Comments Add Comment

मालपोतको नयाँ फारम : सामान्य पढेलेखेकाले कसरी भर्ने ?

९ कात्तिक, काठमाडौं । मालपोतमा घर जग्गासम्बन्धी सेवा लिन जाँदा एउटै फारम भर्न ४/५ हजार रुपैयाँसम्म बुझाउनुपर्छ ।

आम नागरिकले भर्नै नसक्ने गरी बनाइएका मालपोतका फारमले जतिसुकै पढेलेखेका र बुझेकालाई पनि रनभुल्लमा पार्छ । तर, सरकारले हालै यस्ता ‘नाङ्ले फारम’ हटाउन सुरु गरेको छ ।

अनलाइन सिस्टम लागू भएका मालापोत कार्यालयहरुमा नाङ्ले फारम हटाएर सरल फारमहरु प्रयोगमा ल्याइएको छ ।

३७ वटा कार्यालयमा अहिले नाङ्ले फारम भर्नुपर्ने अवस्था हटाएको छ, सरकारले । यी कार्यालयले मात्रै वर्षमा देशभर हुने ७० प्रतिशत जग्गा कारोबारको काम गर्छन् ।

अब देशभरिका १०८ वटै मालपोत कार्यालयमा पनि यसैवर्षको अन्त्यसम्म हटाइसक्ने गरी काम भइरहेको छ । अनलाइन सेवा विस्तारसँगै ती कार्यालयहरुमा क्रमशः सरलीकृत फारमसमेत प्रयोगमा आउने छन् ।

भूमि व्यवस्थान तथा अभिलेख विभागका सूचना प्रविधि शाखाका निर्देशक रामदत्त भट्ट नयाँ फारम लागू भएपछि पनि सर्वसाधारणले लेखापढी व्यवसायीलाई फारम भराउन नछोडेको बताउँछन् । उनी सामान्य लेखपढ गरेका नागरिकले नै नयाँ फारम भर्न सक्ने दावी गर्छन् ।

मालपोत कार्यालयमा प्रचलनमा रहेको नाङ्ले फारम

पहिलेको फारम ‘ए ३’ अर्थात झण्डै नाङ्लोकै आकारको छ । ३७ कार्यालयबाट हटाइसकिएको यो फारम कम्प्युटरबाट भर्न र प्रिन्ट गर्न समस्या हुन्छ । त्यसैकारण लेखापढी व्यवसायीको रजगज फारम भर्ने काममा चलिरहेको छ । अब उपत्यकाका ९ सहित चितवनका चनौली, माडी, खैरहनी र भरतपुरमा भने अनलाइन प्रणाली लागू भएको छ ।

मकवानपुरका हेटौंडा र थाहा नगरपालिकास्थित कार्यालयदेखि पोखरा, लेखनाथ, बाग्लुङ, बाँके, धादिङ, विराटनगर र काभ्रेमा पनि यो प्रणाली लागू छ । पर्सा, भद्रपुर, दमक, पाँचथर, धरान, नुवाकोट, वालिङ, दोलखा, सिन्धुपालञ्चोक, पर्वत, मोरङ, रंगेली, गोरखा, सप्तरीमा पनि नाङ्लेफारम प्रयोग गर्नुपर्ने अवस्था छैन ।

सामान्य नागरिकका लागि असहज हुने गरी बनाइएको कारण पनि पुरानो फारम भर्न कसैले आँट गर्दैनन् । विवरण भर्ने ठाउँहरु पनि प्रशस्त राखिएका छन्, नाङ्ले फारममा । यस्ता फारममा कता के भर्ने, कता के नभर्ने, कुन-कुन सेवाग्राही र कार्यालयको प्रयोजन हो भन्ने केही खुल्दैन । ७ ठाउँमा ल्याप्चे ठोक्नुपर्छ ।

यसको सट्टामा अब सामान्य लेखपढ गर्न सक्ने नागरिक जो कसैले पनि भर्न सक्ने फारम ल्याइएको भट्ट बताउँछन् । उनका अनुसार फारमका जटिल पक्षलाई हटाइएको र यसलाई कम्प्युटरबाट सजिलै भर्न पनि सकिन्छ । लिखत तथा निवेदन विभागको वेबसाइटमा उपलब्ध छ ।

लिखत तथा निवेदन हातैले भर्न वा कम्प्युटर पि्रन्ट गरेर तयार गर्न सकिनेछ । नयाँ फारम ‘ए ४’ अर्थात समान्य फोटोकपी साइजको पेपरमै प्रिन्ट गर्न सकिन्छ । ३ देखि ५ मिनेटभित्र फारम भर्न सकिने विभागको दावी छ ।

मालपोत कार्यालयमा हाल प्रचलनमा ल्याइएको सरल फारम भर्ने तरिका-२

तर, सेवाग्राहीले फारमप्रति पुरानै धारणा राखिरहँदा लेखापढी व्यवसायीबाट ठगिने क्रम नरोकिएको भट्ट बताउँछन् ।

‘नयाँ फारम यति सजिलो छ कि लालपूर्जा लिएर बसेपछि त्यसका केही विवरण भर्नासाथै पुरा हुन्छ । जग्गा किन्ने र बेच्नेको व्यक्तिगत विवरण भर्न खासै गाह्रो छैन,’ उनले भने, ‘देवानी कानुनले तोकेका अशंबण्डा, मानो छुटि्टएको र जोडिएकोबाहेकका कागजी काममा साक्षी राख्नुपर्ने व्यवस्था पनि हटाएका छौं । यसो हुँदा लेखापढी व्यवसायीको आवश्यकता पर्दैन ।’

यस्तै नयाँ फारममा लेखापढी व्यवसायीको नाम र लाइसेन्स नम्बर पनि आवश्यक पर्दैन । नाङ्लेमा जस्तो ठाडो, तेर्सो, छड्के अनेक फम्र्याटमा बक्स बनाएर भर्ने ठाउँ राखिएका छैनन् ।

आवश्यक विवरण भर्न सरल रुपरेखामा महलहरु राखिएका छन् । फारमका धेरै महलहरु विशेष प्रयोजनका लागि मात्रै छन्, जुन अधिकांशले भर्नै पर्दैन ।

जग्गा किन्ने बेच्नेको संख्या धेरै हुँदा एउटै महललाई ‘कपी’ पेस्ट गरेर धेरै वटा बनाएर राख्न मिल्ने व्यवस्था गरिएको छ । यसले गर्दा फारम छरितो भएको छ ।

फारममा उल्लेख भएका मध्ये आफूलाई आवश्यक परेको टेबलहरु मात्र राखी अनावश्यक टेबल हटाई लिखत तयार गर्न सकिनेछ । जस्तै खरिदकर्ता आफै उपस्थित भएकोमा खरिदकर्ताको वारिस भए निजको विवरण र सही छाप टेबल लिखतमा राखी राख्न आवश्यक पर्ने छैन ।

मालपोत कार्यालयबाट पारित हुने लिखतमध्ये गुठी स्थापना, मासिक एक लाख रुपैयाँभन्दा बढी घर बहाल लिने दिने गरेको, अचल सम्पति हकभोग भएको, अंश बुझेको वा अंश छोडपत्र र धितो बन्धकीको लिखतको नयाँ फारम भने बनाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment