+
+
Shares
रिपोर्ट :

विदेशीको मिसनरी गतिविधि : राष्ट्रिय सुरक्षामा कति जोखिम ?

गुप्तचरको रिपोर्ट छ- नेपाली नागरिकसँग विवाह गरी अंगीकृत नागरिकता प्राप्तपछि सम्बन्ध बिच्छेद गर्ने र पुनः विदेशीसँग विवाह गरेर अंगीकृत नेपाली नागरिकता दिलाई नागरिकताभित्रको लुपहोल प्रयोग गर्दा राजस्वमा चुहावट मात्रै होइन, राष्ट्रिय सुरक्षा समेत चुनौतीपूर्ण हुँदै जान्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ साउन २६ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले धर्म प्रचार र शंकास्पद गतिविधिमा संलग्न दक्षिण कोरियाली मूलका अमेरिकी नागरिक पिटर क्वाङ सियोङ किमलाई एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको छ।
  • अवैध वैवाहिक भिसा, कागजी विवाह र नक्कली कम्पनी खडा गरी नागरिकता लिने जस्ता शंकास्पद क्रियाकलापमार्फत राष्ट्रिय सुरक्षामा चुनौती दिने ६४ विदेशीलाई नेपालबाट निष्काशन गरिएको छ।
  • सन् २०२५ मा मात्रै भिसा नियम उल्लंघन र शंकास्पद गतिविधिमा संलग्न पाँच सय २३ जना विदेशी नागरिकलाई नेपालबाट डिपोर्ट गरिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ।

२६ साउन, काठमाडौं । दक्षिण कोरियाली मूलका अमेरिकी नागरिक पिटर क्वाङ सियोङ किमलाई अध्यागमन विभागले एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्‍यो ।

१३ वर्ष पहिले सन् २०१३ देखि नेपालका आएका किमले नेपाली महिलासँग विवाह समेत गरे । त्यसपछि उनकी श्रीमती निलम बर्देवाले अध्यागमन विभागले आफ्ना श्रीमानलाई डिपोर्टको निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिन् ।

१५ साउनमा सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको इजलासले विपक्षीको नाममा डिपोर्ट गर्नुको कारण माग गर्दै आदेश जारी गर्‍यो । अब विपक्षीहरूले अदालतमा यसको कारण पेस गर्नुपर्नेछ ।

नेपालीसँग विवाह गरेका किमलाई डिपोर्ट गर्नुको कारण भने निकै संवेदनशील देखिएको सरोकारवालाहरू बताउँछन् । यो विषय देशको समग्र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको अध्यागमनका अधिकारीहरू बताउँछन् ।

‘मिसनरी गतिविधि गर्दै रिपोर्टहरू वार्षिक, मासिक रूपमा विदेशीस्थित आफ्नो संस्थामा पेस गरिएको देखिन्छ । नेपाल मिसन रिपोर्ट भन्दै उनले गरेका इमेलहरू समेत हामीले प्राप्त गरेका छौं,’ किमबारे विगत ६ महिनादेखि सूक्ष्म रूपमा अध्ययन गरेका राष्ट्रिय अनुसन्धान विभाग एक अधिकृतले अनलाइनखबरसँग भने ।

ती अधिकृतकाअनुसार किम नेपालमा धर्म प्रचारकको रूपमा संलग्न व्यक्ति हुन् । चर्च खोल्ने, व्यवसायिक भिसाकै लागि नेपाली भाषा केन्द्र खोल्ने र त्यति हुँदा समेत डिपोर्ट हुनसक्ने जोखिमपछि विवाह गरेर वैवाहिक भिसा लिएको ती अधिकारी बताउँछन् ।

‘मिसनरी कार्यलाई निरन्तरता दिनकै लागि रणनीतिक रूपमा व्यावसायिक भिसालाई विवाह भिसामा परिणत गर्ने योजना बनाएको देखिन्छ । उनको वैवाहिक सम्बन्ध केवल नेपालमा दीर्घकालीन बसोवास गर्ने र आफ्नो कानुनी हैसियत जोगाउन मात्र प्रयोग भएको देखिन्छ’ किममाथि गरिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने – Online Khabar

अध्यागनका महानिर्देशक रामचन्द्र तिवारीले पनि किम नाम गरेका व्यक्तिलाई एक वर्षका लागि डिपोर्टेसनको निर्णय भएको स्वीकारेका छन् । ‘हाम्रो अनुसन्धानमा उहाँको भूमिका शंकास्पद देखिएपछि डिपोर्टेसनको निर्णय भएको हो,’ तिवारी भन्छन् ।

डिपोर्टेसनमा परेका उनी सुरुमा सन् २०१३ मा नेपालमा आएका थिए । त्यतिबेला पर्यटक भिसामा नेपाल आएका उनको मुख्य उद्देश्य क्रिश्चियन धर्म प्रचार रहेको बताइन्छ । किमले सन् २०१५ मा कोरियन नागरिक योङ मिकिमको सहकार्यमा दोलखाको चरिकोटमा मोर्डन ल्याङ्ग्वेज इन्स्टिच्युट प्रालि खोलेका थिए ।

किमले सन् २०१८ मा चरिकोटको भीमेश्वर बहिरा आधारभूत विद्यालयमा क्रिश्चियन धर्म प्रचार प्रसार गराउँदै तत्कालीन प्रधानाध्यापकलाई ‘बापटाइज’ (सपथ खुवाएर क्रिश्चियन बनाउने काम) गराएका थिए ।

चरिकोटमा जस्तै काभ्रेको नमोबुद्ध नगरपालिका–२ मा ‘द लाइट एन्ड सल्ट’ स्कुल खोलिएको थियो । सन् २०२० मा मिकिमको मृत्यु भएपछि त्यसको संरक्षकत्व पनि किमले लिएका थिए ।

उनले दोलखा, सिन्धुली र काभ्रेमा मिसनरी रूपमा चर्चा स्थापना गर्ने र क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने नेपालको धार्मिक अवस्थाको रिपोर्ट, आगामी दिनमा लगानी गर्नुपर्ने ठाउँ तथा क्षेत्रहरूका बासिन्दालगायतका बारेमा रिपोर्ट पेस गर्ने गरेको पाइएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

त्यसका लागि उनले अमेरिकाको संस्थाबाट आर्थिक सहयोग पाउने गरेको रिपोर्टमा उल्लेख छ । उनले यसरी कोरियन भाषामै अमेरिकाको संस्थालाई रिपोर्ट गर्ने गरेको पाइएको छ ।

किम न्यूयोर्कस्थित प्युङगाङ चर्च र यशु फाउन्डेसनबाट मिसनरी कामका लागि नेपाल खटाइएका व्यक्ति रहेको सुरक्षा निकायको रिपोर्टमा उल्लेख छ ।

विजनेस भिसामा बसेर काम गरिरहेकाले थाहा पाउन सक्ने र डिपोर्ट हुनसक्ने जोखिमलाई ख्याल गर्दै वैवाहिक भिसा लिन लागेको विषय पनि अमेरिका पठाएको रिपोर्टमा किमले उल्लेख गरेका छन् ।

२ नोभेम्बरमा २०२२ मा किमले ‘२०२२ नेपाल मिसन रिपोर्ट’ भन्दै कोरियन भाषामा लेखेर पठाएको रिपोर्ट फेला परेको छ ।

‘पहिला पर्यटक भिसा, विजनेस भिसा हुँदै पछि वैवाहिक भिसा लिएर मिसनरी रूपमा काम गरेको देखिन्छ’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘विवाहको मुख्य उद्देश्य नै डिपोर्ट नहोस् भन्ने देखिन्छ ।’

अहिले यसरी मिसनरी रूपमा धर्मका नाममा केही व्यक्तिलाई ‘प्लान्टेड’ गर्ने र उनीहरूमार्फत आफ्नो पहुँच विस्तार गर्ने काम पश्चिमाहरूले गर्ने प्रवृत्ति देखिएको नेपाल प्रहरीको विशेष ब्युरोमा लामो समय बसेर अवकाश पाएका एआईजी टेकप्रसाद राई बताउँछन् ।

‘भर्खरै पूर्वी तराईमा धर्मकै नाममा दुई समुदायबीच तनाव सिर्जना भयो । विदेशीहरूको यस्ता गतिविधिले भोलिका दिनमा यो भन्दा ठूलो रूप लिनसक्छ’ उनी भन्छन् ।

विदेशबाट आउने यस्ता फन्ड कुनै धार्मिक मठ मन्दिर, चर्च, गुम्बा, मस्जिद बनाउन प्रयोग गर्न नहुने सुझाव पनि उनको छ ।

०००

किमको भन्दा रोचक त एक स्वीडेनी महिलाको छ । स्वीडिस नागरिक ५१ वर्षीया एलिन बिट ब्रोगस्ट्रोमले राम्रोसँग चिनजान नै नभएका २४ वर्षीय नेपाली युवकसँग विवाह गरेर नेपाली नागरिकता लिएपछि लगत्तै सम्बन्ध बिच्छेद गरेको समेत भेटिएको छ ।

एलिनले नेपाली नागरिक वीरगञ्ज घर भएका अनिकेतकुमार डंगोलसँग विवाह गरेको भन्दै ९ साउन २०७९ काठमाडौं जिल्ला अदालतबाट विवाह दर्ता गराएका थिए ।

१५ साउनमा वीरगञ्ज महानगरपालिका–८ बाट विवाह दर्ता प्रमाणपत्र लिए । अनि त्यसैको आधारमा ३१ साउनमा जिल्ला प्रशासन कार्यालय पर्साबाट एलिनले नेपाली अंगीकृत नागरिकता लिइन् ।

६ भदौ २०७९ मा वीरगञ्जबाट काठमाडौं बूढानीलकण्ठ बसाइँसराइ गराए । अनि एलिनले २३ असोज २०८० मा अनिकेतसँग काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गराए ।

‘यी दुईबीच राम्रो चिनजान पनि छैन । विवाह पश्चात पनि श्रीमान–श्रीमतीको रूपमा बसेको पनि देखिँदैन । आर्थिक प्रलोभनमा पारेर नेपाली युवकसँग कागजी विवाह गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘विवाह गरेको भनिएका यी जोडीको न उमेर मिल्छ । न उनीहरूबीच कुनै पहिलादेखिको सम्बन्ध छ । न विवाह पछि नै त्यो अवस्था देखिन्छ । सबै विवरणहरू शंकास्पद मात्रै छन् ।’

यो विवाहमा दुई जनाबीचको स्वार्थ मात्र मेल भएको छ । स्वीडिस नागरिकलाई स्थायी रूपमा नेपाल बस्नु छ भने नेपाली नागरिक अनिकेतलाई केवल केही पैसा चाहिएको छ ।

यही स्वार्थको मेलमा कागजी रूपमा विवाह गरेर स्वीडस महिला एलिन नेपाली अंगीकृत नागरिक बनिन् ।

तर स्वीडिस महिलाको मिसन यतिमै सकिएन । उनले अर्का एक विदेशीसँग विवाह गरिन् । अनि ती विदेशी पुरुषलाई पनि अंगीकृत बनाएर नेपाल ल्याइन् ।

एलिनले अनिकेतसँग विवाह गरेर नागरिकता प्राप्त गर्ने बेलामा भने स्वीडेनी नागरिकता समेत त्यागेको बताएकी थिइन् । उक्त नागरिकता त्यागेको प्रमाण भने अहिलेसम्म पनि उनले पेस नगरेको बताइन्छ ।

नेपालमा रहँदा एलिनले नेपाली राहदानी प्रयोग गर्थिन् । यही राहदानी प्रयोग गरेर उनी सन् २०२२ देखि १६ पटकसम्म भारत पुगिन् । त्यहाँबाट भने स्वीडीस राहदानी प्रयोग गरेर उनी तेस्रो मुलुक जाने गरेको समेत अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

यसरी नेपाली नागरिकसँग कागजी विवाह गरी सम्बन्ध बिच्छेद गर्दै फेरि विदेशी पुरुषसँग विवाह गरेर नेपाल ल्याउने एलिनको पुनः विवाह आफ्नै श्रीमानसँग भएको समेत भेटिएको छ ।

श्रीमानलाई समेत नेपालको दीर्घकालीन बसोवासका लागि ल्याउन उनले नेपाली युवकसँग विवाह गर्ने, नागरिकता लिने अनि सम्बन्ध बिच्छेद गरेर फेरि आफ्नै श्रीमानसँग विवाह गरेर नेपाली अंगीकृत नागरिकता दिलाएको पाइएको छ ।

एलिनले कार्ल जोन ब्रोगस्ट्रोमसँग विवाह गरेर नेपाली अंगीकृत नागरिकता दिलाएकी थिइन् । विवाह दर्ता गर्ने बेलामा एलिनले कार्ललाई पहिलो पटक ठमेलमा भेटेको बताएकी थिइन् ।

तर उनीहरूको यो भेट भने पहिलो थिएन । उनीहरू यसअघि नै श्रीमान्–श्रीमतीको रूपमा रहेको अनुसन्धान अधिकारीहरू बताउँछन् । सन् १९९० देखि नै उनीहरूबीच सम्पर्क रहेको बुझिएको छ ।

नेपाली नागरिक अनिकेतसँग विवाह गरेर बूढानीलकण्ठ बसेको भनिए पनि खासमा एलिन त्यतिबेला पनि बूढानीलकण्ठमा कार्लसँग बस्थिन् । बूढानीलकण्ठको महादेव कोलोनीस्थित एक घरमा घरमा मासिक ८४ हजार भाडा तिरेर उनीहरू बस्थे ।

नेपाली नागरिक अनिकेतसँग सम्बन्ध बिच्छेद गरेपछि आफ्नै श्रीमानसँग विवाह गर्ने पूर्वयोजनाअनुसार २७ चैत २०८१ मा काठमाडौं जिल्ला अदालतबाट एलिन र कार्लको जोडीले विवाह दर्ता लिएको थियो ।

एलिन सन् २०१६ मा र कार्ल सन् २०१८ देखि निरन्तर रूपमा भारत आवतजावत गर्थे । दुवै जना भारत हुँदै नेपाल आएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

विदेशीसँगको मिसनरी विवाहबारे सुरक्षा संयन्त्रले तयार पारेको रिपोर्टको अंश ।

अझ अर्को रोचक पक्ष त एलिन बिट ब्रोगस्ट्रोमको नाममा स्वीडिस नागरिकता भएकी उनले नेपालबाट भने ब्रोगस्ट्रोम बिट एलिन भनेर लिएकी छिन् । एलिनले विवाह गरेका स्वीडिस नागरिक कार्ल विवाह दर्ता हुनुभन्दा पहिला ११ पटक पर्यटक भिसामा र ५ पटक व्यावसायिक भिसामा नेपाल आएका थिए ।

उनले यो व्यावसायिक भिसा व्यवसाय गर्न भन्दा पनि नेपाल बसाइलाई सहज बनाउने उद्देश्यले लिएको देखिन्छ । उनले गोफिका इन्टरनेसनल कार्गो प्रालि नामको कम्पनी १४ जेठ २०८० मा उद्योग विभागमा दर्ता गरेको देखिन्छ । त्यही कम्पनी देखाएर साढे २ वर्षको व्यावसायिक भिसा लिइएको थियो ।

तर यो कम्पनीले कुनै काम नै गरेको रेकर्ड छैन । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जबाट कर चुक्ता प्रमाणपत्र हेर्दा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा कुनै कारोबार गरेको देखिंदैन ।

कुनै कारोबार नै नगरी ९ असार २०८२ मा आफ्नो व्यावसायिक भिसा हुँदाहँदै कार्लले कम्पनी बन्द गराएको रेकर्डमा देखिन्छ ।

कम्पनी खोलेर बिजनेस भिसा लिने तर काम नगर्ने र भिसा प्राप्त भएपछि कम्पनी बन्द गर्ने, आफ्नै श्रीमतीसँग विवाह गरेर नेपाली अंगीकृत नागरिकता लिने कार्ल आईटीमा पोख्त व्यक्ति हुन् ।

उनी स्वीडेनमा रहँदा स्क्यान्डिया इन्सुरेन्स कम्पनी र वायरलेस मेन गेट कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थे ।

आईटी विज्ञको रूपमा चिनिने कार्लको नेपाल आगमन र त्यसपछि नेपाली अंगीकृत नागरिकता लिँदासम्मको सबै विवरणहरू शंकास्पद रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यसबारे नेपालको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान गरेर रिपोर्ट पनि दिएको छ ।

तर कानुनी रूपमा उनीहरूले सबै प्रक्रिया पूरा गरेर नेपाली नागरिकता समेत लिएकाले कारबाही प्रक्रिया भने अघि बढाउन नसकिएको अध्यागमन स्रोत बताउँछ ।

अनलाइनखबरलाई प्राप्त गोप्य रिपोर्टमा भनिएको छ, ‘नेपाली नागरिकसँग विवाह गरी अंगीकृत नागरिकता प्राप्तपछि सम्बन्ध बिच्छेद गर्ने र पुनः विदेशीसँग विवाह गरेर अंगिकृत नेपाली नागरिकता दिलाई नागरिकताभित्रको लुपहोल प्रयोग गर्दा राजस्वमा चुहावट मात्रै होइन, राष्ट्रिय सुरक्षा समेत चुनौतीपूर्ण हुँदै जान्छ ।’

०००

यस्तै अविश्वासिलो विवाह गरेर शंकास्पद गतिविधि गरेको आरोपमा एक जना अमेरिकी नागरिक त डिपोर्टमा परेका छन् । अमेरिकी महिला अमान्ड मैडा समर्स विगत १५ वर्षदेखि नेपाल बस्दै आएकी थिइन् ।

उनै अमान्डले काभ्रेको चौरी देउराली गाउँपालिका–७, मादनकुँडारी ठेगाना भएका ९२ वर्षीय हर्कबहादुर घर्तीसँग २० चैत २०७१ मा विवाह गरिन् । जबकी त्यतिबेला उनीहरूको उमेरको अन्तर करिब २० वर्षको थियो ।

विवाह पश्चात अमान्ड वैवाहिक भिसामा नेपालमा बसिन् । यो विवाहको उद्देश्य भने हर्कबहादुरसँगै बसेर जीवन जीउनु थिएन । हर्कबहादुरसँग विवाह गरेपछि अमान्ड भने काठमाडौं आइन् । ललितपुर महानगरपालिका–२५ स्थित सैंबुमा बस्न थालिन् ।

काभ्रेका वृद्धसँग विवाह गरेकी अमान्ड भने सन्ध्या कर्णको नाममा दर्ता भएको स्वालम्बन नामक एनजीओमा आबद्ध रहेको खुल्यो । अप्रत्यक्ष रूपमा एनजीओ तथा भोलेन्टरी मोबिलाइजेसनको रूपमा आबद्ध रहेकी अमान्डले आफ्नो युट्युब च्यानल पनि चलाउँथिन् ।

बेलायतको राष्ट्रिय सुरक्षामा खतरा परेको भन्दै देश निकाला गरिएको भन्दै होसेनबलले कारण माग्दै दारय गरेको रिटमा अदालतले ‘सुरक्षाका अगाडि न्याय पनि ब्याक बेन्चमा हुन्छ’ भन्दै फैसला गरेको थियो ।

तर उनको गतिविधि भने निकै शंकास्पद भेटियो । उनले पाकिस्तानी युवकलाई नेपालमा सेल्टर देखिएको भेटियो । ‘नेपाली वृद्धसँग विवाह गर्ने । वैवाहिक भिसा लिएपछि अनि ती वृद्धलाई छाडेर काठमाडौं आउने, पाकिस्तानीलाई सेल्टर दिने भूमिका शंकास्पद थियो । राष्ट्रिय सुरक्षाका दृष्टिले उनको गतिविधि निकै संवेदनशील थियो’ रिपोर्टमा उल्लेख छ ।

अमान्डले सेल्टर दिएका लर्ड किङ भिन्सेन्ट नाम गरेका पाकिस्तानी युवा २८ जनवरी २०२५ मा नेपाल प्रवेश गरेका थिए ।

उनले १२ मे २०२५ सम्मको पर्यटक भिसा लिएका थिए । भिसा अवधि सकिएका उनै पाकिस्तानी नागरिकलाई अमान्डले एक महिनादेखि सेल्टर दिएर राखेको खुल्यो ।

गुप्तचरकै सूचनाको आधारमा सैंबुबाट २९ जेठ २०८३ उनीहरू पक्राउ परेका थिए । उनीहरूलाई डिपोर्ट गरियो ।

विदेशीहरूका यस्ता शंकास्पद गतिविधिहरूबारे स्मरण गर्दै विशेष ब्युरोमा बसेका एक पूर्वडीआईजी करिब १३ वर्ष पहिलेको घटना सम्झन्छन् ।

ती पूर्वडीआईजीका अनुसार करिब २०६५ सालको तिरको कुरा हो । दरबारमार्गमा उत्तर कोरियाली नागरिकको रेस्टुरेन्ट थियो । उक्त रेस्टुरेन्टमा दक्षिण कोरियालीहरू पनि खान जान्थे ।

उनीहरूका हुलिया, बोलीचाली पनि उस्तै भएकाले घुलमिल हुन पनि सहज भयो । पछि होटलका उत्तर कोरियाली म्यानेजर गायब भए । बुझ्दै जाँदा त्यही होटलमा दैनिकजसो खान जाने दक्षिण कोरियालीले हेटौंडाको बाटो हुँदा भारतस्थित दक्षिण कोरियाली दूतावास पुर्‍याएको खुल्यो । ती अधिकारी भन्छन्, ‘त्यति बेला केही दक्षिण कोरियालीहरू मह बेच्दै काठमाडौं बस्ने तर उनीहरूको काम भने जासुसी मात्रै थियो ।’

विदेशीहरूका यस्ता गतिविधिले देशको आन्तरिक र राष्ट्रिय सुरक्षामा मात्रै नभएर भू–राजनीतिक रूपमा पनि ठूलो असर पार्न सक्ने उनको बुझाइ छ ।

एक वर्षमै साढे ५ सय विदेशी देश निकाला

विवाहको आवरण देखाएर भएका यस्ता गतिविधि राष्ट्रिय सुरक्षाका हिसाबले निकै जोखिमपूर्ण मानिने रिपोर्टमा उल्लेख छ । पहिला अध्ययन भिसा, व्यवसायिक भिसाको बाहनामा लामो समय नेपालमा बसेर मिसनरीको रूपमा काम गर्ने प्रवृत्ति देखिएकोमा भने अहिले त्यसको सिफ्ट विवाहमा भएको गुप्तचरी संयन्त्रको बुझाइ छ ।

नेपाल आएर भिसा विपरीतको काम गर्ने अध्यागमन नियम उल्लंघन गर्नेदेखि तोकिए भन्दा बढी समय बसेका (ओभर स्टे) हरूलाई डिपोर्ट गरिँदै आएको छ ।

अध्यागमनको रिपोर्ट अनुसार सन् २०२५ मा मात्रै ५२३ विदेशीलाई डिपोर्ट गरिएको छ । जसमा चीनका सबैभन्दा बढी १२० नागरिक छन् । त्यसैगरी बंगलादेशी ७५, अमेरिकन ३५, बेलायत २२, पाकिस्तान १८ र बाँकी अन्य मुलुकका २५३ छन् ।

उनीहरूमध्ये ४५९ जना ‘ओभर स्टे’ छन् भने बाँकी ६४ जना शंकास्पद गतिविधिमा लागेकाहरू छन् ।

६४ जना भने मिसनरी गतिविधिमा लागेका र देशको आन्तरिक र राष्ट्रिय सुरक्षा तथा भू–राजनीतिमा समेत असर पर्ने गतिविधि गरेको देखिएपछि उनीहरूलाई १० वर्षसम्म नेपाल आउन नमिल्ने गरी देश निकाला गरिएको छ ।

‘अमेरिका, बेलायत, चीन जस्ता विकसित देशका नागरिकहरू अवैधानिक रूपमा नेपाल बस्छन् भने त्यो सुरक्षाको हिसाबले पहिलो शंकाको घेरामा पर्नुपर्छ ।

उनीहरू निश्चित उद्देश्य र कामका लागि तोकिएका व्यक्ति हुन सक्छन्,’ गुप्तचरबाट अवकाश पाएका एक पूर्वएआईजी भन्छन् ।

यस्ता सबै घटनाहरू देशको आन्तरिक र राष्ट्रिय सुरक्षामा प्रत्यक्ष जोडिएका विषयहरू हुन् । सुरक्षाको महत्त्वबारे अमेरिकी पत्रकार मार्क होसेनबल केसमा राम्रोसँग व्याख्या गरिएको छ ।

अमेरिकी पत्रकार मार्क होसेनबल लन्डनमा बसेर इभिनिङ स्ट्यान्ड पत्रिकामा काम गर्थे । उनले सन् १९७७ मा बेलायतको गोप्य गुप्तचरी निकायका केही संवेदनशील सूचनाहरू समेटेर एउटा लेख लेखेका थिए । यसले बेलायतको राष्ट्रिय सुरक्षामा खतरा परेको भन्दै उनलाई देश निकालाको निर्णय गरिएको थियो ।

त्यसपछि होसेनबलले यसको कारण माग्दै अदालतमा मुद्दा हालेका थिए । जहाँ न्यायाधीश लर्ड डेनिङले फैसला गर्दै ‘सुरक्षाका अगाडि न्याय पनि ब्याक बेन्चमा हुन्छ’ भन्दै फैसला गरेका थिए । होसेनबललाई देश निकाला गर्नुको कारण समेत सार्वजनिक गरिएन ।

यो प्रसंग सम्झदै केही समय अघिपूर्व गृहसचिव उमेश मैलालीले अनलाइनखबरसँग भनेका थिए, ‘सुरक्षा नै राज्यको पहिलो प्राथमिकता हो । सुरक्षापछि मात्रै मानव अधिकार, न्याय जस्ता विषयहरू जोडिएर आउने भएकाले सुरक्षाका लागि अनुहार हेर्नु हुँदैन ।’

‘विदेशीले हाम्रोमा प्रति-जासुसी गर्ने, अनि हामी बेखबर हुने ?’

टेकप्रसाद राई–पूर्वएआईजी

विभिन्न नाममा नेपालमा विदेशीहरूको गतिविधि तीव्र देखिन्छ । कोही केही निश्चित मिसनसहित आएका हुनसक्छन् । कोही धर्म प्रचार प्रसारको नाममा देखिन्छ । कोही व्यापार गर्ने बाहाना देखाएर आएका हुन्छन् ।

बाहिर एउटा आवरण देखाएर अर्कै धन्दा गर्नेहरूबाट देशको आन्तरिक तथा बाह्य सुरक्षामा ठूलो जोखिम निम्तिन सक्छ । धर्मका नाममा पछिल्लो समय भएका विदेशीका गतिविधिले हाम्रो आन्तरिक सुरक्षा नै खलबल्याउँछ ।

हाम्रो समाजको सामाजिक, धार्मिक सदभाव नै खलबल्याउँछ । अनि अन्ततः देश सामुदायिक हिंसामा जानसक्छ । अहिले पनि विभिन्न धर्म, जातिका नाममा हिंसा भड्काउने प्रयास भइरहेकै छन् । यस्ता धार्मिक गतिविधिमा बढ्ने र अझ त्यसमा विदेशीहरूले ‘प्लान्टेड’ गरेका व्यक्तिहरू भएको अवस्थामा आन्तरिक सुरक्षा चुनौतीपूर्ण बन्छ ।

अहिले संसार ग्लोबल भिजेल भइसक्यो । अहिले हाम्रोमा विभिन्न जात जाति धर्म, संस्कृती मिलेर बसेका हुन्छन् । बेलुका आउने पाहुनालाई लक्ष्मीको रूपमा लिइन्छ । हाम्रो यस्तो कल्चर हो । एक जातिले अर्को जातिसँग मित लगाउने, भाइचारा कायम राख्ने, सम्बन्ध बिस्तार गर्ने मिलेर बस्ने हाम्रो संस्कृति हो ।

यस्तो किसिमको हाम्रो सामाजिक हार्मोनीलाई कसैले बनाइदिएकाले धर्मले खलबल्याउँछ । समाजमा हिंसा फैलाउँछ ।

अर्को राष्ट्रिय सुरक्षाका विषय जोडिएर आउँछ । भू–राजनीतिक हिसाबले यसलाई बुझ्नु पर्छ । नेपालमा उनीहरूको स्वार्थ के हो ?, किन कोही भेष बदलेर यहाँ बसिरहेको छ ? यस्ता विषयको सूक्ष्म विश्लेषण गरिनुपर्छ ।

विभिन्न कभर बसेर उनीहरूले गर्ने गतिविधि के हुन् ? कुनै विकसित देशको विभिन्न रणनीति हुन्छन् । नेपालमा बसेर उनीहरूले हेर्नुपर्ने, बुझ्नु पर्ने विषयहरू होलान् । यस्ता विषयहरूमा हाम्रा आँखा पुग्नु जरुरी हुन्छ ।

नेपालीसँग विवाह गरेर बस्ने अनि जासुसीको गतिविधि गर्ने पुरानै तरिका हो । पहिला पनि यस्तै शैलीमा नेपाली युवा–युवतीसँग विवाह गरेर जासुसी गरेको पाइएको थियो ।

त्यसैले विभिन्न अध्ययनको नाममा होस् वा एनजीओ, आइएनजीओको नाममा आउने फन्डदेखि विदेशी व्यक्तिको विवरण समेत सुक्ष्म अध्ययन हुनुपर्ने देखिन्छ । यस्ता वितिविधिलाई विभिन्न कोणमा वर्गीकरण गरेर हेरिनुपर्छ ।

सुरुमा विदेशबाट आएपछि हेर्ने भनेको अध्यागमन विभागले हो । हाम्रो छिर्ने ठाउँ त त्यही हो । अब यस्ता घटनालाई कसरी कम गर्ने भनेर अध्यागमनले योजना बनाउनुपर्छ । डाटामा काम गर्नुपर्छ । इमिग्रेसनको काम खाली आउनेलाई भिसा दिइहाल्ने र अनि कसैले रिपोर्ट गर्‍यो भने मात्रै डिपोर्ट गर्ने होइन ।

हाम्रोमा डेटा सेयरिङ नै भएन । अध्यागमनबाट छिरेको त्यो शंकास्पद व्यक्तिको डेटा अब कहाँ-कहाँ पुग्नु पर्ने हो, कुन-कुन निकायलाई चाहिने त्यो सेयरिङ हुनुपर्छ । कोही मान्छे पटक-पटक नेपाल आइराखेको छ भने किन आयो ? के उद्देश्यले आयो । त्यसको नेपालमा के छ ? यस्ता विषयहरू हेरिनुपर्छ ।

अर्को कुरा एनजीओ, आईएनजीओ हेर्ने समाज कल्याण परिषद् छ नि त्यहाँ इन्टेलिजेन्स बुझेको मान्छे हुनुपर्छ । जे आए पनि दर्ता गरिहाल्ने होइन । एनजीओ, आईएनजीओ किन दर्ता गरिँदैछ । त्यसको उद्देश्य के हो ? त्यहाँ आएको फन्ड कहाँ जाँदैछ ? त्यसले कसरी काम गर्छ । यो सबै रिपोर्ट हुनुपर्छ ।

अनि यस्ता रिपोर्टहरूको विश्लेषण गर्नुपर्छ । अर्कोतर्फ हाम्रोमा खुल्ला सीमा छ । पाकिस्तानको इन्ट्रेस नेपाल होला । अनि भारतको इन्ट्रेस पनि नेपालमा होला । यही भित्र अन्य मुलुकका गुप्तचरी निकायबीच नै प्रतिजाजुसी होला । कहाँ कसले के गरिरहेको छ भन्ने ज्ञान भने हाम्रो संयन्त्रसँग भएन भने हाम्रो भू–राजनीतिक, राष्ट्रिय सुरक्षामा ठूलो खतरा पैदा हुन्छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?