Comments Add Comment

जे. के. रोलिङ:  पुस्तक लेखेरै धनाढ्य सूचीमा

लेखक, साहित्यकारले नाम मात्रै कमाउँछन्, पैसा कमाउँदैनन् भन्ने आम धारणा छ । हुन पनि अपवादबाहेक धेरैजसो लेखकले टन्न पैसा कमाएको देखेका छैनौं । तर, यस्तै अपवादमा पर्छन्, ‘हृयारी पोटर’ उपन्यासकी लेखक जे.के. रोलिङ ।

स्वैरकाल्पनिक उपन्यास श्रृंखला ‘हृयारी पोटर’ले बेलायती लेखक रोलिङलाई पुस्तक लेखेरै अर्बपति बन्ने पहिलो लेखकको रुपमा चिनाउन सफल भयो । साथै विश्वकै शक्तिशाली महिलाको सूचीमा पनि उनी अटाइन् । फोर्ब्स म्यागेजिनका अनुसार उनले सन् २०१७ मा मात्रै पाँच करोड चालिस लाख अमेरिकी डलर कमाएकी छिन् ।

विश्वभरमा तहल्का मच्चाउन सफल ‘हृयारी पोटर’ उपन्यास श्रृंखलाका पुस्तकहरु ८० भन्दा धेरै भाषामा अनुवाद भएर प्रकाशित भइसकेका छन् । अहिलेसम्म ५० करोडप्रति भन्दा बढी बिक्री भएर यो पुस्तकले इतिहासमै धेरै बिक्री भएको उपन्यास श्रृंखलाको रुपमा कीर्तिमान राखेको छ ।

बालबालिका र किशोरकिशोरीले अत्यधिक मनपराएको ‘हृयारी पोटर’ श्रृंखलामा आधारित भएर हलिउडमा आठवटा फिल्म बनेका छन् र सबै चलचित्र सुपरहिट भएका छन् ।

सन् १९९७ मा प्रकाशित हृयारी पोटर श्रृंखलाको पहिलो उपन्यास ‘द फिलोसोर्फस स्टोन’ ले नै रोलिङलाई रातारात चर्चित बनायो र त्यसपछि वर्षैपिच्छे जस्तो गरी आएका श्रृंखलाहरुले उनलाई सफलताको शिखरमा पुर्‍यायो ।

जन्म र बाल्यकाल

सन् १९६५ जुलाई ३१ मा बेलायतको ग्लुसेस्टरसायरमा जन्मिएकी रोलिङको वास्तविक नाम भने जोयनी रोलिङ हो । पहिलो उपन्यासका प्रकाशकले उनलाई संक्षिप्त नाम राख्न आग्रह गरेपछि उनले आफ्नो नाम जोएनीको पहिलो अक्षर जे र हजुरआमाको नाम क्याथलिनको पहिलो अक्षर के मिलाएर जेके राखेकी थिइन् ।

रोलिङको जन्म सामान्य परिवारमा भएको थियो । उनका पिता पिटर जेम्स रोलिङ रोल्स रोयसका एयरक्राफ्ट इन्जिनियर थिए र भने आमा एन्नी रोलिङ विज्ञान प्राविधिक थिइन् । उनी २३ महिनाको हुँदा आमाले बहिनी डेएनीलाई जन्म दिएकी थिइन् । सानैदेखि उनले स्वैरकाल्पनिक कथाहरु लेखेर बहिनीलाई सुनाउने गर्थिन् ।

उनको शिक्षा सेन्ट माइकल्स प्राथमिक विद्यालयबाट सुरु भयो । ए लेभलको पढाई सकेपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा प्रवेश परिक्षा दिएकी थिइन् तर, भर्ना हुन सकिनन् । त्यसपछि उनले१९८६ मा युनिभर्सिटी अफ एक्सटरबाट प|mेन्च र क्लासिकमा बीए पास गरिन् ।

यसरी भयो हृयारीपोटरको सुरुवात

पढाई सकेपछि रोलिङले केही समय एमनेष्टी इन्टरनेसनलमा काम गरिन् । त्यसपछि उनी आफ्नो प्रेमीसँगै म्यान्चेस्टर शहरमा बस्न थालिन् । त्यहाँ उनी चेम्बर अफ कमर्समा काम गर्थिन् ।

सन् १९९० मा एकपटक उनी म्यानचेस्टरबाट लण्डन जाने रेलको पखाईमा थिइन् । रेल आउन चार घण्टा ढिला भयो । त्यतिखेर उनको दिमागमा एक किशोर तन्त्रमन्त्र विद्या सिक्ने स्कूलमा भर्ना भएको कथा लेख्ने सोच आयो ।

त्यसपछि उनले तत्कालै लेख्न सुरु गरिन् । लेख्दै गर्दा त्यसै वर्षको डिसेम्बरमा उनको आमा एन्नीको मृत्यु भयो, जो दश वर्षदेखि मल्टिपल स्केलरोसिसबाट पीडित थिइन् । आमाको मृत्युले उनलाई विक्षिप्त बनायो । आमा गुमाउँदाको आफ्नो भावना उनले हृयारीको माध्यमबाट पुस्तकमा समेत पोखेकी छिन् ।

आमाको मृत्यु भएको एक वर्षपछि आफूलाई सम्हाल्दै रोलिङ अंग्रेजी भाषा शिक्षकका रूपमा काम गर्न पोर्चुगल पुगिन् । पोर्चुगलमा उनको भेट टेलिभिजन पत्रकार जर्ज अरान्तेससँग भयो र सन् १९९२ मा उनीहरुको विवाह भयो ।

सन् १९९३ जुलाईमा उनले छोरी जेसिकालाई जन्म दिइन् । तर, उनको पति जर्जसँगको सम्बन्ध भने बिग्रँदै गयो । छोरी जन्मेको पाँच महिनामै उनी जर्जसँग छुट्टइिन् ।

त्यसपछि उनी छोरीलाई लिएर बहिनी भएको ठाँउ स्कटल्याण्ड आइन् । उनी त्यतिखेर डिप्रेशनले पीडित थिइन् र आफूलाई असफल मान्न थालेकी थिइन् । उनलाई छोरी हुर्काउन धेरै गाह्रो भयो । सरकारले गरिबलाई दिने सहायताबाट उनले जीवन निर्वाह गरिन् ।

१२ वटा प्रकाशकबाट अस्विकृत ‘हृयारी पोटर’

छोरी सुतेको बेलामा क्याफेमा बसेर कफी पिँउदै उनले १९९५ मा म्यानुअल टाइपराइटरमा ‘हृयारी पोटर एण्ड द फिलोसोर्फस स्टोन’ लेखेर सकिन् । पुस्तक लेखिसकेपछि उनलाई प्रकाशक भेट्टाउन धेरै गाह्रो भयो । फुलहृयामको क्रिस्टोफर लिटल लिटरेरी एजेन्सीले रोलिङलाई प्रकाशक खोजिदिन सघाउने भयो । एजेन्टले उनको पुस्तक पालैपालो गरि १२ वटा प्रकाशक कहाँ पठायो तर, सबैले विभिन्न कारण देखाउँदै छाप्न अस्विकार गरे ।

चर्चित ब्लुम्सबरी पब्लिकेसनलाई पनि उनको उपन्यासको पाण्डुलिपी पठाइएको थियो । उपन्यास बच्चालाई लक्षित भएकाले पब्लिकेसनका अध्यक्षले सुरुमा आफ्नी ८ वषर्ीया छोरी एलिस न्युटनलाई पुस्तकको पहिलो च्याप्टर देखाए । पहिलो च्याप्टर पढेपछि नै उनले धेरै मनपराइन् र तुरुन्तै दोस्रो च्याप्टर पढ्ने माग गरिन् । त्यसपछि मात्रै ब्लुम्सबरी पुस्तक छाप्न तयार भयो ।

यसरी सन् ब्लुम्सबरीले १९९७ मा ‘हृयारी पोटर एन्ड द फिलोसोर्फस स्टोन’ प्रकाशन गर्‍यो, जुन ‘हृयारी पोटर’ श्रृंखलाको पहिलो उपन्यास थियो ।

एकाएक सफलताको शिखरमा

थोरै संख्यामा प्रकाशित यो उपन्यासले विस्तारै धेरैको मन जित्न थाल्यो र उनले विभिन्न पुरस्कार पाउन थालिन् । रोलिङले नेस्ले स्मार्टिज बुक प्राइज र बाल साहित्यको लागि बि्रटिश बुक अवार्ड प्राप्त गरेपछि यसको चर्चा चुलियो ।

त्यसपछि चर्चित अमेरिकी प्रकाशन गृह स्कोलास्टिक इन्कले एक लाख पाँच हजार डलरमा अमेरिकामा ‘हृयारी पोटर एन्ड सोर्सर्स स्टोन’ शीर्षकमा पुस्तक प्रकाशन गर्ने सम्झौता गर्‍यो । यो खबर सुन्दा खुसीले आफू झण्डै मरेको रोलिङले एक अन्तवार्तामा बताएकी थिइन् ।

सुरुमा बालबालिकाले मन पराउने अपेक्षा गरिएको उपन्यासले ठूला पाठकहरुलाई पनि आकषिर्त गर्‍यो । लगत्तै १९९८ मा दोस्रो पुस्तक ‘हृयारी पोटर एन्ड द च्याम्बर अफ् सिक्रेट्स’ प्रकाशन भयो ।

१९९८ मै हलिउडको वार्नर्स ब्रोज कम्पनीले उनको दुई पुस्तकमा फिल्म बनाउने अधिकार १५ लाख डलरमा किन्यो र पहिलो फिल्म २००१ मा रिलिज भयो, जसले बक्स अफिसमा धमाका मच्चाउन सफल भयो ।

यस्तै १९९९ मा ‘हृयारी पोटर एन्ड द पि्रजनर अफ् अज्काबान’ प्रकाशित भयो । उनका पुस्तकहरु बेस्ट सेलरको रुपमा सूचीकृत भए, जसले उनलाई सर्वाधिक पढिने लेखक मात्रै होइन, सर्वाधिक कमाउने लेखकको रुपमा पनि चिनाउन मद्धत गर्‍यो ।

२००० मा प्रकाशित ‘हृयारी पोटर एन्ड द गोब्लेट अफ फायर’ले उपन्यास बिक्रीको इतिहास नै तोड्यो । पुस्तकले बेलायतमा प्रकाशन भएको पहिलो दिनमै करिब ४ लाख प्रति बिक्री भएर रेकर्ड राख्यो । त्यस्तै अमेरिकामा ४८ घण्टामा करिब ३० लाख हाराहारीमा बिक्री भएको तथ्यांक सार्वजनिक भएको थियो ।

त्यस्तै सन् २००३ मा ‘द अर्डर अफ फोनिक्स’, सन् २००५ मा ‘द हाफ ब्लड पि्रन्स’ र सन् २००७ मा ‘द डेथ्ली हृयालोज’ उपन्यास प्रकाशित भयो ।

उनको हृयारी पोटरबाहेक २०१२ मा रोवर्ट गालब्रेथको नामबाट द ‘क्याजुअल भ्याकेन्सी’, २०१३ मा ‘द कुक्कुज कलिङ’, २०१४ मा ‘द सिल्कवोर्म’, २०१५ मा ‘करियर अफ एभिल’ र २०१८ मा ‘लेथल व्हाइट’ उपन्यास प्रकाशित छन् ।

उनका पुस्तकहरु सबै विश्वचर्चित भए । पुस्तक पढेर करोडौं मानिसहरु उनको प्रशंसक भएका छन् । रोलिङका अनुसार उनको उपन्यासको मुख्य विषय मृत्यु हो ।

मनकारी रोलिङ

रोलिङले २००१ मास्कटल्याण्डका डाक्टर निल मुरेसँग दोस्रो विवाह गरेकी थिइन् । २००३ मार्च २३ मा रोलिङले छोरा डेभिड गोर्डन रोलिङ मुरेलाई जन्म दिइन् भने २००५ जनवरी २३ मा उनले कान्छी छोरी म्याकेन्जी जिन रोलिङ मुरेलाई जन्माइन् ।

सन् २००४ मा फोर्ब्स म्यागेजिनले उनलाई पुस्तक लेखेर अमेरिकी डलरमा अर्बपति बन्ने विश्वकै पहिलो लेखकको रुपमा अर्बपतिको सूचीमा समावेश गर्‍यो । त्यतिखेर रोलिङले आफूसँग पर्याप्त पैसा भए पनि अर्बपति नभएको प्रतिक्रिया दिएकी थिइन् ।

उनी लगातार २०११ सम्म फोर्ब्सको अर्बपतिको सूचीमा अटाएकी थिइन् । त्यसपछि २०१२ मा उनले समाजसेवाको लागि १६० मिलियन डलरभन्दा धेरै दान दिएको र बेलायतमा करको दर उच्च भएको कारणले उनको सम्पत्ति घटेको भन्दै फोर्ब्सले सूचीबाट हटायो ।

उनी सामाजिक कार्यमा पनि धेरै सक्रिय छिन् । आफूले एकल आमा भएर छोरी हुर्काउँदा धेरै पीडा भोगेको समस्या सम्झिँदै एकल आमालाई सहायता गर्न रोलिङले २००० मा जिन्जरब्रेड च्यारिटी स्थापना गरिन् । आफ्नी आमालाई निल्ने रोग मल्टिपल स्केलरोसिस रोगीहरुको सहायताको लागि पनि काम गरिरहेकी छिन् । उनले आफ्ना पुस्तकबाट आउने केही निश्चित प्रतिशत रोयल्टी समाजसेवामा लगाउने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment