Comments Add Comment

संस्मरण विधाको सम्मान भयो : पद्मश्री विजेता पाण्डे

७ कात्तिक, काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान गुठीले २०७४ सालमा प्रकाशित कृतिमध्ये उत्कृष्ट ठहर गरेको पुस्तक ‘यार’लाई सम्मान गरेको छ । त्यसैगरी नेपाली भाषा तथा साहित्यमा दीर्घ साधना गरेका भाषाविज्ञानी डा. तारानाथ शर्मालाई पनि पद्मश्री दीर्घ साधना सम्मान अर्पण गरेको छ ।

नयनराज पाण्डेद्वारा लिखित ‘यार’ उनको ५० वर्षे जीवनमा भेटिएका अन्तरंग मित्रहरुको कथा हो । स-साना घटनाका कारण अन्तरंग मित्रहरुबीच हुने असहजताका कथा यसमा बुनिएको छ ।

सिर्जनामा लेखक इमान्दार हुन नसकेको आरोप लागिरहेको बेला ‘यार’मा लेखकले मित्र बिछोडिनुमा आफ्नो पनि गल्ती स्वीकार्दै आत्मआलोचना गरेका छन् । पाण्डेले यसअघि ‘उलार’ र ‘लु’जस्ता उत्कृष्ट कृति लेखिसकेका छन् ।

यसैगरी दीर्घ सम्मानद्वारा सम्मानित डा. तारानाथ शर्मा ‘बेलायततिर बरालिँदा’ पुस्तकमार्फत लोकप्रिय भएका हुन् । उनको पुस्तकलाई २०२६ सालको मदन पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

अंग्रेजी भाषाविज्ञानमा विद्यावारिधि गरेका डा. शर्माले २०२८ सालमा भएको नयाँ शिक्षा योजनाको महत्वपूर्ण पदमा रहेर काम गरेका थिए । उनको सम्पादनमा ‘महेन्द्र माला’ तत्कालीन समयको मानक पुस्तक मानिन्छ । उनी झर्रो लेखनका अभियानकर्ता र प्रयोगकर्ता थिए । साहित्य र गैरसाहित्य गरि उनका दुई सय पुस्तक प्रकाशित छन् ।

सम्मानित श्रष्टाहरुलाई संस्थाका संरक्षक तथा अध्यक्ष जीवा लामिछानेकी आमा हरिकला लामिछानेले दुबोको माला र २ लाख रुपैयाँको थैली अर्पण गरेकी थिइन् । त्यसैगरि संस्थाका संरक्षक तथा अध्यक्ष लामिछानेले सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष धनराज गिरीले सम्पूर्ण साहित्यकारको गरिमामय संस्था बनाउने आफूहरुको प्रयास सफल हुँदै गएकोमा सन्तोष व्यक्त गरे ।

‘मलाई सधैं सभाहल भरिदैन र पुरस्कृत व्यक्तित्वको गाथा सुनाउँन पाइदैन कि भनेर चिन्ता लाग्छ तर यो सभाहलमा चर्चित व्यक्तित्वहरु प्नि भूँईमा बस्नुपर्ने अवस्था आयो । यो कुराममा दुःख लागे पनि संस्थाले गरेको काम अनुमोदन भएकोमा भित्र भित्र गौरव लागेको छ ।’

अर्का उपाध्यक्ष अमर न्यौपानेले डा.शर्मा र कृतिकार पाण्डेलाई सम्मानित गर्न पाउँदा संस्था नै सम्मानित भएको बताए ।

सदस्य सचिव डा. रवीन्द्र समीरले पुरस्कृत व्यक्तित्वलाई बधाइ दिँदै स्वतन्त्र निर्णायक मण्डलको निर्णयले ‘यार’ पुस्तकलाई पुरस्कृत गरेको बताए । कार्यक्रममा जीवा लामिछानेले लिखित मन्तब्यमार्फत श्रष्टालाई सम्मान गर्न पाएकोमा आफू र आफ्नो संस्था हषिर्त भएको बताए । कार्यक्रममा नेपालका सबैजसो चर्चित श्रष्टा एवं समालोचक उपस्थित थिए ।

संस्मरण विधानको सम्मान भयो  : पाण्डे

पहिलो रचना पत्रिकामा छापिएको ३६ वर्षपछि लेखक नयनराज पाण्डे सार्वजनिकरुपमा पुरस्कारसहित अभिनन्दित भए । २०३९ सालमा कवितामार्फत उनी लेखनमा प्रवेश गरेका थिए ।

त्यसको दुई वर्षपछि कथा लेखनमा प्रवेश गरेका नयनको ११ औं पुस्तक ‘यार’ले २ लाख रुपैयाँको पद्मश्री पुरस्कार प्राप्त गरेको छ । पद्मश्री सम्मानका बेला ठूलो समूहमा घेरिएका नयनलाई उनको उपलब्धीबारे अनलाइनखबरले गरेको कुराकानी  :

यो रमझमका बीचमा सम्मान पाइरहँदा के कुरा मनमा आइरहेको छ ?

मेरो पहिलो कृति ‘नाङ्गो मान्छेको डायरी’ लघु उपन्यासका रुपमा आएको थियो । साहित्यकार गोविन्द गिरी प्रेरणा नेपालगञ्ज आएर तपाईंको पुस्तकको मेरो प्रकाशन गृहबाट छाप्छु भनेर पाण्डुलिपि लिएर काठमाडौं आउनुभयो ।

दुई हजार रुपैयाँमा छापिएको त्यो पुस्तक बिमोचन सिद्धिचरण श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख वक्ताहरुमा कृष्णचन्द्र सिंह प्रधान र मदनमणि दिक्षित हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन त्यो बेलाकी चर्चित कथाकार सीता पाण्डेले गर्नुभएको थियो । अहिले त्यही भब्यता याद आइरहेको छ ।

तपाईंका प्रारम्भिक पुस्तकहरु अहिले बजारमा छैनन्, त्यसको रिपि्रन्टको योजना छैन ?

चाँडै नै तीन उपन्यास नाङ्गो मान्छेको डायरी, विक्रमादित्य एउटा कथा सुन’ र अतिरिक्त उपन्यासहरु एउटै पुस्तकमा संग्रह भएर आउँदैछ । तीनवटै उपन्यास लघु आकारमा आएका भएका कारण त्यसो गरिएको हो ।

तपाईंको चौथो उपन्यास ‘उलार’ पनि निकै सानो छ, कारण के होला ?

तपाईंले यसो भन्दा पहिलो उपन्यासको बिमोचनमा मदनमणि दिक्षितले भन्नुभएको कुरा याद आयो । उहाँले भन्नुभएको थियो, ‘नाङ्गो मान्छेको डायरी सानो भए पनि यति धेरै कुरा भनिएकेा छ कि मलाई यही कुरा लेख्नु परेको भए ४ सय पृष्ठको उपन्यास लेख्नुपर्दथ्यो । तर नयनले यो कुरा सय पेज भनिदिए ।’ यसको अर्थ के भने सुरुदेखि नै म छोटोमा धेरै कुरा भन्न रुचाउँदो रहेछ ।

सार्वजनिक रुपमा लेख्न थालेको ३० वर्ष नाघेपछि एउटा महत्वपूर्ण पुरस्कारबाट पुरस्कृत हुनु भएको छ, के भन्न चाहनुहुन्छ ?

लेखनमा निरन्तरता र इमान्दारिता भयो भने ढिला भए पनि त्यसको मूल्यांकन हुन्छ भन्ने मेरो पहिलेदेखि नै विश्वास थियो र म एकोहोरो त्यसैमा लागिरहेको छु । यो पुरस्कार नयनराज पाण्डेलाई भन्दा पनि ‘यार’ पुस्तकलाई दिइएको हो ।

यसको अर्थ यो पुरस्कारले संस्मरण विधालाई सम्मान गरेको छ । यारमा म असाध्यै इमान्दार हुने प्रयास गरेको छु । सायद स्मरण विधाको शक्ति पनि त्यहि हो र त्यसैले यो पुस्तक पुरस्कृत भयो भन्ने लागेको छ ।

नयाँ के लेख्दै हुनुहुन्छ ?

उपन्यास । नेपालगञ्जको परिवेशमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर एउटा अनौठो कथा भन्ने योजना छ ।

यसपटक उत्कृष्ट कृति मनोनयन गर्न सकिएन : अध्यक्ष लामिछाने

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान गुठीका संरक्षक तथा अध्यक्ष जीवा लामिछानेले यसपटक यसपटक उत्कृष्ट कृति मनोनयन गर्न नसकिएको स्वीकार गरे ।  संस्थाका संस्थापक, संरक्षक एवं अध्यक्ष लामिछानेसँग अनलाइनखबरले गरेको कुराकानी :

‘पद्मश्री पुरस्कार र पद्मश्री साहित्य सम्मान’ को उद्देश्य के हो ?

म मूलतः व्यवसायी हुँ तर साहित्यमा रुची राख्छु । आफूलाई मनपरेका विषयमा यदाकदा लेख्न पनि रुचाउँछु । यो रुची सानैदेखि थियो । यहि कारण श्रष्टालाई थोरबहुत चिन्ने प्रयास पनि गरेको थिएँ । सुरुमा मोफसलका श्रष्टाको सम्मानका लागि यो पुरस्कार स्थापना भएको थियो ।

अहिले ‘पद्मश्री पुरस्कार’ मोफसलको होइन, राष्ट्रिय पुरस्कारका रुपमा प्रशंसित छ । यसको कारण के हो ?

३-४ वर्ष हामी मोफसलमै सीमित रहृयौं । त्यसपछि हामीलाई महसुस भयो, साहित्य मोफसलमा मात्र होइन, राष्ट्रिय रुपमै अघि बढ्नुपर्छ । त्यसपछि हामीले दायरा फराकिालो पारेर देश भित्र वा वाहिर जहाँ रहे पनि नेपाली भाषा र साहित्यको सेवा गर्ने पुस्तक, व्यक्तिलाई पनि सम्मान गर्ने निर्णय गर्‍यौं ।

जसअन्तरगत वर्षभरि निस्किएका कृतिमध्ये उत्कृष्ट एउटा कृतिलाई दुई लाख रुपैयाँसहितको ‘पद्मश्री’ पुरस्कार र नेपाली भाषा साहित्य, कला वा संस्कृतिका क्षेत्रमा दीर्घ सेवा गर्ने एकजनालाई दुई लाख रुपैयाँसहितको ‘पद्मश्री साहित्य सम्मान’ अर्पण गर्ने निर्णय गरिएको हो ।

हाम्रो उद्देश्य नेपाली साहित्यको सेवा गर्ने मात्र भएका कारण हुन सक्छ, यो संस्थाले गरेको काम छाटो समयमै सम्पूर्ण साहित्य प्रेमीहरुबाट अनुमोदित भयो । यसमा मलाई खुसी लागेको छ ।

केही वर्षदेखि वर्षभरी निस्किएका पुस्तकहरु मध्ये केही सर्ट लिस्टमा पर्ने गरेका थिए, यो वर्ष त्यो क्रम रोकियो । यसले धेरैलाई अचम्ममा पारेको छ । कारण के होला ?

राम्रा पुस्तकको सर्ट लिस्ट निकाल्दा लिस्टमा परेका श्रष्टालाई प्रोत्साहन हुन्छ भनेर गतवर्ष हामीले यो सुरु गरिएका थियौं । तर उत्कृष्ट पाँच, सात वा दश पुस्तकको सूची निकाल्दा त्यसबाहिरका त्यही स्तरका कृतिको अवमूल्यन हुने हो कि भन्ने हाम्रो कमिटीले महसुस गर्‍यो । खासमा कुनै पनि सिर्जना प्रतिस्पर्धाका लागि हुँदैनन् भन्ने कुरा महसुस गरेर सर्ट लिस्ट ननिकालिएको हो । यद्यपि यो परिवर्तन नै नहुने निर्णय भने होइन ।

कतिपयले खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान गुठीले मदन पुरस्कारकै पदचिहृन पच्छ्याएको आरोप लगाएका छन् । पुरस्कारको राशी, वर्षको उत्कृष्ट पुस्तक र दीर्घ साधकलाई सम्मान गर्ने परम्परा हेर्दा यो आरोपलाई गलत पनि भन्न मिल्दैन, के भन्नुहुन्छ ?

मदन पुरस्कारको जुन इतिहास र गरिमा छ, त्यसले मलाई प्रभावित तुल्याएको हो । मदन पुरस्कारका तत्कालिन अध्यक्ष कमलमणि दीक्षित आफै राम्रो लेखक र भाषासेवी हुनुहुन्थ्यो । संयोगले मैले उहाँसँग दुई चार पल्ट भेट्ने मौका पनि पाएँ ।

मेरो विचारमा राम्रो कुराबाट प्रभावित भएर काम गर्दा त्यसले रामै्र परिणाम दिन्छ । साहित्य सेवा गर्न अरु संस्थाहरु जन्मिनुपर्छ र अझ ठूलो राशीको पुरस्कार आउनुपर्छ भन्ने मेरो इच्छा छ ।

१० वर्षअघि दुई लाख रुपैयाँको जुन महत्व थियो, अहिले त्यो छैन, राशी बढाउने तर्फ केही सोच्नुभएको छ ?

तत्काललाई छैन । तर समय अनुसार पुरस्कार राशी पनि बढाउनु पर्छ भन्ने कुरामा म सचेत छु ।

‘पद्मश्री सम्मान तथा पुरस्कार भारतको चर्चित पुरस्कारहरु हुन् । नेपालमा त्यही नामको पुरस्कारले केहीलाई द्विविधा उत्पन्न भएको देखिन्छ । पुरस्कारको नाम पद्मश्री नाम राख्नुको कुनै कारण छ ?

म जुन ठाउँमा जन्मे, त्यो गाउँको नाम पदमपुर थियो । त्यो गाउँ अहिले राष्ट्रिय निकुञ्जभित्र परेको छ । राष्ट्रिय निकुञ्जमा परेकै कारण सम्पूर्ण गाउँलाई सरकारले अर्कै स्थानमा हस्तान्तरण गर्‍यो ।

जंगली जनावरको संरक्षण क्षेत्र भएका कारण आफू जन्मेको गाउँमा अहिले म पुग्न पनि सक्तिन । सदाका लागि आफू जन्मेको गाउँ त्याग्नु परेको कुरा एक प्रकारले मेरो मनमा गढेको छ । त्यही गाउँको सम्झनामा यो पुरस्कार स्थापना भएको हो । भारतमा स्थापित पुरस्कारसँग नाम मिल्नु संयोग मात्र हो,

पुरस्कारको निर्णय कसरी गरिन्छ ? संस्थाले प्रकाशन गरेको स्मारिका हेर्दा अत्यन्तै थोरै मानिस मात्र यसमा सक्रिय देखिन्छन् ।

स्मारिकामा प्रकाशित व्यक्तिहरुले प्रशासनिक काम गर्छन् । ठूलो समूहमा निर्णयकहरु हुनुहुन्छ, जसको नाम हामीले बाहिर ल्याउनु उचित ठानेनौं । पहिलो तीन वर्ष निर्णयकहरुको नाम बाहिर ल्याएका थियौं ।

त्यो अनुभवका आधारमा निर्णयक मण्डलको नाम गोप्य राख्नु नै उचित देखिएकाले यसो गरिएको हो । प्रकाशित पुस्तकहरु पुरस्कारका लागि बुझाउनुनपर्ने निर्णयका पछाडि पनि श्रष्टाको आत्मसम्मानका लागि गरिएको निर्णय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment