Comments Add Comment

शाहवंशको कूल मन्दिरः जहाँ नवमीमा सरकारी पञ्चबली चढाइन्छ

३१ असोज, बुटवल (आलमदेवीबाट फर्केर) । नेपालका शक्तिपठिहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको स्याङ्जाको आलमदेवी मन्दिरमा वडा दशैंको नवमीका दिन विशेष पूजा र पञ्चबली चढाउने प्रचलन छ । वि.सं. १३५० सालमा स्थापना भएको यो मन्दिर शाह वंशको कूल देवता र कूल मन्दिर मानिँदै आएको छ ।

साबिकको आलमदेवी हाल कालिगण्डकी गाउपालिका–३, लसर्खामा रहेको यो मन्दिरमा नवमीका दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नव दुर्गाको पूजापछि पञ्चबली गरिन्छ ।

आजैका दिन महिषासुरलाई देवीले बध गरेको दिन मानिएकाले नवदुर्गाको पूजा र यज्ञपछि ठूलो रांगोसहित सरकारी पञ्चबली दिइन्छ ।

मन्दिर व्यवस्थापन समितिका सदस्य दीपक घिलेका अनुसार आलमदेवीमा रांगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेंडा बली चढाउने परम्परा छ ।

भेंडा उपलब्ध नहुँदा कुभिण्डो प्रयोग गरिन्छ । नवमी दिन करिब ५ हजार भक्तजनहरु आउने घिलेले बताए । दर्शनार्थीको भीड लाग्ने भएकाले नवमीका दिन दिउँसो अबेरसम्म पूजा र बली चढान्छ ।

पञ्चबली चढाउन सरकारी निकायबाट बजेट व्यवस्था हुँदै आएको छ । यसपटक पनि गुठी संस्थानले ८४ हजार रुपैयाँ उपलब्ध गराएको घिलेले बताए ।

धेरै वर्षअघि शाहवंशीय राजाहरुले रांगो छाड्ने र त्यो रांगो आफैं आलमदेवीसम्म आउने गरेको किवंदन्ती पाइन्छ । तर, पछि रांगो छोड्न छाडेर गुठी संस्थानमार्फत बजेट दिएर पञ्चबली चढाउने परम्परा शुरु भएको मानिन्छ ।

नवमीका दिन आलमदेवीमा बली चढाउनेको निकै भीडभाड हुने गर्छ । सरकारी पञ्चबली पछि मात्र मन्दिर भक्तजनका लागि खुला गरिने र सर्वसाधारणले ल्याएका पशुपंक्षीको बली दिने गरिन्छ ।

जीवनमा ठूलो संकट आइलागेपछि वा आउने सम्भावना देखेपछि यहाँ आएर आलमदेवीसँग वर मागेपछि संकट मोचन हुने जनविश्वास रहिआएको छ ।

भारतको चितौरगढका चन्द्र वंशावली भट्टारक राजा ऋषि राणाजीको राज्यमा मुगलले आक्रमण गरेपछि पूर्वतिर गए कूल र सन्तान सुरक्षित हुन्छन् भन्ने सल्लाहका आधारमा राजपरिवार पश्चिम नेपाल हुँदै स्यांजाको आलमदेवीको अग्लो डाँडोमा आएका मानिने गरिएको छ ।

सोही डाँडोमा मन्दिर बनाएर उनीहरुले मूर्ति राखेका थिए । तर, पछि उक्त मूर्ति अलाप भएको हुँदा कालान्तरमा आलमदेवी नामाकरण भएको मानिन्छ ।

भारतीय ऋषि राणाका छोराहरु मिन्चा खांण र खान्चा खाणमध्ये एकजनाले स्याङ्जाको नुवाकोटमा र अर्काले कास्कीकोट, तनहुँ हुँदै गोर्खासम्म राजा भएर राज्य गरेका र तिनै खाँणले पछि थर परिवर्तन गरी शाह लेखाउन थालेको किंवदन्ती छ ।

हाल नेपालको शाह वंश तिनै चितौरगढका चन्द्र वंशावली भट्टारक राजाका सन्तान भएको वालिङ्ग नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले लेखेको पुस्तकमा विस्तृत व्याख्या गरिएको छ ।

आलमदेवी मन्दिरको विशेषता मध्ये यो मन्दिरको फेदीलाई संसारकै पवित्र मानिने कालिगण्डकी नदीले चारैतिरबाट घरेको छ भने मन्दिरमा छाना छैन । बेलाबेलामा मन्दिरभित्रबाट ज्वाला निस्कने भएकाले मन्दिरमा छाना नराखिएको दाबी छ ।

विशेषतः ठकुरी वंश, सेना, प्रहरी अधिकारीहरूको लागि यो मन्दिरप्रति अगाध आस्था र विश्वास छ

यो मन्दिरलाई ज्वालामाई देवीको मन्दिरका रुपमा पनि चित्रण गरिन्छ । अर्को कुरा यो मन्दिरमा मूर्ति छैन, मूर्ति रहने ठाउँमा भिमसेन पाती नामको मझौला रुख छ ।

यो रुख सय वर्ष भन्दा अगाडिदेखि जस्ताको त्यस्तै रहेको स्थानीयको विश्वास छ । यो मन्दिरमा उमरा राना मगर जातका चुडाकर्म गरेका १५ वर्षमुनिका किशोर मात्रै पुजारी बन्न पाउँछन् ।

उनीहरुले कालीगण्डकी नदीमै नुहाएर आएर मात्र पुजा गर्छन् । मन्दिर पुग्न जुनसुकै दिशाबाट जाँदा पनि उकालो चढ्नैपर्छ ।

मन्दिरमा ३६५ दिन नै पुजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा छ । एकादशी, औंशी, साउन १ देखि नागपञ्चमी र साह्र श्राद्धमा बाहेक अरु सबै दिन यहाँ बली चढ्छ ।

मन्दिरभित्र महिलाको हकमा ठकुरी जातका महिला मात्र जान पाउँछन् । दलितलाई मन्दिर प्रवेश निषेध गरिएको छ । यहाँ वर माग्न, भाकल गर्न र पूजा गर्न नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत भक्तजन र दर्शनार्थीहरु आउने गर्छन् ।

विशेषगरी ठकुरी वंश, सेना, प्रहरीका जागिरेहरुको यो मन्दिरप्रति अगाध आस्था र विश्वास रहेको छ । यहाँ चैते दशैं र न्वागीमा पनि विशेष पूजा र सांस्कृतिक कार्यक्रमहरु हुने गर्छन् ।

मन्दिर रहेका वस्तीमा खानेपानीको चर्को समस्या छ । मन्दिरसम्म पुग्ने सडक पनि निकै सांघुरो र कच्ची भएकाले इच्छुक सबै दर्शनार्थीहरु सहजरुपमा पुग्न नसकेको अवस्था छ ।

यो मन्दिर दर्शन गर्न बेलाबेलामा पूर्व राजपरिवारका सदस्यहरु जाने गर्छन् । गत वर्षमात्रै पुर्व युवराज्ञी हिमानी शाह मन्दिर दर्शन गर्न पुगेकी थिइन् ।

नक्कली आलमदेवी मन्दिरले चिन्ता

ऐतिहासिक धार्मिक महत्व बोकेको आलमदेवी मन्दिरकै नाममा स्याङ्जाको गल्याङ्ग नगरपालिकाभित्र साविकको तुलसीभन्ज्याङ्ग–६ मा नक्कली आलमदेवी मन्दिर बनाएर दर्शनार्थीमा भ्रम फैलाइएकोप्रति आलमदेवी मन्दिर व्यवस्थापन समितिले आपत्ति जनाएको छ ।

सक्कली मन्दिर आउने बाटोमै नक्कली मन्दिर बनाइँदा भक्तजनमा भ्रम पर्न गएकाले राजयका निकायले त्यस्तो गलत कार्य रोक्नुपर्ने आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले बताए ।

मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सय जना अट्ने अतिथि गृह निर्माण भइरहेको उनको भनाइ छ । ‘खानेपानीको व्यवस्थाका लागि पहल गरिरहेका छौं’, अध्यक्ष रानाले भने, ‘यसै वर्ष आलमदेवी मन्दिरको नाममा हुलाक टिकट पनि प्रकाशित हुँदैछ ।’

सडक कालोपत्रे, खानेपानी र टेलिफोन सेवाको उचित व्यवस्था हुन सके अझ बढी धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न सकिने स्थानीय बुद्धिजिवी दीपक घिले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment