Comments Add Comment

पुस १ देखि काठमाडौंमा ‘वैज्ञानिक सवारी रुट’ कार्यान्वयन गर्ने तयारी

३ कात्तिक, काठमाडौं । सरकारले आगामी पुस १ देखि काठमाडौंमा पहिचान गरिएका वैज्ञानिक सवारी रुटको कार्यान्वयन गर्ने तयारी गरेको छ । काठमाडौंमा अहिले पनि व्यवसायीले मागअनुसार नै जथाभावी रुट दिने क्रम जारी नै छ ।

पुस १ गतेदेखि यो क्रम रोकिने र वैज्ञानिक रुटाहरुमा मात्रै सवारी चल्ने र त्यसैअनुसार रुट पर्मिट जारी गरिने यातायात व्यवस्था विभागमा महानिर्देशक लावण्य ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारले एडीबीको सहयोगमा गरेको अध्ययनमार्फत पहिचान गरेका सडक, सवारी र यात्रु मैत्री वैज्ञानिक रुटहरुको कार्यान्वयनमा सरकार उदाशीन बन्दा उपत्यकाकाको सवारी व्यवस्था अपेक्षाकृत सुधार हुन सकेको छैन ।

यातायात ब्यवस्था विभागले ठूला बसलाई लामे रुटमा चल्न दिने गरे पनि अध्ययनको आधारमा भन्दा बढी व्यवसायीले माग गरेअनुसार दिने गर्दा समस्या भएको छ ।अब त्यो अवस्था कायमै नराखिने ढकालले बताए ।

विस्तृत अध्ययन सकाएर सरकारले काठमाडौंमा अहिले रहेको २ सय भन्दा बढी खण्ड-खण्डका छोटा सवारी रुटलाई एकीकृत गरी ६६ वटामा सीमित गर्न सकिने निष्कर्ष निकालेको छ । अब्यवस्थित रुटहरुलाई ब्यवस्थित गर्न सकिने विश्वास गरिए पनि कार्यान्यवनमा लैजान नसक्दा समस्या बढ्दो छ ।
‘हामीले एडीबीको रिपोर्टको सुझावमा पनि केही फेरबदर गर्नुपर्छ कि भनेर एउटा समिति बनाएका छौं,’ उनले भने,’केही समयभित्रै समितिले रिपोर्ट दिन्छ । त्यसैअनुसार केही रुट परिमार्जन गरेर हामी रुट तोक्ने निर्णय गर्छौं ।’

एडीबीको प्रतिवेदनले यात्रुको चाप, शहरी भौगोलिकता, दूरी, सार्वजनिक सवारीको वैज्ञानिक ब्यवस्थापनको मर्म लगायतका आधारमा सरकारले उपत्यकाको सवारीलाई ३ तहमा विभाजन गरेर कार्यान्वयन गर्ने अवधारणा ल्याएको छ ।

विशेष गरी सडकको क्षमता र यात्रुको उपलब्धताका आधारमा ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राइमरी, सेकेण्डरी र टर्सरी गरी ३ भागमा विभाजन गरेर रुटहरु कायम गर्न प्रतिवेदनले भनेको छ ।

पहिचान भएका रुटहरु कार्यान्वयनमा ल्याउने नीतिगत निर्णय भएको छैन । अब त्यसका लागि गृहकार्य भइरहेकोले धेरै समय नलाग्ने ढकालले बताए ।

यस्ता छन् प्राथमिक रुट

सरकारले काठमाडौंभित्र ८ वटा प्राइमरी (प्राथमिक) रुटहरु पहिचान गरेको छ । अध्ययनले औंल्याएको सुझावअनुसार प्राइमरी रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्छन् । यो रुटमा सेमि ˆलोर बस पनि चल्न सक्छन् । अहिले साझाले चलाएका भन्दा पनि ठूला आकारका बस यो रुटमा चल्न सक्छन् ।

विशेषगरी रिंगरोड र रिंगरोडलाई रत्नपार्कसँग जोड्ने मुख्य विन्दुलाई प्राइमरी रुटमा राखिएको छ । यी रुट ठूला बस चल्न योग्य छन् । यात्रुको चाप र सडकको अवस्था हेरेर नै प्राथमिक रुटमा ठूला सवारी चलाउन सुझाव दिइएको छ ।

यात्रुको धेरै चाप हुने र सवारी उपलब्धता असहज भएको क्षेत्रलाई समेटेर प्राथमिक रुटहरु तय गरिएको छ । ठूला बसहरु चलाउन प्राइमरी रुटहरु अत्यन्तै योग्य छन् । ठूला बस हालेपछि अहिले जस्तो धेरै साना सवारी यी रुटमा नरहने परिकल्पना गरिएको छ ।

काठमाडौंमा ठूला बसको युग सुरु भइसकेको अवस्थामा त्यसलाई पनि ब्यवस्थित गर्न वैज्ञानिक रुपमा पहिचान भएका प्राइमरी रुटहरुको कार्यान्वयनमा जान नसके ट्राफिक जामको समस्या अझ भयावह हुने व्यवयायी आफैं पनि बताउँछन् ।


कुन-कुन प्राथमिक रुट ?

उपत्यकामा निर्धारित प्राथमिक रुटको पहलो नम्बरमा घडीको दिशामा चक्रपथ परिक्रमा गर्ने गरी बनाइएको छ । त्यसैगरी घडीको उल्टो दिशामा चक्रपथ परिक्रमा गर्ने गरी अर्को रुट तोक्नुपर्ने सुझाव दिएको छ, जुन रुट नम्बर २ हुने छ ।

नारायणगोपालचोकबाट महाराजगञ्ज-लाजिम्पाट-लैनचौर- जमल- भृकुटीमण्डप-त्रिपुरेश्वर- थापाथली- कुपण्डोल- पुल्चोक- जावलाखेल- लगनखेल हुँदै सातदोबाटोसम्मको रुटलाई तेस्रोमा राखिएको छ ।

ठूला बस चलाउन नारायणगोपाल चोकबाटै महाराजगञ्ज- लाजिम्पाट- लैनचौर- जमल- भृकुटीमण्डप-सिंहदरबार- माइतिघर-नयाँ बानेश्वर- कोटेश्वर- ठिमी- सल्लाघारी हुँदै सूर्यविनायक पुग्ने अर्को रुट प्रस्ताव गरिएको छ । यो रुटमा अहिले साझाले पनि सञ्चालन अनुमति मागेको छ ।

जोरपाटीबाट चाबहिल- गौशाला- कमलपोखरी- हात्तिसार- जमल- भृकटीमण्डप- शहीदगेट-त्रिपुरेश्वर- कालिमाटी-कलंकी-नैकापसम्म पनि ठूला बस चलाउनुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

जोरपाटीबाटै बौद्ध- चाबहिल- गौशाला- कमलपोखरी- हात्तिसार- जमल- भृकुटीमण्डप-सिंहदरबार- माइतिघर- थापाथली- कुपण्डोल- पुल्चोक- जावलाखेल हुँदै एकान्तकुनासम्म अर्को रुटको प्रस्ताव गरिएको छ ।

कोटेश्वरबाट सिनामंगल- एयरपोर्ट- गौशाला- हात्तिसार- जमल- रत्नपार्क- लैनचौर- सोह्रखुट्टे- बालाजु हुँदै नयाँबसपार्कसम्म अर्को प्राथमिक रुटहरु पहिचान भएको छ ।

कोटेश्वरबाट तीनकुने- नयाँबानेश्वर- माइतिघर- थापाथली- त्रिपुरेश्वर- कालीमाटी- कलंकीसम्म पनि ठूला बसहरु चलाउन सकिने निश्कर्ष निकालिएको छ ।

यी प्राथमिक रुटमा दोहोरो रुपमा ठूला बस आउ-जाउ गर्नेछन् ।

अध्ययनमार्फत १६ वटा सेकेन्डरी रुटहरु प्रस्ताव गरिएका छन् । सेकेण्डरी रुटमा ६० जना यात्रु बोक्ने क्षमता भएकाका बसहरु चल्न सक्छन् । ४२ टर्सरी रुटमाहरुमा साना सवारीहरु चलाइने छ ।

सरकारले वैज्ञानिक रुटहरुमा सरकारी पहलमै साना सवारी हटाएर ठूला सवारी राख्ने प्रक्रिया अघि बढेको बताउँछ । तर, प्रभावकारी रुपमा काम भएको छैन ।

ठूला सवारी चलाउने योजना अन्तरगत पहिलो चरणमा बसपार्कबाट गोंगबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस भल्न सुरु भएका छन् । विभिन्न खण्डित रुटमा रहेका सवारीलाई हटाएर एउटै रुट कायम गर्दै नयाँ बस हालिएको यो पहिलो पटक हो । यो रुटको खण्डित सडकमा चल्ने ३५ वटा टेम्पो र २६ वटा माइक्रो हटेका थिए ।

अध्ययन प्रतिवेदनलाई कार्यान्वयन गर्न पहिलो चरणमा कार्यान्यवयनमा लगिए पनि अरु रुटमा के गर्ने भन्ने अत्तत्तपत्तो छैन । अहिले पहिचान भएका रुट अहिले कायम भएका जस्तो अवैज्ञानिक छैन, किनभने सरकारले लामो समय लगाएर गरेको अध्ययनले दोस्रो प्राथमिकताप्राप्त रुटमा यसलाई समावेश गर्दै ठूला बस चलाउन सिफारिस गरेको थियो ।

ब्यवसायीले ल्याउने नयाँ ठूला बसलाई वैज्ञानिक रुपमा पहिचान भएका रुटमा इजाजत दिन सुरु गरिएको विभागका प्रवक्ता गोकर्ण उपाध्याय बताउँछन् । उनी क्रमैसँग वैज्ञानिक रुट कार्यान्वयनमा लैजान सरकार तयार रहेको बताउँछन् ।

काठमाडौंमा सडक पूर्वाधार विस्तार नहुने तर निजी सवारी चढ्ने ट्रेण्ड तीब्र गतिमा बढ्दैछ । यसले केही समयपछि उपत्यकाको सवारी ब्यवस्थापन अहिलेको भन्दा निकै नाजुक स्थितिमा पुग्ने अवस्था छ ।

वैज्ञानिक रुपमा पहिचान गरिएका रुटले मास ट्रान्सपोर्टेशनलाई प्रोत्साहित गर्ने विश्वास यातायात विभागको छ ।

उपत्यकामा हाल ३ सय भन्दा बढी संघरसंस्था र समिति मातहतमा झण्डै ११ हजार सार्वजनिक सवारी सञ्चालनमा छन् । अब जसलाई, जता मनलाग्यो उतै सवारी गुडाउन दिने गरी रुट दिने अवस्था हट्ने दावी सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment