Comments Add Comment

यसरी बनाउने माछाको अचारः कति स्वादिलो, कति सजिलो ?

चाडपर्वको बेला छ । दशैंको चहलपहल अझै बाँकी छ । केही सातापछि तिहार आउँदैछ । चाडपर्वको बेला आगन्तुकलाई नयाँ-नयाँ परिकार चखाउने रहर हुन्छ । सामान्य दिनमा पाक्ने भन्दा बेग्लै खान्की बनाएर चखाउनुको आनन्द कम हुन्छ ?

खाना बनाउनु आफैमा कला पनि हो । खानेकुरा उही हो, मरमसला उही हो । तर, पकाउने विधी थोरै बदल्नुपर्छ, त्यही खानामा अनेकथरी स्वाद निकाल्न सकिन्छ ।

यसरी खानेकुरा पकाउन धेरै सरसामाग्री चाहिने पनि होइन । न त बढी मेहनत नै गर्नुपर्छ । वस्, यसका लागि तपाईंमा रुची र लगाव हुनुपर्छ । यहाँ हामीले माछाको परिकार बनाएका छौं । खासगरी माछाको अचार । यो बनाउने विधी सजिलो छ । चाहिने सामाग्री पनि सजिलै उपलब्ध हुन्छ । बनाउन समय लाग्दैन । जबकी यसरी तयार गरिएको माछाको अचारले तपाईंको जिब्रो सजिलै लोभ्याउँछ । यो अचारले एक छाक टार्ने मात्र होइन, हप्ता दिनसम्म राखेर खान सकिन्छ ।

चाडपर्ववाहेक अन्य दिनमा पनि माछाको अचार बनाएर फ्रिजमा राख्न सकिन्छ । कहिले काहीँ हतारमा खाना बनाउने समय नहुँदा माछाको अचारसँग खाना खाए हुन्छ ।

कसरी बनाउने माछाको अचार ?

अचारका लागि फ्रेस अझ संभव भएसम्म जिउँदो माछा राम्रो हुन्छ । मझौला आकारको माछालाई एउटै आकारमा स्लाइस गर्ने । राम्ररी सफा गर्ने । माछा तयार भएपछि त्यसका लागि अन्य आवश्यक सामाग्री तयार गर्ने ।

आवश्यक सामाग्री

– बेसार, नुन, रातो खुर्सानीको धुलो र भेनिगर ।

– गोलभेंडा (पेस्ट बनाउने), लसुनको पेस्ट ।

– तोरीको दाना, कडी पत्ता

– माछा तार्नका लागि तेल र त्यसमा मिसाउने नरिवलको तेल चाहिन्छ ।

कसरी बनाउने ?

– माछालाई भाँडामा राखेर नुन, बेसार र रातो खुर्सानीको धुलो राख्ने । त्यसमा थोरै भेनिगर राख्ने र राम्ररी मोल्ने ।

– यसरी मेरिनेट गरिसकेको माछालाई आधा घण्टा राख्ने ।

– अब एउटा प्यानमा तेल तताउने । त्यसमा थोरै नरिवलको तेल मिसाउने ।

– तेल तातिएपछि माछा फ्राइ गर्ने । तर, डिप फ्राइ गर्नु हुँदैन । ठिक्क फ्राइ गरिसकेपछि निकाल्ने ।

– अब त्यही प्यानमा बाँकी रहेको तेल निकाल्ने । थोरै तेल बाँकी राख्ने । उक्त तेलमा तोरीको दाना र कडिपत्ता राखेर झान्ने ।

– अब त्यसमाथि लसुन र गोलभेंडाको पेस्ट राखेर पकाउने । सानो आगोमा यसरी पकाउने ताकि, मसला र तेल अलग हुनुपर्छ ।

– यसरी तयार भएको मसलामा माछा राख्ने । त्यसमाथि दुई चम्चा भेनिगर राख्ने । माछाको अचार तयार हुन्छ ।

– यसरी तयार भएको माछाको अचारलाई स्न्याक्सको रुपमा वा खानासँग खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment