Comments Add Comment

असफल सरकारलाई बोकेर हिँड्नुपर्ने बाध्यता छ : सीपी गजुरेल

७ कात्तिक, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले नेपाली जनतालाई असफल भइसकेको सरकारलाई बोकेर हिँड्नुपर्ने बाध्यता आइलागेको बताएका छन् ।

बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा नेता गजुरेलले सरकार असफल भए पनि संविधानतः त्यसलाई हटाउने प्रावधान नरहेकाले बोकेर हिँडिरहनुपर्ने बाध्यता रहेको बताएका हुन् ।

‘सरकारलाई हटाउन पनि सकिँदैन । संविधानमा नै त्यस्तो प्रावधान राखेको छ । असफल सरकार बोकेर हिँड्नुपर्ने नेपाली जनताको नियती ? यो संविधानको असफलता हो । जनतालाई नै बोझ भएको सरकार हटाउन नपाउने ? संविधानमा त्यो अधिकार खोसिएको छ’ उनले भने ।

नेता गजुरेलले अब यो सरकारलाई हटाउने एउटै उपाय अब सडक आन्दोलनमात्रै रहेको सुनाए । उनले भने,’सडक आन्दोलनबाटमात्रै सरकार हटाउन सकिन्छ । हिजो सडक आन्दोलनबाट पञ्चायत ढल्यो। राजतन्त्र ढल्यो । ओली नेतृत्वको सरकारलाई संविधानतः हटाउनै सकिँदैन । अब सडकबाटमात्रै हटाउन सकिन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताए । ‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन । प्रचण्डमात्रै होइन, ओलीको विकल्प अहिले माधव नेपाल पनि होइन । संविधानतः ओलीको अहिले विकल्प छैन । सडक आन्दोलनबाट चाहिँ हटाउन विकल्पै विकल्प छन्’ गजुरेलले भने ।

सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न नसकेको भन्दै गजुरेलले सरकारलाई सफल भन्ने ठाउँ कतै पनि नभएको दावी गरे । ‘ओली सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरि पूर्ण रुपमा असफल भयो । यसलाई सफल भन्ने केही पनि आधार छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment