Comments Add Comment

पीपीएलका लागि धनगढी ब्लुज तयार, इंग्ल्याण्डका दुई क्रिकेटर पनि टिममा

६ कात्तिक, काठमाडौं । आसन्न पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताका लागि टिम एक्स्पर्ट धनगढी ब्लुजले खेलाडी सार्वजनिक गरेको छ ।

उसले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इंग्ल्याण्डका दुई क्रिकेटरसहित १८ जनाको टिम घोषणा गरेको हो । मार्की प्लेयर दीपेन्द्रसिंह ऐरीसहित अक्सनबाट १४ र दुुई जना आइकोनिक खेलाडी र दुई विदेशी खेलाडी छन् ।

एक्स्पर्ट धनगढी ब्लुजका मालिक सञ्जिव शर्माले आफ्नो टिम राम्रो भएको बताए । उनले भने, ‘हामी उपाधि जित्ने लक्ष्यमा छौं । हाम्रो टिमले उपाधि जितेमा ४ जना खेलाडीलाई अष्ट्रेलियामा लगेर म्याच एक्सपोजरको व्यवस्था गर्छौं ।’

टिमका निर्देशक सुवासचन्द्र प्रधानले सबै खेलाडी युवा रहेको र बलियो टिम बनेको बताए । ‘अक्सनमा पनि हाम्रो लक्ष्य भनेको युवा खेलाडीलाई आफ्नो टिममा अनुबन्धित गर्नु थियो’ उनले भने, ‘मिडिल अर्डरमा केही कमजोर महसुस भएको थियो । त्यसमा पनि विदेशी खेलाडीले परिपूर्ति भएको छ ।’

धनगढीको प्रशिक्षकमा भने मनोज कटुवाल छन् । पत्रकार सम्मेलनमा प्रशिक्षक मनोजले २-३ दिन मात्रै अभ्यास गर्न पाएपनि राम्रो नतिजा निकाल्ने बताए ।

धनगढीले सार्वजनिक गरेको खेलाडीमा मार्की प्लेयरमा दीपेन्द्रसिंह ऐरी छन् । त्यस्तै, मञ्जित श्रेष्ठ, दिलिप नाथ, सौरभ खनाल, विक्रम ठगुन्ना, फिर्दोस अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, रोविन क्षेत्री, सन्दीप सुनार, सन्दीप जोरा, सन्दीप रजाली, सन्तोष भट्ट र योगेन्द्रसिंह कार्की टिममा आवद्ध भएका छन् ।

त्यस्तै आइकोनिक खेलाडीमा सुवेन्दु पाण्डे र अरुणसिंह ऐरी रहेको धनगढी ब्लुजले जनाएको छ ।

इंग्ल्याण्डका दुई क्रिकेटर पनि टिममा

धनगढी ब्लुजले पीपीएलका लागि इंल्याण्डमा घरेलु क्रिकेट खेलेका दुई क्रिकेटर भित्र्याएको छ । ड्यानिएल विलियम लव्रेन्स २१ वर्षीय अलराउन्डर हुन् । उनले इंग्ल्यान्डको उमेर समूहबाट समेत क्रिकेट खेलिसकेका छन् ।

यस्तै ३७ वर्षीय अलराउन्डर पिटर एक अनुभवी खेलाडी हुन् । उनले त्यहाँको विभिन्न क्लबबाट खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment