Comments Add Comment

वामदेव गौतम ब्याक भएकै बेस

वामदेव आखिर ब्याक हुन बाध्य भए । वामदेवलाई सांसद बनाउनका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट बिजयी सांसद रामवीर मानन्धरले राजीनामा गर्ने कुरा जनमानसलाई त्यति उपयुक्त र न्याय संगत लागेन । त्यसकारण यसको सामाजिक सञ्जालमा चर्को बिरोध भयो ।

बिरोध हुनु स्वाभाविक पनि हो । किनभने, जनताले रामवीर मानन्धरलाई पाँच बर्षका लागि चुनेका हुन् । त्यसैले कसैका लागि विनाकारण राजिनामा गरेर पन्छिनु उपयुक्त हुँदै होइन । प्रभावशाली नेतालाई ठाउँ छाडेवापत भविश्यमा मन्त्री वा त्यस्तै ठूलो पद पाइने आशा भए पनि यो कदम देश र जनताका लागि धोका नै हो ।

कानुनतः राजीनामा गर्न पाइने नियम आफ्नो ठाउँमा ठीक होला । तर, के कारण राजीनामा गरियो भन्ने कुराले ठूलो अर्थ राख्दछ । यदि भ्रष्टाचार, ज्यानमारा वा त्यस्तै प्रकारको अभियोग लाग्यो भने अथवा स्वास्थ्यले साथ दिएन भने मात्र राजीनामा गर्दा उपयुक्त हुन्छ ।

तर, कसैलाई जिताउनकै लागि राजिनामा गर्नु त केवल जग हँसाउने काम मात्र भयो । आइन्दा संसदमा उठ्ने व्यक्ति कम्तिमा ५ वर्ष शारीरिक र मानसिकरुपले काम गर्न सक्ने खालको छान्न राजनीतिक पार्टीहरुलाई अनुरोध छ ।

कुनै सांसदको मृत्यु भएर पद खाली भएको अवस्थामा मात्र उपचुनाव गर्नु उपयुक्त र न्यायसंगत हुन्छ । प्रक्रिया मिलाएर मिलिजुली सत्तामा पुग्ने कुराले प्रजात्रन्त्र र लोकतन्त्रको धज्जी उडाएको छ । अब नारायणकाजी श्रेष्ठलाई पनि अर्को रामबीर खोजेर संसदमा ल्याए भयो । किनकि पार्टी एकीकरणमा वहाँको पनि वामदेवको जत्तिकै योगदान छ ।

एकचोटि चुनाव हारेको व्यक्ति फेरि उपचुनावमा उठ्नै हुँदैन भनेको होइन । तर, यो चुनाव गर्न पर्ने समय भने होइन । बरु उपचुनाव गरेर करोडौं रकम त्यसै खेर फाल्न्नु भन्दा बरु त्यो पैसाले तराईमा शीतलहरबाट प्रभावित गरीबलाई ब्लाङकेट किनेर दिए कसो होला ? कसैलाई सांसद पद चाहियो भन्दैमा जनताले तिरेको कर वा राष्ट्रको ढुकुटी खर्च गरेर जतिबेला पनि चुनाव गर्ने कुरालाई जनताले के आधारमा उपयुक्त मान्ने ? राष्ट्रलाई करोडौं घाटा हुने गरी बेला न कुबेला चुनाब गर्ने कुरा पट्टक्कै मिलेन ।

यसरी चुनाब गर्दा जनआक्रोश स्वतः बढ्ने छ । अतः जनताले वामदेवलाई हराउन पनि सक्छन् । तर, केही गरी चुनाब जितेमा पनि त्यसले जनतामा राम्रो सन्देश जाँदैन । केही बर्ष अगाडि तत्कालीन गृहमन्त्री वामदेव गौतमले तत्कालीन एसएसपी रमेश खरेललाई काठमाडौंको प्रहरी प्रमुखबाट हटाउँदा ठूलो जनविरोध भएको थियो ।

फलस्वरुप त्योबेला काठमाण्डौंमा भएको उपचुनावमा एमालेले काठमाडौंबाट हारेको थियो । त्यसैले यो त गलत समयमा गलत निर्णय भयो । यसले वामदेव गौतमको पनि बदनामी हुन्छ अनि पार्टीको पनि बदनामी हुन्छ । त्यसैले यो राजीनामा एकदमै अशोभनीय भयो ।

सांसद रामवीर मानन्धरले बीबीसीसँगको एक अन्तरवार्तामा पार्टीले चाहे राजीनामा गर्न तयार छु भन्नुभयो । तर उहाँलाई मेरो प्रश्न छ- हजुरलाई जिताएको पार्टीले कि काठमाडौं ७ का जनताले ? पार्टीको निर्देशन अनुसार चल्ने कि काठमाडौं ७ का जनताको भावनाअनुसार चल्ने ? रामवीर मानन्धरले अन्तरवार्तामा राजीनामाका कारण भने देश विकासका लागि हो भने । तर, यसले देशको विकास होइन, वामदेवको र रामवीरको मात्र विकास हुनेछ ।

यदि वामदेव संसदमा हुँदैमा देश विकास हुने भए योभन्दा पहिले पनि धेरैचोटि वामदेव संसदमा थिए । मन्त्री र उपप्रधानमन्त्रीसमेत भएका थिए । तर, खै त देश बिकास भएको ? पार्टीको जिम्मेवार र प्रभावशाली व्यक्ति देश र जनताका लागि काम गर्न सरकारमै जानुपर्छ र ? पार्टीमै बसेर पनि त सरकार सञ्चालनका लागि सहयोग र योगदान गर्न सकिन्छ । यो देशको विकास गर्न सक्ने नेता वामदेव गौतम मात्रै हो ? शारीरिक र मानसिक रुपले सक्षम अनि जोस, जाँगर र जवानी हुँदा गर्न नसकेको विकास वामदेवज्यु अब कसरी गर्नु हुन्छ ?

सरकारमा जानु त धेरै परको कुरा, वामदेव लगायत धेरै नेताहरु उमेरका कारणले अब पार्टीमा बस्न समेत उपयुक्त छैनन् । इमान्दार, भिजन भएका, विज्ञ र सक्षम युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पार्टी बाहिरै रहेर अविभावकको भूमिका निर्वाह गर्ने उमेरमा पनि अझै संसद बन्ने रहर गर्नु युक्तिसंगत भएन ।

वामदेव गौतमले पार्टी एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर, त्यसवापत वामदेव गौतमलाई सांसद पद पुरुस्कारका रुपमा दिन मिल्दैन । मदन भण्डारीले भने झैँ मैले यति बर्ष पार्टीमा योगदान गरें, त्यसैले अब मलाई यो पद दिनैपर्छ भन्नु पुरस्कार वितरण समारोहजस्तै हो ।

त्यसैले यदि साँच्चिकै देश विकास गर्ने हो भने राजनीतिक पद योगदानका आधारमा होइन, योग्यताका आधारमा मात्र दिइनुपर्छ । करिब १५ र १६ वर्ष अगाडि वामदेव गौतम गृहमन्त्री हुँदा एमालेले स्थानीय निर्वाचनमा करिब दुईतिहाइ सिट ल्याएको कुरा पनि बिर्सनुहुँदैन ।

अर्को एउटा घटना, मनमोहन अधिकारी जीवित छँदा एमालेले बहुमत ल्याएर पाँच बर्ष स्थिर सरकार चलाउने स्थिति थियो । तर, वामदेव गौतमले गिरिजा र खुमबहादुर खडकाको प्रभावमा परेर ४० सांसद लिएर पार्टी फुटाए । फलस्वरुप एमालेले बहुमतको सरकार बनाउने ठूलो अवसर गुमायो ।

एक अन्तरवार्तामा खुमबहादुर खड्काले गिरिजाको निर्देशनमा वामदेवलाई पार्टी फुटाउन मनाउने मै हो भनेर भनेका थिए । यो घटनाले गर्दा स्थिर सरकार बन्नबाट रोकेर देश बिकासमा ठूलो घाटा भएको थियो, पछि ४० सिट लिएर फुटेको वामदेव नेतृत्वको पार्टीले एक सिट पनि जित्न नसकेपछि बाध्य भएर पार्टी एकीकरणका नाममा उनी एमालेमै फर्किन बाध्य भए । त्यसकारण वामदेवले एकचोटि पार्टी फुटाए, एक चोटि पार्टी जोडाए, त्यसैले हिसाब बराबर ।

माले बनाएपछि ०५६ सालमा वामदेवले एक सिट पनि जित्न नसकेपछि पुनः एमालेमा फर्के जस्तै, माओवादी पनि चुनावमा पतन हुने भएपछि एमालेसँग मिल्न बाध्य भएको हो । किनभने स्थानीय निर्वाचनमा माओवादीको काठमाडौं मै धरौटी जफत भएको थियो ।

पार्टी एकीकरण गरेर सत्तामा ५ वर्ष टिकुन् भनेर नेपाली जनताले बाम गठबन्धनलाई दुई तिहाइ मतले जिताएका होइनन्, स्थिर सरकार बन्ला र देश विकास होला भनेर मात्र जिताएका हुन् । त्यसैले देश बिकास नभए पार्टी एकीकरणको के अर्थ ? राष्ट्रिय सभामा मनोनित गरेर पनि त वामदेव गौतमलाई मन्त्री बनाउन सकिन्थ्यो होला । तर, भित्री कुरा शायद केपी ओलीपछि प्रधानमन्त्रीका रुपमा वामदेवलाई तयार पार्न खोजिएको हो कि भन्ने अनुमान बुद्धिजीवी वर्गले लगाएका छन् । किनभने दुई बर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

तर, २ वर्ष पुगेपछि विगतमा झैँ प्रचण्डले भारतको प्रभावमा केपीविरुद्ध मोर्चा खोले भने केपीको विकल्पका रुपमा वामदेव गौतमलाई संसदमा लान खोजिएको हुनुपर्छ ।

कारण जे भए पनि चुनाब हारेको व्यक्तिलाई फेरि घुमाई फिराई सत्तामा पुर्‍याउनु ठीक भएन । वास्तविक रुपले भन्ने हो भने धेरै नेताहरुको सरकारमा जाने उमेर होइन, पार्टी समेत छोडेर आराम गर्ने उमेर हो । अब त युवाहरुलाई देश बिकासको जिम्मा दिनुपर्छ । देश विकासमा योगदान गर्ने नै हो भने यही नै उपयुक्त र अन्तिम विकल्प हो । त्यसैले वामदेव ब्याक हुनुको विकल्प छैन ।

हाल-यूएई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment