Comments Add Comment

विश्वकप क्रिकेटमा छनोट हुन नयाँ रोडम्याप, नेपालको यस्तो छ सम्भावना

५ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को एक दिवसीय विश्वकपको नयाँ रोडम्याप जारी गरेको छ ।
सिंगापुरमा बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपका लागि नयाँ फम्र्याट तयार पारेको हो ।

विश्वकपका लागि तयार पारिएको विभिन्न छनोटअन्तर्गत ३ वटा लिगहरु हुनेछन् । जसमा आईसीसी सुपर लिग, आईसिसी लिग-२ र च्यालेन्ज कप रहेका छन् ।

आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम सहभागी हुनेछन् । आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकपमा स्थान बनाउने छन् । सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । यो सुपर लिग २०२० देखि २०२२ सम्म हुनेछ ।

त्यस्तै, विश्वकप छनोटको लागि अर्को लिग हो, आईसीसी लिग-२ । आईसीसी लिग-२ मा ७ राष्ट्रले खेल्ने छन् । यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ बाट छनोट भएर आएका ४ टोलीले खेल्नेछन् । यो २०१९ देखि २०२१ सम्म हुनेछ ।

आईसीसी लिग-२ को शीर्ष ३ टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी ४ टोली भने विश्वकप छनोट प्ले अफमा झर्ने छन् ।

प्ले अफमा ६ टोली रहने छन् । प्ले अफमा पुगेका दुई राष्ट्र भने च्यालेन्ज कपबाट आउने छन् । च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरियताका १२ टोलीले खेल्नेछन् । १२ टोलीलाई २ समूहमा विभाजन गरिनेछन् । दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउने छन् । विश्वकप छनोटको प्लेअफ २०२२ मा हुनेछ ।

विश्वकप छनोटको प्लेअफको शीर्ष २ टिमले पनि विश्वकप छनोटमा स्थान बनाउने छन् ।

विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसीसी लिग-२ का ३ र विश्वकप छनोट प्ले अफका २ राष्ट्र गरी १० टिम रहने छन् । विश्वकप छनोट सन् २०२२ मा हुने छ ।

विश्वकपमा पुग्न नेपालले दुई चरण पार गर्नुपर्ने

सन् २०२३ मा भारतमा हुने विश्वकप खेल्नका लागि नेपालले दुई चरण पार गर्नुपर्ने भएको छ । आईसीसीले तयार पारेको विश्वकपको नयाँ रोड म्यापअनुसार नेपाल अहिले आईसीसी लिग-२ मा रहेको छ ।

यो समूहमा नेपालसँगै बलियो राष्ट्र स्टकल्यान्ड र युएई रहेका छन् । त्यस्तै, यहाँ यो लिगमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु बाट छनोट भएर आएका ४ राष्ट्र रहने छन् । नेपालको लागि यो लिग निकै चुनौतीपूर्ण रहने छ ।

किनभने स्कटल्यान्ड र युएई बलियो राष्ट्रको रुपमा रहेको छ, भने डिभिजन टु बाट आउने टिम पनि नेपालको लागि बलियो प्रतिद्वन्द्वी सावित हुन सक्छन् ।

यो लिगमा नेपाल टप तीनभित्र पर्न सके सिधै विश्वकप छनोट खेल्न पाउनेछ । तर शीर्ष ३ भित्र पर्न नसकेमा नेपालले विश्वकप छनोटमा प्रवेश गर्न विश्वकप छनोट प्लेअफ खेल्ने मौका पाउने छ ।

नेपालले विश्वकप छनोटमा स्थान बनाउन सके माथिल्लो स्तरका ५ राष्ट्रसहित अन्य ४ राष्ट्रसँग कडा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment