+
+
Shares

एप्समार्फत अब नगरपालिकाको जनगुनासो सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते ९:५७

६ कात्तिक, बागलुङ । जिल्लाको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालेको छ ।

नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो ।

नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले शुरुवात गरिएको एप्समार्फत सर्वसाधारणका गुनासो तथा जिज्ञासाको समाधानसमेत थालिएको उपप्रमुख लिला रानाले बताए ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि नगरपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको हो । ‘सबैका हातमा मोबाइल फोन छन्, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौं’, उपप्रमुख रानाले भने, ‘नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।’

नगरलाई प्रविधिमैत्री बनाउनका लागि काम कारवाही र सर्वसाधारणले पाउने सुविधाका विषयमा अनलाइन, मोबाइल एप्स र डिजिटल सूचना पार्टीमार्फत जानकारी गराइदै आएको छ । ‘नगरभित्रका सबै सर्वसाधारणलाई एप्सको सुविधा लिनको लागि आग्रह गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, ‘सूचनाको अधिकार प्रत्याभूत गर्न हामीले प्रविधिमैत्री नगर बनाउने अभियानमा छौँ ।’

हरेक आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम, सञ्चालित योजना, जनप्रतिनिधि र कर्मचारीको विवरण तथा भए गरेका कामको प्रगतिसमेत एप्समा राखिएको छ । एप्समा भएका जानकारीको सम्बन्धमा गुनासो वा प्रतिक्रिया र नगरका अरु कामको विषयमा जानकारी वा प्रश्न सबै लिन र जवाफ दिन मिल्ने गरी एप्स तयार पारिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?