Comments Add Comment

युएईमा नेपालीले यसरी मनाए दशैँ (फोटो फिचर)

युएई । नेपालीहरुको महान चाड दशैँ युएईमा कार्यरत नेपालीले उल्लासमय वातावरणमा मनाएका छन् ।

शुक्रबार सार्वजनिक विदाको दिन टीका परेकाले पायक गर्ने स्थानामा आफन्त र साथीभाइ भेला भएर उल्लासमय वातावरणमा सामूहिक टीका ग्रहण गरेका हुन् ।

विषेश गरी युएईको बरदुबई र अबुधाबीको विभिन्न पार्कमा टिका लगाउनेहरुको घुइँचो लागेको देखिन्थ्यो ।

अबुधाबीको क्यापिटल पार्कमा झापाली समाज क्षेत्रीय समिति अबुधाबीले आयोजना गरेको सामूहिक टीका ग्रहण कार्यक्रममा भेटिए झापा भद्रपुरका शेषराज न्यौपाने ।

दश वर्ष परदेश बसार्इंको क्रममा उनले यो वर्ष पहिलो पटक टिका लगाए । परदेशमा टीका लगाउन पाउँदा उनी निकै खुशी देखिए ।

अनलाइनखबरसँग कुरा गर्दै भने; ‘परदेशमा बसेर आफ्नो संस्कृति मनाउन पाउनु नै खुशीको कुरा हो । साथीभाईसँग भेट भयो । खाली निधार बस्न परेन ।’ यहाँ दशैँको टिका लगाउँदै गर्दा घरपरिवारको सम्झनाले भने आफूलाई सताइरहेको उनले सुनाए ।

यस्तै, धनुषा जनकपुरका रामबिनोद मण्डलले टीका लगाइदिने कोही आफन्त नभएकाले टिका लगाउन पाएनन् । तर, मुस्लिम साथीबाट शुभकामना लिए र साथीभाइसँग बसेर मिष्ठान्न भोजन खाएर मनाए ।

१५ वर्षदेखि युएईमा कार्यरत झापाका टीका कट्टेलले छ वर्षदेखि युएईमा दशैँ मनाउँदै आएका छन् । परदेशमा साथीभाइसँग दशैँ मनाउँदा रमाइलो अनुभव हुने भएतापनि परिवारसँग रहँदाको जस्तो अनुभुति भने नभएको उनले सुनाए ।

यहाँको दशैँ सम्झनाका लागि मात्र हुने उनको धारणा छ ।

युएईमा राजनैतिक दलका प्रवासी संगठन र विभिन्न समाजले सामूहिक टिका, जमरा ग्रहण कार्यक्रमको आयोजना गरेका थिए ।

झापाली समाज क्षेत्रीय समिति, अबुधाबी, नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, युएई, विश्वकर्मा समाज नेपाल, दूबई क्षेत्रीय समिति लगायत सामूहिक दशैं कार्यक्रम राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment