Comments Add Comment

प्रधानमन्त्रीज्यू ! यो कुन तन्त्र हो ?

दशैं सकियो । तर दशैंले सिर्जना गरेको बहस बेगवान गतिमा बगिरहेको छ ।

‘दशैं कसको चाड ? दशैं कस्तो चाड ?’ प्रश्न पेचिलो बन्दै गइरहेको छ । धर्मनिरपेक्ष देशमा कुनै खास धर्मको बिषयलाई लिएर दोहोरी खेल्नु समयको बर्बादी बाहेक अरू केही होइन । तर बिषय यति सरल छ जस्तो लाग्दै छैन । कालान्तरमा कतै यो दोहोरी द्वन्द्वमा रूपान्तर हुने त होइन ? बिचारको आकासमा शंकाको बादल घना बन्दै गइरहेको छ ।

हिजो राजतन्त्रका राजादेखि आज गणतन्त्रका राष्ट्रपतिसम्मले दशैंमा जे जस्ता ब्यबहार देखाए त्यसले कैयौं प्रश्नहरू जन्माएका छन् । देशलाई फेरि हिन्दू अधिराज्यमै फर्काउन खोजिएको त होइन ? अपूर्ण रहेको राज्य पुनर्संरचनालाई बीच बाटोमै पुरपार पारेर, जमिनमा जरा फैलदैँ गरेको गणतन्त्रको कलिलो बिरूवालाई बांगबुंग उखेलेर देशलाई पश्चगामी पथमा हिँडाउन खोजिएको त होइन ? हो, साँच्चै प्रश्नहरू जन्मिएका छन् ।

दशैं मुख्यत: हिन्दू धर्मावलम्बी नेपालीहरूको मुख्य चाड हो । संविधानमा धर्मनिरपेक्षता लेखिसकेपछि राज्यले धर्मसापेक्ष ब्यबहार गर्नै हुँदैन । दु:खकासाथ भन्नु पर्छ, नेपालमा त्यही भइरहेको छ । सबै धर्मावलम्बीहरूले मनाउने पर्व राज्यको नजरमा समान हुनुपर्छ । कुनै धर्मावलम्बीले मनाउने पर्व राष्ट्रिय हुने र कुनै धर्मावलम्बीले मनाउने पर्व अराष्ट्रिय हुनै सक्दैन ।

दशैं राष्ट्रिय पर्व हो । यसमा बहस गर्नु बेकार छ । तर दशैंलाई राष्ट्रिय पर्व मान्ने नाममा राज्य आफैँ सक्रिय रूपमा संलग्न भएर हप्तादिनसम्म राष्ट्रिय बिदा दिने, कर्मचारीलाई चाड मनाउन एकमहिनाको थप तलव दिने तर अन्य कतिपय धर्मावलम्बीहरूको चाडपर्वमा (केही चाडपर्वहरूबाहेक) राज्यले एउटा बक्तब्यसम्म जारी नगर्ने जुन पूर्वाग्रही सोंच छ; यसैबाट थाहा हुन्छ, हाम्रा गणतान्त्रिक राजाहरूको मनोदशा ।

नेपाल बहुजतीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो भनेर संविधानमै स्वीकार गरिसकेपछि पंचायतमा जस्तो, राजतन्त्रमा जस्तो किन पक्षपातपूर्ण ब्यबहार गर्दैछ राज्य ? नेपाल सबै नेपालीको साझा फुलबारी हो भने सबै फूलहरूले समान रूपमा फुल्न नपाउने पक्षपातपूर्ण ब्यबहार किन गर्दैछ राज्य ?

समावेशितालाई जात र धर्म देख्ने शासकहरू ! कतिपय कथित विद्वान बुद्धिजीवीहरू !! तपाईंहरूलाई प्रश्न छ- के नेपाल बहुजतीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो भनेर लेख्नको लागि मात्र लेखिएको हो संविधानमा ? या नेपाललाई साँच्चै ब्यबहारमै समावेशी बनाउन लेखिएको हो ?

सम्माननीय प्रधानमन्त्रीज्यू ! तपाईंलाई मेरो कुरा क्षुद्र लाग्नसक्छ । साँच्चै छातीमा हात राखेर भन्नुहोस्- तपाईंलाई यो गणतन्त्रको माया छ ? धर्मनिरपेक्षता र समावेशिता अन्तरमनदेखि स्वीकार गर्नुहुन्छ ? यत्रो युगीन परिबर्तनको स्वामित्व लिने साहस छ ? सत्य कटु हुन्छ प्रधानमन्त्रीज्यू । मलाई लाग्छ, तपाईंले केही गर्न सक्नुहुन्न । किनकि, यी सब तपाईंको एजेण्डा थिएनन् ।

एकचोटि आफ्नै बोली स्मरण गर्नुस्- “नेपालमा अहिले गणतन्त्र आउँछ भन्नु र बयलगाडा चढेर अमेरिका पुग्न खोज्नु एउटै हो । “प्रधानमन्त्रीज्यू ! निश्चय नै म तपाईंलाई सम्मान गर्छु । किनकि, १४ बर्ष जेल बसेको नेता हो तपाईं । जिन्दगीभर हन्डरठक्कर खाएको नेता हो तपाईं । तर जेल बस्नु, हन्डरठक्कर खानु र भिजनसहित अजेन्डामा आधारित रहेर देशको नेतृत्व गर्नु फरक कुरा हो ।

युद्ध हुन्छ, आन्दोलन हुन्छ । ती युद्ध र आन्दोलनहरूले परिबर्तन पनि ल्याउँछन् । तर, मुख्य सवाल परिवर्तन स्थायी हुन्छ कि हुन्न ? परिबर्तनले देशलाई अग्रगमनमा लैजान्छ कि लैजान्न ? युद्ध र आन्दोलनको मापन सायद यिनै कुराहरूले गरिन्छ । यसका लागि सबभन्दा पहिला नेताहरू र राज्यसन्चालकहरूको आचार, बिचार र संस्कारमा परिवर्तन हुनु जरूरी छ ।

ब्यबहारलाई सहयोग नगर्ने बिचार र बिचारको समर्थन नगर्ने ब्यबहारको केही काम छैन । कम्युनिस्ट हुँ भन्ने तपाईंहरूको सबभन्दा ठूलो अन्तर्बिरोध नै यहीँ देखियो । मनमा सामन्तवाद बोकेर बाहिर साम्यवादी बन्न खोजेर कहाँ साम्यवादी भइन्छ कमरेड ? मुटुमा श्रीपेच सजाएर टाउकामा कालो टोपी लाउँदैमा कहाँ कम्युनिस्ट भइन्छ कमरेड ?

फेरि दशैंकै कुरा गरौं ।

दशैं धर्ममात्रै होइन, संस्कृति पनि हो । अझ खासमा भन्ने हो भने दशैं संस्कृति हो । धर्म त आफ्नो स्वार्थ अनुसार शासकहरूले पछि जोडेका मात्र हुन् । कृषियुगको आरम्भसँगै बाली भित्र्याउने पर्वको रूपमा जन्मिएको दशैं पछि महिषासुरमाथि देवीको र रावणमाथि रामको विजयको पौराणिक सन्दर्भ जोडेर शासकहरूले आफ्नो सत्ता अक्षुण्ण राख्न जनतालाई शक्तिपूजक बनाए ।

सामन्तवादमा यी सब कुरा स्वाभाविक नै थिए । किनकि, सामन्तवाद भनेको शक्तिको जगमाथि सत्ताको सोपानक्रममा अडिएको राज्यब्यवस्था हो । तर नेपाल र नेपाली गणतन्त्रवादी भएको दशक बढि भइसकेको कुरा हाम्रा शासकहरूले नभु्ल्नु पर्ने हो ।

पारिवारिक मिलन, सामाजिक सद्भभाव, शरद ऋतुको स्वच्छ वातावरणमा प्रकृतिसँगै मनै रोमान्चित हुने गरी मनोरन्जन गरेर स्वस्थ हुनु सारै राम्रो कुरा हो । ज्येष्ठ मान्यजनको हातबाट टीका ग्रहण गर्नु र आशिर्वाद लिनु पनि राम्रो कुरा हो । तर राज्यको उपल्लो पदमा रहेका पदाधिकारीहरूसँग सोपानक्रममा टीका ग्रहण गर्न वाध्य गर्नु सामन्त वाद नै हो । श्रीपेचविनाको राजतन्त्र नै हो । यसलाई किमार्थ गणतन्त्र भन्न सकिन्न ।

सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्व प्रधानन्यायधीसज्यूले टीका ग्रहण गर्दै गरेको एउटा फोटो सार्बजनिक भयो । बैयक्तिक हिसाबले गोपाल पराजुलीलाई आफ्नो इच्छानुसार तस्बीर खिचाउने स्वतन्त्रता छ । तर, गोपाल पराजुली एउटा ब्यक्ति मात्रै होइन, पूर्व प्रधानन्यायधीश हो । जसरी हिजो राजतन्त्रमा महाराजाहरूले राजशी शैलीमा प्रजाहरूलाई घुँडा टेकाएर अपमानजनक ब्यबहार गर्थे । ठीक त्यसैगरी गणतन्त्रका राष्ट्रपतिले पूर्व प्रधानन्यायधीशलाई घुँडा टेकाएर टीका लगाई दिएर जुन अपमानजनक ब्यबहार गर्नु भएको छ; यो सहन गर्न सकिन बिषय नै होइन । यो कसैको पारिवारिक वा ब्यक्तिगत बिषय पनि होइन । यो राज्यको बिषय हो । शासकहरूको मनोवृत्तिको कुरा हो । सार्बभौम गणतन्त्रको कुरा हो ।

त्यसैले दृढतापूर्वक भन्न चाहान्छु म- गणतन्त्रका राष्ट्रपतिले पूर्व प्रधानन्यायधीशलाई राजतन्त्रकालीन प्रजाको रूपमा गर्नुभएको अपमानजनक ब्यबहारप्रति खेद प्रकट गर्दै नागरिकसमक्ष माफी माग्नुपर्छ । र, अब आइन्दा सत्ताको सोपानक्रम अनुसार अघोषित उर्दी जारी गरी शक्तिमा रहेका पदाधिकारीहरूले टीका लाउने राजतन्त्रकालीन परम्पराको अन्त्य गरिनुपर्छ । संस्कृति र परम्पराको नाममा सेवकहरू जन्माउने यस्तो सामन्तवादी मनोवृत्तिलाई कुनै हालतमा मान्न सकिन्न । म चिच्याई चिच्याई भन्छु- सामन्ती मनोवृत्ति – मुर्दावाद !

राष्ट्रपति महोदयाले राजशी शैलीमा संस्कृति र परम्पराको नाममा दुनियाँसामु लाजले हामी सबै नेपालीको शिर झुकाउने हर्कत गरेर बस्नुभन्दा सन्तानबाट अपहेलित भएका मुटुमा पीडाको शूल र आँखामा आँसुको मूल बोकेर बाँचिरहेका पशुपति बृद्धाश्रमका बृद्ध-बृद्धाहरूलाई भेटेर आशिर्वाद थापे के बिग्रन्थ्यो होला ?

प्रधानमन्त्रीज्यूले दशैंको जमरा र टीकामा प्रयोग गरिने धान-चामल अब उप्रान्त अनिकालग्रस्त कर्णाली प्रदेशमा पठाइने छ । अनावश्यक अन्न कुहाइने छैन । टीकामा अबिर मात्र प्रयोग गरिने छ । बलीको नाममा ठुलो मात्रामा गरिने पशुपंक्षीको हत्या आइन्दा गरिने छैन । नजिकको मासु पसलबाट स्वस्थ र सस्तो मासु किनेर खाइने छ । दानदक्षिणा, गरगहना र लवाईखुवाईमा देखासिखी गरेर ऋणको भार थप्नेछैन भनेर उद्घोष गरे कति राम्रो हुन्थ्यो होला ?

त्यस्तै, राज्य पदाधिकारीबाट सोपानक्रममा टीका लगाइने छैन । दशैंलाई मात्र बिशेष राष्ट्रिय चाडको रूपमा लिई अन्य चाडपर्वलाई राज्यले पक्षपात गर्नेछैन भन्ने निर्णय टीकाकै दिन मन्त्रीपरिषद बोलाई निर्णय गर्नु भएको भए कति राम्रो हुन्थ्यो होला ?

प्रधानमन्त्रीज्यू ! तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । जनताको बिश्वास र इतिहासले सुम्पिएको जिम्मेवारीको भारी उखानटुक्का हालेजस्तो हलुको हुँदैन । प्रधानमन्त्री पद तपाईंलाई कागताली परेको पनि पक्कै होइन होला । तपाईंको ब्यबहार हेर्दा तपाईं राजतन्त्र र गणतन्त्रको क्रसरोडमा उभिए झैँ लाग्छ । तपाईं कुन तन्त्रको प्रधानमन्त्री सोधौं झैं लाग्छ ?

जे होस् प्रधानमन्त्रीज्यू इतिहास बदल्ने तागत छ तपाईंसँग अहिले । तर याद राख्न पनि, पहिला आफूलाई बदलेर मात्र इतिहास बदल्न सकिन्छ । इतिहास बदल्ने अबसर पाएकाहरूले इतिहास बदल्न सकेनन् भने त्यस्ता मान्छेहरूलाई इतिहासले सधैंको लागि आफ्नो गर्तमा पुरिदिन्छ । फेरि पनि म कामना गर्छु- तपाईंलाई इतिहास बदल्ने सफलता मिलोस् । शुभकामना !

(श्रेष्ठ नयाँ शक्ति पार्टीका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment