Comments Add Comment

सय रूपैयाँको काउली २० रुपैयाँमै !

८, कात्तिक, चितवन । दशैं सुरु भएयता चितवनमा महंगिएको तरकारी दशैंलगत्तै घटेको छ ।

चितवनका फलफूल तथा तरकारी थोक व्यवसायी रामराज पाण्डेका अनुसार बजारमा सोह्र श्राद्ध सकिनासाथ तरकारीको मूल्य बढेको थियो । सो बेला बजारमा कुनै पनि तरकारी प्रतिकिलो सय रुपैयाँ घटी पाउनै मुस्किल भएको थियो । तर अहिले बजारमा तरकारीको भाउमा भारी मात्रामा गिरावट आएको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने दशैं सुरु हुने दिन सोह्रश्राद्धको अन्तिम दिन चितवनमा गोलभेडाको मूल्य प्रतिकिलो ५५ देखि ७७ रुपैयाँ पुगेको थियो । यस्तै त्यही गोलभेडा बाहिर खुऽा पसलहरुमा १२० रुपैयाँसम्मा बिक्रीका लागि राखिएको थियो ।

अहिले गोलभेडा थोक बजारमा प्रतिकिलो २० रुपैयाँदेखि २५ रुपैयाँसम्म बिक्री भइरहेको छ । यस्तै खुद्रा पसलहरुमा बिहीबार गोलभेडाको मूल्य ३० देखि ४० रुपैयाँ पुगेको छ । काउली दशैंअघि प्रतिकिलो ८० देखि ११० रुपैयाँसम्म रहेकोमा अहिले घटेर २० रुपैयाँमा झरेको छ ।

घिउ सिमी ८० रुपैयाँबाट २० रुपैयाँमा झरेको छ । नारायणगढमा दशैंअघि प्रतिकिलो ७५ रुपैयाँ रहेकोमा अहिले घटेर ४० देखि ५० रुपैयाँमा किनबेच भइरहेको छ । तरकारी उत्पादक कृषक कान्छा मल्लले भारतीय तरकारी ठूलो मात्रामा नेपाल भित्रिएकोले तरकारीको भाउ एकाएक घटेको बताए । यसबाट नेपालमा तरकारी उत्पादक किसानहरु मारमा परेको उनले बताए । ‘लागत पनि नउठने अवस्थामा आएको छ’, उनले भने, ‘हरेक बर्ष किसानले केही कमाउने बेलामा यहि मार झेल्छन्, सरकारले हेर्दैन ।’

८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको परवल ३५ रुपैयाँमा झरेको छ । दशैंअघि प्रतिमुठा ५० देखि ६० रुपैयाँ पर्ने रायोको साग अहिले १० रुपैयाँमा झरेको छ । अहिले चितवनको बजारमा मुला २०, बन्दा २० रुपैयाँमा बिक्री भइरहेको छ ।

चितवन फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले यो सिजनमा तरकारीको उत्पादन बढी भएकोले पनि मूल्य घट्दै गएको बताए । विषादी हालेको तरकारी खान हुँदैन भन्ने जनचेतनाको कारणले पनि चितवनमा मानिसहरुले बजारको तरकारीमा खासै चासो दिन छाडेको व्यवसायी रामराज पाण्डेको भनाइ छ ।

उपभोक्ताहरु सफा र हेर्दा ताजा जस्तो तरकारी मात्र खोज्ने भएकोले पनि किसानहरुले विषादीको प्रयोग धेरै गर्ने गरेको व्यवसायी पाण्डेले बताए । तरकारी उत्पादक कृषक कान्छा मल्लले नेपालमा भन्दा भारतबाट आउने तरकारीमा अधिक विषादी हुने गरेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment