Comments Add Comment

भगवान भरोसामा चल्छ दशैंको ‘ओभरलोड’ यात्रा

३० असोज, काठमाडौं । दशैंको मुखमै पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकामा गतसाता ट्रक र माइक्रो बस ठोक्किँदा चार जनाको ज्यान गयो । निकै भायानक तवरले भएको यो दुर्घटनामा दर्जनभन्दा बढी घाइते भए । दशैं नजिकिएसँगै नेपालमा यस्ता सवारी दुर्घटनाको क्रम बढ्ने गरेको छ । अब घटस्थापनापछि बसपार्कहरुमा घर फर्किनेको लर्को लाग्छ, त्यसपछि दुर्घटनाको संख्या पनि ह्वात्तै बढ्छ ।

चाडबाडको समयमा दुर्घटना रोक्ने सरकारसँग कुनै ठोस योजना छैन । त्यसैले यात्रुलाई सडक मार्ग भएर गरिने यात्रा ‘भगवान भरोसा’ मै चल्ने गरेको छ ।
तीव्र गतिमा हाँकिने गाडी, खुट्टा राख्ने ठाउँ नहुँदा समेत मान्छे कोचिरहने चालक/सहचालक अनि छत वा ढोकामा झुण्डिएर गर्नुपर्ने यात्राका कारण दुर्घटना बढ्ने गरेको पाइन्छ ।

एकसमय सिन्डिकेट तोडेको बताउने सरकारले मनलाग्दी उठाइने भाडा लगायतको विकल्पसमेत दिन सकेको छैन । घर जानेेलाई जस्तो हण्डर खेपेर भए पनि पुग्नैपर्ने बाध्यता छ । यस्तो असहज र असुरक्षित यात्रामा निस्कनेहरुले सुरक्षाका लागि पुकार्न सक्ने भनेको भगवान मात्रै हो ।

यस्तै कारणले दशैंको समयमा सवारी दुर्घटना बढ्नु नेपालमा ‘सामान्य’ जस्तै भइसकेको छ । झन ग्रामीण सडकमा बाटोको गुणस्तर कमजोर भएका कारणले पनि यो समयमा दुर्घटनाको जोखिम उच्च हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता दामोदर भण्डारी यो समयमा यात्रु प्रशस्तै पाइने भएकाले गाडीहरुले धेरै ‘टि्रप’ गर्ने चक्करका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । उनी दिनमा सकेसम्म बढी ट्रिप यात्रु ओसार्ने धुनमा जथाभावी तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्ति यात्रुका लागि दशा बन्ने गरेको टिप्पणी गर्छन् ।

पैसा धेरै कमाउने लहडमा लगातार सवारी चलाइरहने कारणले गर्दा चालकहरु थाक्ने र सवारी पनि कन्डिसनका नहुने अवस्थाले पनि दुर्घटना यही समयमा बढ्ने गरेको निश्कर्ष ट्राफिक प्रहरीको छ । दशैंको समयमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम पनि बढ्छ । यो पनि दुर्घटना वृद्धिको अर्को कारक मान्छन्, सहप्रवक्ता भण्डारी ।

ट्राफिक प्रहरीले राजमार्गहरुमा यस्ता प्रवृत्तिहरु निरुस्ताहित गर्न विभिन्न प्रयास गरे पनि सचेतनाको पाटो कमजोर हुँदा पनि समस्या आएको तर्क उनको छ ।

ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना घट्न गाह्रो छ । तर, सरोकारवाला नियकायले यो समयमा दुर्घटना घटाउन संयुक्त प्रयासहरु गरेका छैनन् । सँधैजसो दशैं-तिहारको समयमा सडकमा दुःखद घटना बाक्लो मात्रामा हुने गरे पनि न्युनीकरणमा राज्य संयन्त्र उदासीन देखिने गरेको टिप्पणी सुनिन्छ ।

यातायात व्यवस्था विभागसँग यो वर्ष पनि दुर्घटनाको जोखिम घटाउने भन्ने स्पष्ट योजना छैन । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्याय दुर्घटना हुने क्रमलाई घटाउन विभिन्न प्रयास भइरहेको दाबी गर्छन् । यसका लागि ट्राफिक प्रहरीलाई पत्र काटेर सक्रिय बन्न भनिएको उनी बताउँछन् ।

दशैंको समयमा सवारीमा सिट क्षमताभन्दा अत्यधिक यात्रु कोचिन्छन् । विभागले ट्राफिक प्रहरीलाई यसमा विशेष निगरानी गर्न भनेको उपाध्यायको भनाइ छ ।

लामो दूरीमा आलोपालो चलाउने गरी ड्राइभर राख्न र छतमा यात्रुको समान नराख्न पनि निर्देशन दिएको उपाध्यायले बताए । विभागले सञ्चार माध्यममार्फत सचेतनामूलक सन्देश दिने अभियान पनि सुरु गर्न लागेको छ ।

त्यस्तै प्रहरीलाई राजमार्गको विभिन्न स्थानमा ‘रिफ्रेस’ सेन्टरहरु राखेर बसहरुलाई रोकेर चालालाई ‘रिफ्रेस’ हुने वातावरण मिलाउन पनि भनिएको उपाध्यायले बताए ।

‘राजमार्ग तथा सहायक मार्गहरुमा प्रहरीले निगरानी बढाउँछ । तर, ग्रामीण सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय अन्तरगतको यातायात व्यवस्थापन समितिहरुको जिम्मेवारी हुन्छ’ उनले भने, ‘सीडीओ साहेबहरुले आफ्नो जिल्लाको ग्रामीण भेगमा चल्ने सवारी र सडकको अवस्था राम्रोसँग हेरेर चल्ने अनुमति दिने व्यवस्था गर्नुहुनेछ ।’

उनले सडकमा प्रशासन कार्यालयबाट अनुगमन, निगरानी र कारवाहीको अभियान चलाइने हुँदा दुर्घटना न्यून गर्न सहयोग पुग्ने दाबी गरे ।

अहिले ग्रामीण सडकमा रुट इजाजत जारी गर्ने कमा जिल्ला प्रशासन कार्यालयहरुबाटै हुने गरेको छ । वर्षायाममा बिगि्रएर जोखिमयुक्त बनेका सडकका बारेमा अध्ययन नै नगरी बस चल्न अनुमति दिँदा दशैंमा यस्ता सडकमा दुर्घटना बढ्ने गरेका छन् ।

यस्तो अवस्थामा दशैंको समयमा हुने दुर्घटना घटाउन सरकारले मात्रै हैन, यात्रु र यातायात व्यवसायीले पनि आफ्नो जिम्मेवारी पूरा गरेको पाइँदैन । दशैंमा घर किनमेल गर्न बजार आउने, बाहिर रहेका घर फर्किने र टीका थाप्न आफन्तको आउजाउ गर्ने लगायत विभिन्न कारण एकैपटक सार्वजनिक सवारीमा चापपर्छ ।

सवारीभित्रै खाँदिएर घर पुग्ने यात्रुको आकांक्षा र व्यवसायीको पनि एकैपटक कमाउन दुषित मनासयले दुर्घटनालाई बढाइरहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।

सँगै छतभरि समान र यात्रु राख्ने र ढोकासम्मै यात्रु झुण्डाएर लिएर हिँड्ने दृश्यलाई प्रहरी र ट्राफिक प्रहरीले पनि दशैंमा समान्यरुपमा व्यवहार गर्ने गरेको पाइन्छ ।

व्यवहारिकता हेरेर ट्राफिक नियम मिच्नेलाई पनि कारवाही नगर्दा निम्तिन सक्ने ठूलो दुर्घटनामा भने राज्यपक्ष र प्रहरी सचेत नदेखिएको उपभोक्ताकर्मी अध्यक्ष विमला खनाल बताउँछिन् ।

‘ट्राफिक प्रहरीले आँखा चिम्लिँदा समस्या हुन्छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नै दिनु हुँदैन’ खनाल भन्छिन्, ‘मापसेलाई जसरी ट्राफिक गर्‍यो, यसलाई पनि त्यसै गरी लिनुपर्छ ।’

सँगै चालकलाई एकोहोरो लामो समय ड्राइभिङ गराउने र सवारीको प्राविधिक चेकजाँचमा वेवास्ता गर्ने यातायात व्यवसायीको प्रवृत्तिले पनि दशैंको बेलामा दुर्घटना बढाउन भूमिका खेल्ने गरेको छ ।

बाँकेको राप्ति सोनारीमा भएको दुर्घटना । तस्वीरः फाइल ।

सडकको दूरावस्था पनि सडक दुर्घटनाको अर्को महत्वपूर्ण कारक बनेको यातायात व्यवसायी बताउँछन् । सडकका खाल्डा पुर्न, आवश्यक स्थानमा ट्राफिक संकेत राख्न र छेकबार लगाउन सडक विभागको ध्यान नपुग्दा समस्या भएको यातायात व्यवसायी बताउँछन् ।

