार बनेका तेजुलालको मत भने यसपटक घट्यो । उनले २३ हजार ४९१ मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमाले र जसपा गठबन्धनका उम्मेदवार बालकिशोर यादवले १७ हजार ९७७ मत ल्याए ।
तेस्रो स्थानमा जनमत पार्टीका सुकदेवप्रसाद साह रहे । उनले १२ हजार ९२५ मत प्राप्त गरे ।
२०७९ मा प्रदेशतर्फको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हावी रह्यो । सप्तरी– ४ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र १ मा पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने ११ हजार ४२९ मत ल्याई विजयी बने ।
संघीय निर्वाचन क्षेत्र ४ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्रकुमार सिंहले बाजी मारे । उनले नौ हजार ९८५ मत प्राप्त गरे । पछि उनी जसपामा प्रवेश गरे । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अनिरुद्रकुमारका निकटतम प्रतिस्पर्धी रहेका जसपाका अभिषेक यादव । उनले ७ हजार ९२० मत ल्याएका थिए ।
सप्तरी ४ मा जिल्लाका खडक, बोदेबरसाइन, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिका गरी चार वटा पालिका पर्छन् ।
यी चार स्थानीय तहमध्ये सुरुङ्गा नगरपालिका नगर प्रमुख, उपप्रमुख नेपाली कांग्रेसका छन् । खडक नगरपालिकाको प्रमुख हालको नेपाली कम्युनिष्ट पार्टी र बोदेबरसाई नगरपालिकाको प्रमुख, उपप्रमुख जसपा नेपालका छन् । खडक नगरपालिको उपप्रमुख पनि जसपा नेपालबाटै निर्वाचित भएका हुन् । बलान बिहुल गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष छन्।
एक लाख ९ हजार ५ सय ६६ मतदाता रहेको यस क्षेत्रमा २५ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरूमध्ये कसले बाजी मार्ने हुन् ? परिणामका लागि २१ फागुनसम्म कुर्नैपर्नेछ ।
प्रतिक्रिया 4