‘सडकको अवस्था यति खराब छ कि हामीले वयान नै गर्नुपर्दैन । राजमार्गहरुको अवस्था त यस्तो छ भने ग्रामीण सडकहरुको अवस्था कस्तो होला, हामीले भनिरहनु नै पर्दैन’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन् ।

उनी दुर्घटनाको दोष आफूहरुलाई मात्रै लगाएर सरकार जिम्मेवारीबाट पन्छिरहेको आरोप लगाउँछन् । ‘बढी दुर्घटना के कारणले भएका छन् भनेर सरकारले पुराना प्रतिवेदन पल्टाएर हेरोस् । त्यसैअनुसार नीति ल्याओस् । सडकको अवस्था नसुधारेसम्म व्यवसायीलाई मात्रै दोष दिएर हुँदैन’ सिटौला भन्छन् । सिटौलाले सडकको दुरावस्था नै दुर्घटनाको प्रमुख कारक भएको दावी दोहोर्‍याउँछन् ।

दशैंको समयमा मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने र ओभरलोड हुँदा पत्रि यात्रु कोचिरहने वास्तविकताले दशैंको समयमा दुर्घटनाका समाचार वृद्धि हुने गरेको ट्राफिक प्रहरीको निश्कर्ष छ । त्यसैले उसले दशैंमा मापसे चेकिङमा कडाइको योजना बनाइसकेको छ ।

तर, ग्रामीण सडकमा चल्ने सवारीमा मापसेे चेकिङको प्रभाव पनि पर्दैन । किनभने जिल्ला सदरमुकामहरुमा जस्तो गाउँमा पर्याप्त ट्राफिक प्रहरी खटिएका हुँदैनन् ।

अर्को पक्ष के छ भने ग्रामीण भेगमा चल्ने सवारीहरु थोत्रा छन् । राजमार्गमा चलेर ‘कवाडी’ मा हाल्नुपर्ने अवस्थामा धेरै सवारीलाई ग्रामीण रुटमा चलाउने गरिएको छ । यी थोत्रा सवारीको पनि व्यवसायीले नियमित चेकजाँच नगर्ने प्रवृत्ति व्याप्त छ ।

यसरी चलेका सवारी प्राविधिक गडबडीले कतिबेला सडक छाडेर भीरको दिशा लिन्छन् भन्ने टुंगो छैन । सँगै ग्रामीण सडकमा चालकले सहचालकलाई सवारी चलाउन दिने प्रचलन पनि पुरानै हो, जसले दुर्घटना बढाउने गरेको छ ।

दशैंका लागि पर्याप्त संख्यामा गाउँघरसम्म जाने सवारी थपिँदैनन् । तिनै कमजोर क्षमता सवारीमा अत्यधिक लोड हुँदा सवारीले उल्टो गति लिएर भएका भयानक घटना प्रशस्तै हुने गरेको उपभोक्ताहरुको गुनासो छ । तथापि यति धेरै समस्याका बीच यो वर्ष पनि यस्ता समस्या हटाउने गरी एउटै पनि प्रयास भएको छैन ।

यही समयमा बसहरुले धमाधम क्यारियर (छत) राखेका छन् । दशैंको मुखमा विभिन्न ग्यारेजमा बसहरुमा छतहरु जोडिँदैछन् । छत राख्ने विषयमा सरकार व्यवसायीप्रति नरम बन्दा दशैंमा छतको यात्रा यो वर्ष बाक्लो देखिने उपभोक्ताकर्मी बताउँछन् ।

यात्रुलाई छतमा सामान लैजान दिनैपर्ने नाममा बसहरु व्यवसायिक प्रयोजनका समान बोक्ने काम हुने भएकाले यसले सकडमा अर्को जोखिम थप्ने गरेको छ । यसले ओभरलोडको जोखिम र दुर्घटनाको भय बढाउने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

ग्रामीण क्षेत्रमा जाने बसहरुले गाउँका किरानाका समानदेखि निर्माण समाग्रीसम्म छतमै बोक्ने गरेका छन् । झन दशैंको समयमा त बसमा पर्ने यात्रुको चापले ओभरलोड हुने र दुर्घटना हुने जोखिम बढेको उपभोक्तकर्मीहरु तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment